नेपाल विद्युत प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभिए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।
बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
करिब १२ करोड रूपैयाँ लागतमा निर्माण भएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ।
नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरूंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिपिङ हुने तथा विद्युत आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ।
यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत सेवाको गुणस्तर सुधारतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले विद्युत उत्पादन वृद्धि मात्र सरकारको उद्देश्य नभई उत्पादन भएको विद्युत प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्याउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासोलाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारे।