नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको न्यूनतम भाडादर बढाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ।
निगमले साउन १७ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँका दरले बढाएको थियो।
अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रूपैयाँ पुगेको छ।
प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रूपैयाँ रहेको फ्युल सरचार्ज अब बढेर ११ हजार पुगेको छ।
अर्थात् धनगढी जाने टिकटको मूल्य ८८० रूपैयाँले बढेको छ।
प्राधिकरणले समग्र मूल्य ८ प्रतिशतले वृद्धि गरेको हो।
सबैभन्दा बढी मूल्य भने विराटनगर–धनगढी १ हजार २९० रूपेयाँले बढेर १६ हजार ३५ रूपैयाँ पुगेको छ।
नेपालगन्ज–भद्रपुर रुटमा भाडा १ हजार १७० रूपैयाँले बढेर १४ हजार ५६० रूपैयाँ पुगेको छ।