आकासमा बादल मडारिएको छ। अहिले नै पानी पर्ला जस्तो भए पनि पानी परिको छैन।
मेरो मनजस्तै दोधारमा धुम्मिएर बसेको छ आकास। अवश्य नै आकाशको बादल त केहि छिनमा सफा हुनेछ। या त बादल हावासँगै उडेर कतै जानेछ या त पानी भइ बग्नेछ तर मेरो विचलित मनको आकांक्षा यसै महिनौदेखि दोसाँधमा ढलपल ढलपल गर्दै बसिरहेको छ।
मलाई पनि मेरा मनका कुराहरु छताछुल्ल पोखाइदिन मन छ। बादल झैँ झमझम पानी भई वर्षीदिन मन छ। उसको अगाडी आफ्नो मनलाइ उदांगो बनाइदिन मन छ।
म आशावादी नभएको होइन तर मनको कुरामा अनिश्चितताले झन् धेरै सताउदोरहेछ। तर म उसको अगाडी पर्ना साथ आफैँलाई निरिह पाउँछु र म भित्रका ठूलाठूला डर, संकोच र लाजले गर्दा मनको वेग यसै सुषुप्त बसिदिन्छ मनभित्रै।
समय परिवर्तन भयो। देशको शासन बदलियो। तर मानिसको मन उस्तै छ। माया, डर, संकोच, लोभ, डाह, लाज, आदर, घृणा। हाम्रो भावना कत्ति पनि परिवर्तन भएको छैन।
नत्र त म एक प्रगतिशील मान्छे आफ्नो मनको कुरा खुलेर भन्न सक्नु पर्थ्यो। परिवर्तन छैन हाम्रा ज्ञानेन्द्रीयले अनुभूत गर्ने ति मीठा तीता स्वाद। अनि अझै पनि त्रसित हुन छाडेको छैन ति तीता स्वादसँग मेरो मन।
मेरी साथी एकटकले झ्याल बाहिर हेरेर बसेको मेरो नजर र मनको एकाग्रता भंग गर्न झक्झकाउन आइपुग्छे। मेरो अगाडि एक कप चिया राखिदिँदै भन्छे, ‘कति सोचिरहन्छौ उसकोबारे। बरु यसो आँट गरेर मनको कुरा खोल सम्बन्धित मान्छेलाई।
म देख्न सक्दिनँ तिम्रो पीडा। तिमी भित्रभित्रै पिल्सिएको हेर्न सक्दिनँ। मलाई पनि थाहा छ आफैँभित्र भावना गुम्स्याएर राख्नुको पीडा।
म उसको खुल्ला अभिव्यक्ति सुनेर फिस्स हाँसीदिन्छु। हुन पनि म यसै आफैँ कल्पनामा भुल्न थालिसकेको थिए। वास्तविकता भन्दा धेरै टाढा थिए म।
माया गर्छु भन्न सक्नु पर्छ, के तिमीले घृणा गरेको हो र? माया जस्तो पवित्र भावनालाई किन लुकाएर राख्ने।
त्यति सजिलो कहाँ छ र, तिमीलाई पनि थाहा छ। फेरि तिमी बदलामा के चाहन्छौं। त्यसमा पनि त भर पर्छ मेरो इच्छा। मेरो त हिम्मत छैन यो मेरो एकतर्फी मायाको अनुभूतिलाई पीडामा यति चाँडै परिवर्तन गर्न। हो म त्रसित थिएँ उसका गर्न सक्ने अस्वीकार प्रति।
पहिलोपटक करिव दुई वर्ष अगाडि मैले उसलाई मन्दिरमा देखेको थिए। मन्दिरको प्रांगणमा ऊ कुनै व्यक्तिसँग कुरा गरिरहेको। उसले पनि मलाई देख्यो तर विनाप्रवाह आफ्नो कुरामा व्यस्त रह्यो।
मलाई भने पहिलो नजरमै ऊप्रति अनौठो आकर्षणको अनुभूति भयो। औसत मान्छेभन्दा अग्लो थियो ऊ। मिलेको शरीर, चौडा छाती, साधारण मान्छेको भन्दा फरक पोशाक जो कोहि पनि उसलाई एकपटक हेर्थे सायद!
उसले पण्डितले लाउने धोती र सर्ट लगाइरहेको थियो। सुरूमा त लागेको थियो, यस्तो समयमा पनि यस्तो लुगा लाएर बस्ने! कस्तो पोशाकप्रति कुनै ज्ञान नभएको। तर मेरो नजर उसका उज्याला ठूला निदार अनि सागरजस्तै गहिरो र सफा आँखामा अडिए।
त्यो आँखामा उसको पवित्रता झल्कियो। म उनका शान्त र कान्तिपूर्ण अधरबाट पहिलो जम्काभेटमै प्रभावित भएँ।
सायद मेरो उमेर पनि होला। मेरा चञ्चल हृदयमा उसको व्यक्तित्वले गाढा प्रभाव पार्यो। त्यो व्यक्ति मेरो नजिकैबाट मन्दिर भित्र पस्यो।
उसको शरीरमा धुपपातीको सुगन्ध थियो। मैले बेवास्ता गरे झैँ गरें। मेरो आकर्षणको कुनै संकेत नदेखाई भगवानको दर्शन गर्न लागे र आँखा बन्द गरेर प्रार्थना गर्न थाले।
म अझै पनि उ मन्दिरको पूजारी हो भन्ने कुरामा अनभिज्ञ थिएँ। जब मैले आँखा खोले ऊ भगवानको मुर्ति छेउ फूलपाती लिएर उभिरहेको रहेछ।
उसले मलाई फूलपाती दियो। तर मेरो मुटुको धड्कन उसको स्पर्षसँगै ऊतिरै समाहित भयो। म प्रत्येक दिन विहान कलेज जानु पहिले मन्दिर धाउन थाले। त्यसको केही दिनपछि साँझ पनि।
सायद मेरो भित्री मनोकामना फरक नभएको भए म संसारकै सबैभन्दा धार्मिक व्यक्ति हुन्थें। तर म त देवताको भक्त हैन प्रेमको भक्त हुँ।
उसले पनि मलाई चिन्न थालिसकेको थियो। मुसुक्क मुस्काउँथ्यो। उत्सुक थिएँ म उसको बारेमा जानकारी लिन। जब दर्शनार्थी कम भएको समयमा म पुग्थे, म कुरा गर्न थाल्थे। बिस्तारै ऊ एक्लो थियो भन्ने थाहा भयो।
म झन् हौसिएँ। उसले मेरो बारेमा सोध्थ्यो। म खुशी खुशी भन्थेँ, मेरो जीवनचर्या। अनि मैले आफ्नो जिज्ञासा पोखाए- उसको सामु।
यति सानै उमेरमा किन पूजारी? भन्नेजस्ता प्रश्न। उसको जवाफ हुन्थ्यो भाग्यरेखा सायद।
कहिलेकाहीँ पूजारीबारे साथीसँग पनि कुरा हुन्थ्यो। पूजारीको कमाइ राम्रो हुने भएकोले खाउखाउ लाग्ने उमेरमै पूजारी भएको हुन सक्ने साथीको तर्क थियो। धेरैपछि उसले पनि पूरारीप्रति मेरो माया थाहा पाउन थाली।
आज फेरि मुसलधारे पानी बर्सियो। मनभित्रका भावना बगाइदिने अठोट गर्दै म मन्दिरतिर हानिएँ। शान्त मन्दिरमा पूजारी एक्लै थिए। मलाई देखेपछि मुस्कुराए।
एक्लोपन भगाउन आज म तपाईं भेट्न आएको हुँ, मैले भनेँ। मैले आफूलाई रोक्न सकिनँ।
आज खाली नै छु भन्दै पूजारी कुरा गर्न तयार भए। मैले भनिदिएँ- म हजुरलाई मन पराउँछु। अरू प्रश्नहरू पनि राखें, यो उमेरमा कसरी हुन्छ एकाग्रता? केटी देखेर संगीनी बनाउन मन लाग्दैन? यस्तै थुप्रै प्रश्न राखेँ।
मनका इच्छा भगवानमा समर्पण गरेको छोटो जवाफ पूजारीले दिए। म वाक्क भएँ, आफू माया गर्छु भन्न आएको छु, पूजारीभित्र कुनै जीवनरस छैन!
पूजारीले अनुहार मलिन बनाए। उनले पूराना कुरा झिके। उषा नामकी केटीले उनको हृदयको धड्कन बढाउने रहेछ कुनै समय। उषा स्कुले साथी रहिछन्। पूजारी भन्दै थिए- पढाइमा ध्यान गएन, १५ वर्षमै म उनीसँग प्रेममा परेको रहेछु।
एकदिन उषालाई विहेको प्रस्ताव राखेछन्। उषाले मानेकी थिइनन्। उनीहरूले भागेर विहे गरेछन्।
आफूले माया गरेको पूजारीले अर्कैलाई माया गरेको छ भन्ने सुनेर म छटपटाएँ। पूजारी अझै कथा सुनाइरहेका छन्। उषा गर्भवती भइछन् अनि विस्तारै टाढिएछन् उषाबाट। उषाले छोरो पाएकी थिइन् तर मरेको।
उषा निकै दु:खी भइन्। रक्तश्राप रोकिएन। उनले संसार त्यागिन्। म एक्लो भएँ, पूजारी आँखाभरि आँशु लिएर अतित सम्झिँदै थिए। त्यसपछि जीवन केही रहेनछ भनेर म भगवान पूजा गर्न बसेको हुँ।
पूजारीले आफ्ना कथा सुनाएर पनि सकेका के थिए पानी पनि रोकियो। कसैले घण्टी बजायो, ए मैले तपाईंलाई भुलाएछु फेरि भेटौंला भन्दै म मन्दिरबाट निस्किएँ।
हिजोआज मलाई हल्का महशुस भइरहेको छ। मलाई थाहा भयो कि ऊ कसैको पूजारी थियो, मैले पो अझै मेरो पूजारी भेटाएको थिइनँ। आफ्ना पाइला छिटोछिटो गन्तव्यतिर लम्कँदै छु अहिले।