भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा हिजोदेखि खोजतलासीको काम अघि बढाइएको छ। आज पनि बिहानैदेखि कर्मचारी र प्राविधिकलाई फिल्डमा खटाइएको कम्पनीले जनाएको छ।
सुरूङभित्रको अवस्था निकै अप्ठ्यारो रहेको र आवश्यक सामग्री जुटाउने काम भइरहेको कम्पनीका लगानी प्रतिनिधि गिरिराज अधिकारीले बताएका छन्।
सुरूङबाट पानी निकाल्न सकिङ पम्पलगायत सामग्री खोजिएको छ। सामग्री जुटेपछि हेलिकप्टरबाट घटनास्थल पठाउने तयारी छ।
आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी र कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन छन्। त्यसमध्ये करिब ३०० जना सुरूङभित्र काम गर्ने थिए। बाढी आएको दिन आयोजनामा १ हजार ४ सयभन्दा बढी मानिस काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। हालसम्म उद्धार र सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको छ।
आयोजनामा भएको काम र आफन्तको अवस्थाबारे हामीले कम्पनीका प्रतिनिधि तथा पीडित परिवारका आफन्तसँग कुराकानी गरेका छौं।
कम्पनीले अहिले आवश्यक सामग्री जुटाएर काम अघि बढाउन थालेको बताएको छ। आफन्तले भने उद्धारमा भएको ढिलाइप्रति गुनासो गरेका छन्।
आयोजनाका लगानी प्रतिनिधि गिरिराज अधिकारीका अनुसार बाढीपछि सुरूङ क्षेत्रमा पानीसँगै माटो र ढुंगा थुप्रिएकाले काम गर्न निकै कठिन छ।
उनका अनुसार सोमबारदेखि काम सुरू गरिएको र मंगलबार पनि बिहानैदेखि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटिएका छन्। घटनास्थलमा सरकारी टोली पनि पुगेको छ। सेना र प्रहरीले खोजतलासीमा काम गरिरहेका छन्। तर सुरूङको अवस्था र भौगोलिक कठिनाइका कारण काम सहज नभएको अधिकारीको भनाइ छ।
पीडित परिवारका आफन्त गोविन्द गिरी भने उद्धारमा भएको ढिलाइप्रति आक्रोशित छन्। उनी सोमबार पनि आफन्तका तर्फबाट रसुवा पुगेका थिए। आज पनि घटनास्थलतर्फ जाँदैछन्।
उनका अनुसार सात दिन बितिसक्दा पनि सुरूङभित्र रहेका मानिसको वास्तविक उद्धार हुन सकेको छैन।
‘त्यहाँ कुनै रेस्क्यु भएको छैन। सातौं दिन भइसक्यो,’ गिरीले भने।
सरकारी टोलीले सहज ठाउँमा मात्रै काम गरेको उनको आरोप छ। कठिन क्षेत्रमा रहेका मानिसको उद्धारमा पर्याप्त ध्यान नदिएको उनको गुनासो छ।
सुरूमा कम्पनीले आफन्तको कुरा नसुन्दा परिवारमा आक्रोश बढेको र प्रवर्द्धक कम्पनी एनडब्लुडिसीमा केही तोडफोड समेत गरेका थिए।
‘हाम्रो त डल्लै परिवार त्यहाँ छ। हामी आक्रोशमा आयौँ,’ उनले भने। तर अहिले कम्पनीका कर्मचारी आफन्तसँगै उद्धारका लागि आवश्यक सामग्री जुटाउन लागेको उनले बताए।
‘अहिले कम्पनी आफैंले गर्न सुरू गरेछ। कम्पनीका प्रतिनिधिहरूसँगै हामी सामान खोज्न हिडेका छौं,’ उनले भने।
सुरूङबाट पानी तान्न आवश्यक सकिङ पम्प लिन उनीहरू काठमाडौंको पेप्सीकोलातर्फ जाँदैछन्।
सामग्री घटनास्थल पुर्याउन हेलिकप्टर प्रयोग गर्ने तयारी छ। हेलिकप्टरको व्यवस्थापन कम्पनीले नै गर्ने उनले बताए।
गिरीले सरकारले बाहिरबाट उद्धारका लागि आवश्यक सहयोग ल्याउन र समयमा सहज वातावरण नबनाएको आरोप लगाए।
‘सरकारले फ्री छोड्दिएको भए हामी चीनबाट हेली र स्काभेटर ल्याएर उद्धार गर्थ्यौं, भन्ने कम्पनीको कुरा थियो। सरकारले समयमा अनुमति नदिएको कारण कम्पनी ढिला भयो,’ उनले भने।
सर्वसाधारणलाई समेत उद्धारमा सहयोग गर्न नदिइएको उनको आग्रह छ।
‘एउटा कमिलाले त चिन्ता लिएर जाँदा उद्धार गर्छ भने हामी त मानव हौं नि,’ उनले भने, ‘राज्य एकदम मौन, निरीह भएर सुतेको छ।’
अहिले कम्पनीले आवश्यक सामग्री जुटाउने र सुरूङभित्रको अवस्था पत्ता लगाउने कामलाई प्राथमिकता दिएको छ। सरकारी टोली पनि घटनास्थलमा छ। आफन्तहरू भने सम्पर्कविहीन रहेका सबैको अवस्था तत्काल पत्ता लगाउन माग गरिरहेका छन्।
खोजतलास कार्यलाई तीव्रता दिन कम्पनीले नेपाल माउन्टेनियरिङको विशेष 'सर्च टिम' (खोज टोली) खटाएको छ। यस टोलीको नेतृत्व टिम नेतृत्व माउन्टेन गाइड जेनजेन लामाले गरिरहेका छन्।
सोमबारदेखि निरन्तर २४ घण्टा प्रत्यक्ष रूपमा घटनास्थल (स्पट) मै खटिएर खोजतलास र निरीक्षण कार्यमा जुटिरहेका कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार खटाइएको यो टोली मुख्यतया पहाड, हिमाल र कठिन भौगोलिक अवस्थामा बाटो बनाउने तथा खोजतलास गर्ने कार्यमा विशेष दक्षता र अनुभव प्राप्त टोली हो।