९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले एक अर्ब २४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ।
यससम्बन्धी ऋण लगानी सम्झौतामा मंगलबार बैंक र आयोजना प्रवर्द्धक कम्पनीबीच हस्ताक्षर भएको हो।
सम्झौतामा बैंकका तर्फबाट सस्टेनेबल बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।
आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ को सीमाबाट बग्ने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको निर्माण कार्य २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ।
आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, निर्माणका लागि पहुँचमार्ग, गोदाम, आवास गृह तथा निर्माण विद्युत (कन्स्ट्रक्सन पावर) जडानको काम सम्पन्न भइसकेको छ।
त्यसैगरी सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ।
आयोजनाको कुल लागत एक अर्ब ८० करोड रूपैयाँ रहेको छ। त्यसमध्ये एक अर्ब २४ करोड रूपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग सम्झौता भएको हो।
बाँकी ५६ करोड रूपैयाँमध्ये ३५ करोड रूपैयाँ जुटिसकेको र बाँकी ३० करोड रूपैयाँ असोजभित्र व्यवस्थापन गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।
उनका अनुसार यो आयोजना गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने जलविद्युत आयोजनामध्ये वातावरणीय तथा सामाजिक मापदण्डलाई उच्च प्राथमिकतामा राखी 'हाइड्रो–सेलेक्ट टुल्स'को मापदण्डअनुसार विकास गरिने पहिलो आयोजना हुनेछ।