ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हालसम्म एकजना मात्रै सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले स्पष्ट पारेको छ।
मन्त्री श्रेष्ठको सञ्चार सम्पर्क प्रतिनिधि राजु श्रेष्ठले मंगलबार मात्रै एकजना त्यो पनि कुनै पनि पारिश्रमिक वा सेवासुविधा नलिने गरी अवैतनिक सल्लाहकार नियुक्त गरिएको बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले भने ऊर्जामन्त्री श्रेष्ठले २० जना सल्लाहकार राखेको आरोप लगाएका थिए।
उनले प्रधानमन्त्री कार्यालयमा २७, ऊर्जा मन्त्रालयमा २० सल्लाहकार रहेको तर आफूले एक जना मात्रै राखेको उल्लेख गरेका थिए।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार मंगलबार विवेक राज कँडेललाई अवैतनिक (ऊर्जा व्यापार तथा पूर्वाधार) सल्लाहकार नियुक्त गरेको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले समेत सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्रालयले पहिलो सल्लाहकार नियुक्त गरेको बताएका छन्।
'ऊर्जा परिवारमा विवेक राज कँडेललाई हार्दिक स्वागत! आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पहिलो सल्लाहकार अवैतनिक (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त हुनु भएको छ। उहाँको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास लिएको छौं,' उनले लेखेका छन्।