नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकी कार्यकालमा अझ बढी मिहेनतका साथ प्राधिकरण र देशको सेवामा लागिपर्ने बताएका छन्।
सर्वोच्चको परमादेशपछि बुधबार पदभार ग्रहण गर्दै शाक्यले तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको र त्यसलाई थप सक्रिय भएर निरन्तरता दिने बताए।
आफ्नो कार्यकाल अब साढे तीन वर्ष बाँकी रहेको र यो समयमा प्राधिकरणका लागि आफ्नो योग्यता र क्षमताले भ्याएसम्म काम गर्ने उनको भनाइ छ।
'तीन दशक लामो समय निःश्वार्थ सेवा गरेँ। अब पनि प्राधिकरण र देशको सेवामा लागिरहनेछु। सरकारको नीति निर्देशन अनुसार काम गर्छु,' उनले भने।
अब प्राधिकरणले आफ्नै अग्रसरतामा विद्युत आयोजना निर्माण गर्ने समेत उनले बताए।
'गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु। प्राधिकरणकै एमडी भएकाले मेरो घर जल्यो। म पिडामा परेँ। तर त्यो पिडा सम्झिएर बस्दिनँ। अब म काममा अगाडि बढें,' उनले भने।
अहिले अदालतले न्याय दिएको समेत उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएलगत्तै कुलमान घिसिङले असोज ५ गते उनलाई कार्यकारी निर्देशक पदबाट हटाएर मनोज सिलवाललाई जिम्मा दिएका थिए।
आफूलाई पाँच वर्षका लागि नियुक्त गरेको र अन्याय भएको भन्दै कुलमान घिसिङको निर्णय विरुद्ध शाक्य सर्वोच्च गएका थिए।
सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न परमादेश जारी गरेको थियो।
सोही अनुरूप उनले बुधबार बिहान कार्यकारी निर्देशकको पदभार गरेका हुन्।