आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ। पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ। उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए।
कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ। कुल ३६.३२ किमीको सर्विस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए। एक सय पाँचवटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ। यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन्।
सेती पुल भने निर्माणको चरणमा छ। ‘रोड मार्किङ’ गर्ने, ‘रोड सेफ्टी ब्यारीअर’ राख्नेलगायतका काम पनि इन्जिनियर कुँवरले बताए। चार लेन सडकतर्फ विजयपुर पुलको आडमा चार सय मिटर र पोखरा विश्वविद्यालय अगाडि एक सय मिटरमात्र कालोपत्र गर्न बाँकी रहेको उनको भनाइ छ। ‘अहिले सर्विस लेन निर्माणको काम धमाधम भइरहेको छ। ३८.७१ किमीको पश्चिम खण्डमा २०.५५ किमी चार लेन र १८.१६ किमी छ लेनको सडक बन्छ,’ इन्जिनियर कुँवरले भने।
अहिले तालचोकदेखि डाँडाकोनाक र खैरेनीटारदेखि दुलेगौंडासम्म ‘रोड सेफ्टी ब्यारीअर’ निर्माणको काम भइरहेको जनाइएको छ। जामुनेदेखि दुलेगौँडासम्म ‘रोड मार्किङ’को काम भइरहेको आयोजना कार्यालयले जनाएको छ। यस वर्षमात्र ३३.७८ किमीको चार लेन सडकमा अस्फाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्र भएको हो। १५.६ किमी सर्विस लेनसहित विजयपुर खोला पुल र दुईवटा कल्भर्ट निर्माण गरिएको छ। १२.१ किमीको चार लेन सडकमा यही वर्ष पहिलो तहको कालोपत्र गरिएको हो।
अघिल्ला वर्षको तुलनामा यस वर्ष सडक निर्माणको कामले गति लिएको इन्जिनियर कुँवरले बताए। यसअघि सडक निर्माणकार्य सुस्त हुँदा ठेक्काको म्याद पनि थपिँदै आएको थियो। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले यस खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो।
सडक ठेक्काअन्तर्गतका १२ वटा पुल बने पनि पुल ठेक्काअन्तर्गत पोखराको सेती पुल निर्माणाधीन अवस्थामा छ। उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो। ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माणको काम पूरा भइसकेको इन्जिनियर कुँवरले बताए। अहिले सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ।
गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ। निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा पनि काममा ढिलाइ भएको इन्जिनियर कुँवरले बताए। अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने उहाँको भनाइ छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत रु ९४ करोडको ठेक्कामा उक्त पुल निर्माण भइरहेको हो।