९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयहरूलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) ले दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आइसिएको राजदूतमा नियुक्त गरेको छ।
संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आइसिएको प्रतिनिधित्व गर्नेछिन्।
उनले इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) अन्तर्गत सञ्चालित इन्टरनेसनल अर्ली इयर्स करिकुलम (आइइवाइसी), इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसी) र इन्टरनेसनल मिडल इयर्स करिकुलम (आइएमवाइसी) मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नेछिन्।
यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको छ।
उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो।
राजदूतका रूपमा नियुक्त भएपछि अब उनले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवर्द्धन गर्ने भूमिका निर्वाह गर्ने बताइएको छ।
राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) की निर्देशक सारा ब्ल्याकमोरले भनिन्, 'हामी दीप्ति आचार्यलाई आइसिएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौँ। गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ।'
आइसिएको यस आइसिए एम्बासडर' कार्यक्रमले 'इम्प्रुभिङ लर्निङ' दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ।
आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्नेमा केन्द्रित रहनेछ ।