बुटवलस्थित सिद्धार्थ कटेजले पहिलो पटक म:म महोत्सव आयोजना गर्दैछ।
भ्यालेन्टाइन डेको अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म म:म महोत्सव हुने भएको हो।
महोत्सवमा विभिन्न २ सयभन्दा बढी प्रकारका म:म को स्वाद चाख्न पाउने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले जानकारी दिए।
सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले यसअघि नेपालगन्ज र धनगढीमा म:म महोत्सव आयोजना गरेको भए पनि बुटवलमा भने पहिलो पटक आयोजना गरिएको न्यौपानेले बताए।
महोत्सवमा नन भेजमा चिकेन, मटन, फिस, अण्डा, अस्ट्रिज र हाँस सँगै भेजमा पालक, गाजर, भुटुक, सिस्नो, खोले साग, तरुल, इस्कुस, अकबरे खुर्सानी, सिपचना, चकलेट, नट्स, कर्न चिज, चुकन्दर, पनिर, फलफूल, पिजा, सखरखण्ड लगायतका म:म हरू फ्राई, साँधेको, तारेको, स्टिम, डामेको, पोलेको र कुकरमा पकाएको म:मको स्वाद लिन पाइने छ।
त्यसको साथै बटुक, सेल रोटी, चुकौनी तथा नेवारी खाजाका परिकारहरू पनि महोत्सवमा राखिने सिद्धार्थ कटेज बुटवलका मुख्य कुक एल बी कौशलले जानकारी दिए। बजारमा खासगरी मैदामा मात्र म:म बनाइने भए पनि कोदो र फापरको पिठोमा बनाइएको म:म पनि महोत्सवमा राखिने छन्।
त्यस्तै महोत्सवमा म:मको स्वाद लिनुका साथै म:म बनाउने र खाने प्रतियोगिता समेत आयोजना हुनेछ भने खाना पकाउँदा भान्सामा गर्नुपर्ने सरसफाइ र सुरक्षाको बारेमा पनि जानकारी दिइने छ।
सिद्धार्थ कटेजका अपरेसन म्यानेजर पदम न्यौपानेले महोत्सवमा ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको म:म खान पाइने छ। नेपालगन्ज र धनगढीमा यसअघि आयोजना गरेको महोत्सवलाई हेर्दा बुटवलमा प्रत्येक दिन १ हजारसम्म ग्राहकलाई सेवा दिने लक्ष्य रहेको न्यौपानेले बताए।