नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विद्युत महसुल पुनरवलोकन तथा विगतमा भएका विद्युत खरिद एवं सञ्चालित परियोजना सम्बन्धी विषयको छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उत्पादित विद्युत अधिकतम उपयोग सुनिश्चित गर्न, घरेलु उपभोक्तालाई सहुलियत प्रदान गर्न तथा उच्च खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा उपलब्ध गराई खपत बढाउने उद्देश्यले महसुल पुनरवलोकन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको संयोजकमा सञ्चालक समितिका सदस्य अंशु किरण शाही छन्।
समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका एक प्रतिनिधि तथा ऊर्जा, वित्त, उपभोक्ता र विद्युत विषयका तीन विज्ञ सदस्य रहनेछन्।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने निर्णय गरिएको छ।
समितिलाई १५ दिनभित्र विद्युत महसुल दर पुनरवलोकन गरी नयाँ दरसम्बन्धी सिफारिस सहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
त्यस्तै, सञ्चालक समितिले नेपाल विद्युत प्राधिकरणबाट विगतमा भएका विद्युत खरिद तथा सञ्चालित परियोजना सम्बन्धी विषयमा विभिन्न माध्यमबाट प्राप्त उजुरी र गुनासोको छानबिन गर्न अर्को समिति पनि गठन गरेको छ।
सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा प्राविधिक, कानुन र खरिद विषयका तीन विज्ञ रहनेछन् भने नेपाल विद्युत प्राधिकरणले तोकेको एक उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्।
यो समितिलाई विगतका खरिद प्रक्रिया तथा परियोजनासम्बन्धी उजुरी र गुनासोको अध्ययन तथा छानबिन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार यी दुवै समिति गठनसँगै महसुल संरचना पुनरवलोकन तथा विगतका खरिद प्रक्रिया र परियोजनामा उठेका प्रश्नहरूको अध्ययन एकसाथ अघि बढाइनेछ।