सरकारले स्वदेशी बिजुलीको खपत बढाउन र भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न जतिसुकै प्रोत्साहन गरे पनि होटल उद्योग भने अझै पनि ग्यासकै भरमा देखिएको छ।
सरकारी नीति र व्यावहारिक धरातलबीच तालमेल नहुँदा ठूला होटल तथा रेस्टुरेन्टहरूले आधा सिलिन्डर ग्यासको झन्झट खेपेरै भए पनि विद्युतीय प्रणालीलाई अपनाउन सकेका छैनन्।
विद्युत प्राधिकरणले पनि बिजुली बढी भएको दाबी गर्दै आएको छ। तर, होटलजस्ता ठूला ऊर्जा खपत गर्ने क्षेत्रका लागि न त भरपर्दो बिजुलीको व्यवस्था छ, न त महसुलमा सहुलियत।
सरकारले ग्यास विस्थापित गर्ने जतिसुकै दाबी गरे पनि होटल व्यवसायीहरू भने अझै पनि महँगो ढुवानी र झन्झटिलो आधा सिलिन्डर ग्यासकै भर पर्न विवश छन्।
अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि विश्वमै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।
यहाँ सबै प्रकारका इन्धन(खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन) भारतबाट आयात हुन्छ।
बजारमा ग्यासको अभाव भएपछि नेपाल आयाल निगमले एक महिनादेखि आधा अर्थात् ७.१ किलो तौल भएको सिलिण्डर बजार पठाउँदै आएको छ।
बजारमा ग्यासको अभाव चर्किएपछि अचेल धेरैका घरमा विद्युतीय चुल्हो (इन्डक्सन) देखिन थालेको छ।
सर्वसाधारणले बिस्तारै ग्यास छोडेर बिजुली रोज्न थाले पनि होटल र रेस्टुरेन्ट क्षेत्र भने अझै पूर्ण रूपमा ग्यासकै भरमा चलेका छन्।
ग्यासको सास्ती खेप्दा पनि होटलहरू बिजुलीमा जान नसक्नुका केही मुख्य कारण छन्।
पहिलो त, होटलका ठूला भान्सालाई बिजुलीमा बदल्न लाखौँ रुपैयाँ खर्च गरेर नयाँ उपकरण र तारहरू जडान गर्नुपर्छ, जुन तत्कालै सम्भव छैन। दोस्रो, होटल व्यवसायीहरूका अनुसार अहिलेको महँगो बिजुली दरभन्दा ग्यास नै सस्तो पर्न जान्छ।
सरकारले होटललाई उद्योग सरहको मान्यता दिए पनि बिजुली महसुलमा सहुलियत नदिएका कारण विद्युतीय चुल्हो प्रयोग गर्न नसकिएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए।
'होटल क्षेत्रमा विद्युतीय चुल्हो प्रयोगमा ल्याउन धेरै कुरा परिवर्तन गर्न पर्छ। तर त्यसको लागि सरकारले पहिले महसुलमा छुट दिन पर्यो नि,' उनले भने, 'त्यसपछि उद्योगी आफैं लागी पर्छन्।'
उनका अनुसार हाल विद्युतको दर प्रतियुनिट १६ देखि १७ रूपैयाँ छ। यो मूल्यमा विजुली प्रयोग गर्नभन्दा होटल व्यवसायीलाई ग्यास प्रयोग गर्न सस्तो पर्छ।
स्थिर बिजुलीको सुनिश्चितता नहुनु र बजारमा होटलका लागि आवश्यक शक्तिशाली व्यावसायिक विद्युतीय चुल्होहरू सहजै उपलब्ध नहुनाले होटल व्यवसायी तत्काल विद्युतीय चुल्होमा रूपान्तरण हुन नसकेको मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए।
'ग्यास नै प्रयोग गरिरहेका छौं। आधा सिलिण्डर ग्यास झन्झट त छ तर उपाय छैन,' उनले भने, 'तत्काल बिजुली चुल्होमा रूपान्तरण गर्न सकिँदैन।'
उनका अनुसार होटल रेष्टुरेन्टको भान्स बिजुलीमा रूपान्तरण गर्न स्थिर आपूर्ति, सहुलियत दर र उपयुक्त उपकरण आवश्यक पर्छ।
अहिले बजारमा घरायसी प्रयोजनका मात्रै विद्युतीय चुल्हो छ। यस्ता चुल्होमा पकाउन ठूला व्यावसायिक होटललाई तापक्रम पुग्दैन।
'बजारमा ठूला विद्युतीय चुल्हो छैनन्। सानो चुल्होले पकाउन पावर पुग्दैन,' उनले भने।
सरकारले ल्याएको आधा सिलिण्डर ग्यास पनि व्यवहारिक नभएको उनको भनाइ छ।
'मान्छेले खाना आधा पकाउने हो र? आधा सिलिण्डर ग्यास वितरण गरेको? ढुवानी खर्च त पुरै लाग्छ नि,' उनले भने।
एकातिर व्यवसायीहरू विकल्प नभएर ग्यासको सास्ती खेपिरहेका छन् भने अर्कोतिर ग्यास उद्योगीहरू बजारमा माग घटेको दाबी गरिरहेका छन्।
नेपाल ग्यास उद्योग संघका अध्यक्ष देवन चन्दले अहिले बजारमा आधा सिलिन्डर ग्यासको माग निकै कम भएको भन्दै अब पूरै सिलिन्डर वितरणको प्रणालीमा जानुपर्नेमा जोड दिएका छन्।
'बुलेटमै ग्यासको पर्याप्त स्टक छ। हामीले निगमलाई पुरा सिलिण्डर ग्यास पठाउन आग्रह गरेका छौं,' उनले भने।