ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको अनुदान, ऋण, प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भयो।
जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरूङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगति सम्बन्धी छलफल समेत भएको हो।
मन्त्री घिसिङले विद्युत क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरूयोजना तयारी लगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे।
राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए।