बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला 'वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटिएम) लन्डन २०२६' मा नेपालले पर्यटनका विविध सम्भावना प्रस्तुत गरेको छ।
मेलामा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक र दिगो पर्यटनलाई प्राथमिकतामा राखेको छ।
नोभेम्बर ३ देखि ५ सम्म लन्डनस्थित एक्सेल प्रदर्शनी केन्द्रमा मेला आयोजना भएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल 'गनेस'को नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित ३२ निजी कम्पनीले सहभागिता जनाएका थिए।
मेलामा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, ट्राभल बायर, सञ्चारमाध्यम र पर्यटन क्षेत्रका सरोकारवालासँग व्यावसायिक सम्बन्ध विस्तार गरिएको बोर्डले जनाएको छ।
नेपालको पर्यटन उत्पादन र सेवाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन पनि गरिएको छ।
विशेषगरी सन् २०२७ मा मनाउन लागिएको 'नेपाल वेलनेस पर्यटन वर्ष'लाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयास गरिएको थियो।
योग, ध्यान, आध्यात्मिक पर्यटन र स्वास्थ्यसँग जोडिएका अनुभवलाई प्रवर्द्धन गरिएको थियो।
मेलामा नेपालले हिमाल आरोहण र पदयात्रासँगै उच्च हिमाली म्याराथन, माउन्टेन बाइकिङ, र्याफ्टिङ र वन्यजन्तु अवलोकनका सम्भावना प्रस्तुत गरेको थियो।
सांस्कृतिक सम्पदा र सामुदायिक पर्यटनलाई पनि प्राथमिकता दिइएको थियो।
नेपाललाई विविध अनुभव लिन सकिने जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको बोर्डले जनाएको छ।
नेपालको प्रतिनिधिमण्डलमा पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव शंकरबहादुर केसी पनि सहभागी थिए।
नेपाल पेभिलियनको उद्घाटन मन्त्री पौडेलले प्रतिनिधिसभा सदस्य मनीष झाको उपस्थितिमा गरेका थिए।
मेलाका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावत, भारतीय राज्यसभा सदस्य सुधा मूर्ति, संयुक्त अरब इमिरेट्सका अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्ला बिन तौक अल मारी र श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा. रुवान रणतुङ्गासँग भेटवार्ता गरेका थिए।
भेटमा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो।
मन्त्री पौडेलले डब्ल्युटीएमसँगै विश्व पर्यटन तथा भ्रमण परिषद् (डब्ल्युटिटिसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन निकाय (युएन टुरिजम) को संयुक्त आयोजनामा भएको २०औं मन्त्रीस्तरीय सम्मेलनमा पनि भाग लिएका थिए।
'उत्थानशील र पुनरुत्थानमुखी भविष्यका लागि पर्यटन सुदृढीकरण' विषयको सम्मेलनमा पर्यटन क्षेत्रको उत्थानशीलता, दिगो लगानी र सरकार तथा निजी क्षेत्रबीचको सहकार्यबारे छलफल भएको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनले हिमाली पर्यटनमा पारेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
उनले हालैको भोटेकोसी आकस्मिक बाढीले मानवीय क्षतिसँगै पर्यटन पूर्वाधार र सम्पत्तिमा पनि क्षति पुर्याएको उदाहरण दिएका थिए।
पर्वतीय पर्यटनलाई जलवायुजन्य जोखिमबाट जोगाउन स्थानीय समुदाय, सरकार र संस्थाबीच समन्वय आवश्यक रहेको उनले बताएका थिए।
दिगो पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी नीति र संस्थागत सहकार्यमा पनि उनले जोड दिएका थिए।
मेलामा नेपालले वन्यजन्तु संरक्षणमा हासिल गरेका उपलब्धिसमेत प्रस्तुत गरेको थियो।
गैँडाको चोरीसिकार शून्यमा पुर्याउने अभियान र बाघको सङ्ख्यामा भएको वृद्धिलाई संरक्षणका सफलताका रूपमा देखाइएको थियो।
स्थानीय समुदाय, संरक्षण साझेदार र राष्ट्रिय निकुञ्जबीचको सहकार्यबाट जैविक विविधता संरक्षणमा प्राप्त उपलब्धिबारे अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिइएको थियो।
वेलनेस पर्यटन वर्ष २०२७ को प्रवर्द्धन
नेपालले सन् २०२७ लाई 'नेपाल वेलनेस पर्यटन वर्ष' का रूपमा मनाउने तयारी गरेको छ।
यसलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनु डब्ल्युटिएममा नेपालको सहभागिताको महत्त्वपूर्ण उद्देश्य थियो।
नेपालको प्राचीन योग, ध्यान, आध्यात्मिक परम्परा र शान्त प्राकृतिक वातावरणलाई वेलनेस पर्यटनसँग जोडेर प्रस्तुत गरिएको थियो।
लुम्बिनी, काठमाडौं उपत्यकाका प्राचीन मन्दिर, स्मारक र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई पनि यससँग जोडिएको थियो।
योग, ध्यान, सांस्कृतिक अन्वेषण र स्थानीय जीवनशैलीको अनुभव लिन चाहने पर्यटकलाई आकर्षित गर्ने नेपालको लक्ष्य छ।
नेपाल इभिनिङमा ७० अन्तर्राष्ट्रिय पाहुना
डब्ल्युटिएमकै अवसरमा नोभेम्बर ४ मा लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा 'नेपाल इभिनिङ' आयोजना गरेका थिए।
कार्यक्रममा पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब ७० जना सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालमा वेलनेस पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए।
उनले योग, ध्यान र आध्यात्मिक पर्यटनका लागि नेपाल भ्रमण गर्न अन्तर्राष्ट्रिय पर्यटकलाई आग्रह गरेका थिए।
प्रतिनिधिसभा सदस्य मनीष झाले नेपाली पर्यटन उद्यमीलाई नेपालको वास्तविक अन्तर्राष्ट्रिय राजदूतका रूपमा चित्रण गरेका थिए।
नेपालको पर्यटन पुनरुत्थान र अन्तर्राष्ट्रिय छवि निर्माणमा उनीहरूको भूमिकाको उनले प्रशंसा गरेका थिए।
लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका थिए।
उनले पर्यटन सहकार्य र लगानी विस्तारका अवसरबारे पनि बताएका थिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले नेपालको विशिष्ट पर्यटन अनुभव, नयाँ सम्भावना र आगामी प्रवर्द्धनात्मक कार्यक्रमबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी भिडिओ प्रदर्शन गरिएको थियो।
नेपाली परिकारसहित रात्रिभोज आयोजना गरिएको थियो। विभिन्न पर्यटन उत्पादन र गन्तव्यसम्बन्धी प्रचार सामग्री पनि वितरण गरिएको थियो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तको नेतृत्वमा बोर्डका अधिकारीहरू सुशीला कुमारी बराल, सृजना नेपाली, सिद्धार्थ विश्वकर्मा र जयशक्ति सर्राफले मेलामा सहभागिता जनाएका थिए।
नेपालका तर्फबाट पदयात्रा तथा पर्वतारोहण कम्पनी, होटल तथा रिसोर्ट, ट्राभल एजेन्सी, टुर अपरेटर र हवाई सेवा प्रदायक गरी ३२ निजी कम्पनी सहभागी थिए।
यसले नेपालको पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारीलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर दिएको बोर्डले जनाएको छ।