डाँफे एयरलाइन्सले व्यावसायिक उडान सञ्चालनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेको छ।
एयरलाइन्सले करिब तीन–चार महिनाअघि नै एनओसी लिइसकेको हो।
कम्पनीले एटिआर–७२–६०० सिरिजका जहाज ल्याएर सेवा सञ्चालन गर्ने योजना प्रस्तुत गरेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।
उनका अनुसार एनओसी प्राप्त गरेपछि एक वर्षभित्र जहाज नेपाल ल्याउनुपर्ने व्यवस्था छ। तोकिएको अवधिमा जहाज ल्याउन नसके एनओसी स्वतः खारेज हुन्छ।
उनले एओसी (एयर अपरेटर सर्टिफिकेट) प्राप्त गर्ने प्रक्रिया भने अझै जारी रहेको जानकारी दिए।
एओसी प्रक्रिया विभिन्न चरणमा पूरा हुन्छ। जहाज नेपाल ल्याइसकेपछि इन्स्पेक्सन तथा डेमोन्स्ट्रेसन र सर्टिफिकेसनका बाँकी चरण अघि बढ्छन्।
सबै प्रक्रिया पूरा गरी एओसी प्राप्त गरेपछि मात्र डाँफे एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न पाउने प्राधिकरणले जनाएको छ।
डाँफे एयरलाइन्सले भने दसैंअघि व्यवसायिक रूपमा उडान सुरू गर्ने बताएको छ।