रसुवा जिल्लाको टिमुरेमा प्रवर्द्धित रसुवागढी जलविद्युत आयोजनास्थलमा फसेकाहरूको उद्धार बुधबार बाढीको सात दिन बितिसक्दा पनि हुन सकेको छैन।
आयोजनाका निमित्त सिइओ पुष्कर अमात्यका अनुसार आजदेखि उपकरण सहित उद्धारको काम अघि बढाउने योजना थियो।
'आज उपकरण सहित काम गर्ने योजना अनुसार उपकरण बट्टार पुगिसकेको थियो,' उनले भने।
अमात्यका अनुसार कम्पनीले मिनी एक्स्काभेटर लगायत उपकरण काठमाडौंबाट लगेको थियो।
सेनाको हेलिकप्टर आयोजनास्थलमा ल्यान्ड हुन नसकेपछि उद्धारको काम पनि हुन नसकेको उनले बताए।
'योभन्दा अगाडि जहाज ल्यान्ड भएको ठाउँ भासिएको छ, त्यहाँ ल्यान्ड गर्न सकिएन भनेर सेनाको एम-१७ ल्यान्ड हुन नसकी फर्किएको छ,' उनले सेतोपाटीसँग भने।
सम्पर्कविहीन ९३ जनामध्ये १२ जना पावर हाउस र सर्भिस बिल्डिङमा फसेको आशंका
भदौ १० गते आएको भोटेकोशी बाढीपछि यो आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। जसमा, कम्पनीका नियमित कर्मचारी ५१ जना
सञ्चालक १ जना, दैनिक ज्यालादारी कामदार २ जना र तीन वटा ठेकेदार कम्पनीका ३९ जना गरी जम्मा ९३ जना छन्।
सम्पर्कविहीनमध्ये जलविद्युत केन्द्रको भूमिगत विद्युत गृहको कन्ट्रोल रूम (पावर हाउस) र गेटमा रहेको सर्भिस बिल्डिङमा रहेका गरी जम्मा १२ जना फसेको हुन सक्ने आशंका रहेको आयोजनाले जनाएको छ।
बाढीको पूर्वसूचना नपाएको र आयोजना चीन-नेपाल बोर्डर नजिकै रहेकाले सुरूमै ठूलो क्षति पुगेको बताउँछन् आयोजनाका निमित्त सिइओ अमात्य।
'म काठमाडौंमै थिएँ। उता त हाम्रो ठूलो मानवीय क्षति भयो। तीन जना बाढी आइसकेपछि नै माथि माथि उक्लिएर भागेर बाँच्न सफल हुनु भएको छ। अरू त कोही पनि सम्पर्कमा हुनुहुन्न,' उनले भने।
क्षतिपछि कम्पनीले आफै तथा सरकारसँगको समन्वयमा खोजी तथा उद्धारको काम जारी राखेको जनाएको छ।
सेनाले यो आयोजनाको सुरूङ भित्रसम्म सर्सर्ती खोजी गरेको थियो। खोजी गर्दा सतहमा कुनै पनि मानिस फेला नपरेको भन्दै सेना फर्केको थियो।
पावर हाउस र सर्भिस बिल्डिङमा कर्मचारीहरू फसिरहेको आशंकामा थप उद्धार गर्न लागिएको हो। यो आयोजनामा बाढी आएको दिनदेखि आज (भदौ १७ गते) सम्म खोज तथा उद्धारका के कस्ता प्रयास भए यसबारे पनि हामीले आयोजनालाई सोधेका छौं।
भदौ १० गते
बाढीले आयोजनामा क्षति पुगेको खबर कम्पनीले बिहान ९ बजेर पाँच मिनेट जाँदा पाएको थियो। कम्पनीले सोही दिन आफै हेलिकप्टर लगेर आयोजनास्थल गयो। अवस्था निकै भयावह थियो। त्यहाँ झरेर हेर्न सक्ने अवस्था थिएन। हेलिकप्टरबाट माथिबाटै वरपर मान्छे फसेका छन्/ छैनन् हेरियो।
'हामीले वरपरको ठाउँहरू र मानिसहरू भागेर बसेको हुनसक्ने सम्भावित ठाउँहरूमा हेर्यौं। हाम्रा कोही कर्मचारी फेला परेनन्, टिमुरेबाट अरू उद्धारको पर्खाइमा रहेका चार जना राखेर फर्कियौं,' सिइओ अमात्यले भने।
आयोजनाले घटनाबारे प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायलाई जानकारी गराए।
भदौ ११ गते
बाढीको दोस्रो दिन पनि आयोजना स्थल पुगेर कोही कर्मचारीको उद्धार गर्न सकिन्छ कि भनेर कम्पनीले हेलिकप्टर लैजान खोजेको थियो। हेलिकप्टर लैजाने अनुमति माग गरियो। तर १२ गतेका लागि मात्रै मिलेको उनले बताए।
भदौ १२ गते
यो दिन कम्पनीले आयोजना स्थलमा दुइटा हेलिकप्टर पठायो। एउटा हेलिकप्टरमा आयोजनामा कार्यरत कर्मचारीहरूका आफन्तहरू गएका थिए। एउटामा आयोजनाका कर्मचारीहरू।
'हामीले आफ्नै पहलमा कर्मचारीहरूका दुई जना आफन्तहरूलाई हेलिकप्टरमा पठाएका हौं। उहाँहरू पनि हाम्रो कम्पनीका पूर्वकर्मचारीहरू हुनुहुन्थ्यो। उहाँहरू साइटमै झर्नु भयो। त्यहीँ बस्नु भयो। साइटमा अरू कोही प्राविधिक लगेर पनि खोजी गर्नु भयो तर कोही भेट्नु भएन।'
भदौ १३ र १४ गते
उद्धार पहलका लागि सम्बन्धित निकायसँग कम्पनीले नियमित पहल गरिरह्यो।
भदौ १५ गते
रसुवाको सदरमुकाम धुन्चेबाट नेपाली सेना, ड्रोन प्राविधिक र स्थान देखाउन गएका कम्पनीका इन्जिनियर सहितको टोली एक्सेस टनेल प्रवेश गर्यो। टोली सुरूङको २५० मिटरसम्म पुगेको जनाइएको छ।
विद्युत गृहको नजिकसम्म पुगेर हेर्दा कोही मानिस फेला परेनन्।
विद्युत गृह पूर्ण रूपमा टालिएर कन्ट्रोल रूमसम्म उद्धार टोली जान नसकेको जनाइएको छ। त्यसले निराशजनक स्थिति सिर्जना गरेको र सम्पर्कविहीनहरूका आफन्तले उद्धारका लागि थप पहल गर्न दबाब दिए। हिलोसहितको 'फ्लडिङ म्याटेरियल' ढुङ्गासहितको लेदो पन्छाएर कन्ट्रोल रूमसम्म पुग्न सकिने निश्कर्ष निकालिएको।
भदौ १६ गते
उद्धारका लागि आवश्यक उपकरण प्रबन्ध लगायत काम भएको। बट्टारसम्म उपकरण लगेर राखियो।
भदौ १७ गते
उद्धारका लागि सेना सहित टोली आयोजनास्थल पुगेको तर सेनाको हेलिकप्टर ल्यान्ड हुन नसकेपछि फर्कियो।
'आज ल्यान्ड हुन नसके पनि भोलि पनि प्रयास निरन्तर रहन्छ। हामी कम्पनी आफैले एम १७ लैजान सक्ने कुरा पनि भएन। यसका लागि सेनासँग समन्वय गरेर कम्पनीले निरन्तर पहल गर्छ। जसरी पनि हामी पावर हाउस पुग्ने कोसिस गर्छौं,' उनले भने।