नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवागढी जलविद्युत आयोजनामा देखिएका समस्या समाधानका लागि पुरानै डिजाइनले काम नगर्ने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
२०८२ असार २४ गते चीनको तिब्बत हुँदै आएको ल्हेन्दे खोला (भोटेकोशी) को बाढीले सबैभन्दा बढी क्षति पुर्याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणपछि शाक्यले यस्तो बताएका हुन्।
निरीक्षणका क्रममा आयोजनास्थलमा पुनर्निर्माणका काम अझै जारी रहेको र बाढीले क्षति पुर्याएका संरचना पूर्ण रूपमा उठ्न नसकेको देखिएको थियो। बाँधस्थल र पावरहाउस क्षेत्रमा ढुंगा, मुढा र लेदो हटाउने काम भइरहेको छ।
शाक्यले कठिन परिस्थितिमा पनि निरन्तर मेहनत गरेर दुई वटा युनिट सञ्चालनमा ल्याउन सफल भएकोमा आयोजना टोलीको प्रशंसा गरे। हाल सुख्खा मौसममै करिब ४५ मेगावाट विद्युत उत्पादन भइरहेको उनले बताए।
'नदीले धार परिवर्तन गरिसकेको छ, अवस्था पहिलाको जस्तो छैन,' शाक्यले भने, 'पुरानै डिजाइनले पुरानो समस्या समाधान हुँदैन। अब फरक ढंगले सोचेर स्थायी समाधानतर्फ जानुपर्छ।'
ठेक्कापट्टा भन्दा आफ्नै स्रोत–साधन प्रयोग गरेर काम भइरहेकोप्रति सन्तोष व्यक्त गर्दै उनले अर्को बाढी आउनु अघि बाँध र पावरहाउसको काम द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिए।
चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएको यस आयोजनाले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।
आयोजना प्रमुख सत्यराम ज्याख्वाका अनुसार बाढीअघि आयोजनाबाट १ अर्ब १४ करोड रुपैयाँ आम्दानी भएको थियो भने १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ।
उक्त बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याउँदा २५० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको थियो।