रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका मानिससम्म पुग्न उद्धार टोलीले बुधबार नयाँ बाटो खोल्न सफल भएको छ।
यसअघि सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो। तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।
त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरूङभित्र पुग्ने योजना बनाएको थियो।
बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको हो।
त्यहाँ पाइपमा मेसिन प्रयोग गरेर मानिस छिर्न सक्ने 'म्यानहोल' अर्थात् प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।
'सुरूङबाट अघि बढ्न कठिन भएपछि पेनस्टक पाइपबाट जाने योजना बनाएका थियौं। आज प्राविधिक टोली त्यही पाइप हुँदै करिब १५० मिटर माथिसम्म पुग्यो र त्यहाँ म्यानहोल बनाउन सफल भयो,' उनले भने।
यो म्यानहोलबाट अब उद्धार टोली सुरूङभित्र प्रवेश गर्न सक्नेछ।
बुधबार ठूलो वर्षा भएपछि जोखिम बढेकाले नेपाली सेनाको टोली तत्काल म्यानहोलबाट भित्र पस्न सकेन। मौसम र सुरक्षाको अवस्था हेरेर बिहीबार बिहान म्यानहोल हुँदै सुरूङभित्र प्रवेश गरेर खोजी तथा उद्धार अघि बढाउने तयारी छ।
भट्टराईका अनुसार सुरूङभित्र प्रवेश गरेपछि मात्रै त्यहाँको वास्तविक अवस्था थाहा हुनेछ। मानिसहरू भेटिए उनीहरूको उद्धार गरिनेछ भने अन्य अवस्था देखिए त्यस अनुसार खोजी अघि बढाइनेछ।
रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन्। उनीहरू सुरूङभित्र फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार भइरहेको छ।
यसअघि मंगलबार नेपाली सेना, भारतीय तथा नेपाली प्राविधिकसहितको टोली सुरूङभित्र प्रवेश गरेको थियो। करिब १५० मिटरभित्र पुग्नुपर्ने भए पनि बाटोमा ठूला ढुंगा भेटिएपछि टोली करिब १०० मिटर मात्रै अघि बढ्न सकेको थियो।
अवरूद्ध बाटोबाट थप अघि बढ्न कठिन भएपछि बुधबार मुख्य सुरूङ नखनी पेनस्टक पाइपबाट वैकल्पिक प्रवेशमार्ग तयार गरिएको हो।
अबको मुख्य चुनौती भनेको म्यानहोलबाट सुरूङभित्र सुरक्षित रूपमा प्रवेश गर्नु र त्यहाँ रहेका भनिएका २५ जनाको वास्तविक अवस्था पत्ता लगाउनु हो।