ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन्।
कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्ने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
साथै, उनले वृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान गर्ने उल्लेख छ।
कँडेलले त्रिभूवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका छन्।
हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपिए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर समेत गरेका छन्।
उनीसँग युएनडिपी, विश्व बैंक र आइरिनालगायतका विभिन्न संस्थाहरूमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ।