नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्।
सिइओ नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जना छनोट भएका छनोट उपसमितिले जनाएको छ।
नेपाल पर्यटन बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनामा उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिएको छ।
सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र रामचन्द्र सेढाईं (गोरखा) छन्।
त्यस्तै, रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन्।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उनीहरूको मूल्यांकन गरिएको हो।
छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे बोर्डको सचिवालयमा उपस्थित हुन भनेको छ।
उम्मेदवारले शैक्षिक योग्यता र अनुभवका सक्कल कागजात पेस गर्नुपर्नेछ।
उनीहरूले सोही अवसरमा आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण पनि दिनुपर्नेछ।