खोलाको बगरमा सँगै थियौं हामी
आकारमा म चेप्टो थिएँ र
तिमी गोलो
एकदिन मानिसहरू आए
तिमीलाई लगेर मन्दिरमा
देवता बनाए र
मलाई तिमीसम्म पुग्ने सिँढी
मेरो छातीमा कुल्चेर
तिम्रो अगाडि शिर झुकाउँदै
यी मानिसहरूले आखिर
आफ्नो जस्तै हाम्रो
पनि जात बनाए
मलाई पिँधमा राखेर
तिमीलाई शिरमा सजाए
साथी सुनाऊ न एकपटक
तिम्रो विवेकशिल भक्तहरूलाई
हाम्रो गहिरो दोस्तीका कथा
पानीको बेगले दिएको
असीमित चोटको समान व्यथा
तर किन मौन छौं तिमी
कि देवता बने पछि तिम्रो पनि
जात फेरियो साथी ।।