बुद्ध एयरले 'रोयल क्लब फ्रिक्वेन्ट फ्लायर' कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ।
नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि लागु गरिएको यो व्यवस्थामार्फत यात्रुहरूले उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटजस्ता विभिन्न सुविधा पाउने भएका छन्।
नियमित हवाई यात्रा गर्ने यात्रुहरूका लागि सञ्चालन हुँदै आएको यस कार्यक्रममा अब डिजिटल प्रणालीमार्फत सहज पहुँच हुने कम्पनीले जनाएको छ।
यात्रुहरूले प्रत्येक उडानसँगै 'माइलेज प्वाइन्ट' संकलन गर्न सक्नेछन् र निश्चित प्वाइन्ट पुगेपछि आफ्ना साथै परिवारका सदस्यका लागि छुट तथा निःशुल्क टिकट लिन सक्ने व्यवस्था गरिएको छ।
यसअघि रिफन्डेबल टिकट (वाई, ए र बी क्लास) मा मात्र माइलेज प्वाइन्ट उपलब्ध गराइँदै आएकोमा अब नन–रिफन्डेबल टिकटमा पनि प्वाइन्ट प्रदान गरिने कम्पनीका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिए।
अब यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी मोबाइल एप वा वेबसाइटमार्फत सिधै टिकट काट्न सक्नेछन्।
यसअघि यस्तो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो।
उदाहरणका लागि, काठमाडौं–पोखरा उडानमा नन–रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गरेमा सोही बराबरको अर्को उडानमा ११२ रूपैयाँसम्म छुट लिन सक्नेछन्।
कम्पनीले यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफ्नो 'रोयल क्लब नम्बर' उल्लेख गर्न आग्रह गरेको छ, जसले यात्रापछि प्राप्त हुने माइलेज र छुट सुविधालाई सहज बनाउने जनाएको छ।
यसका साथै, रोयल क्लबका सदस्यहरूले सुपरमार्केट, ग्रोसरी
पसल, होटल, रिसोर्ट तथा गिफ्ट सपजस्ता विभिन्न स्थानमा पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट लिन सक्नेछन्।
यसका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिँदै गएको कम्पनीले जनाएको छ।