सिंहदरबार परिसरभित्र संघीय संसदको भवन अहिले निर्माणाधीन छ।
२०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन। तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट चुनिने सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने गरी अहिले जोडतोडका साथ काम चलिरहेको छ।
प्रतिनिधिसभाको बैठक कक्ष बस्ने हल निर्माणको काम धमाधम भइरहेको छ। निर्माणाधीन हलमा केही सिट समेत राखिएका छन्। अहिले हललाई ‘साउण्ड प्रुफ’ बनाउने काम भइरहेको छ। तर हलको सिलिङको काम अझै सुरू भएको छैन। सिलिङ तयार नहुँदासम्म विद्युत जडान, एसी र माइक सिस्टम राख्न्ने काम सुरू हुँदैन।
भवन परिसरमा भने अहिले सवारी साधनको पार्किङ निर्माण, प्रवेश गर्ने गेटमा फलामका ढोका राख्ने, तारहरू भूमिगत गर्ने लगायत काम भइरहेका छन्।
सहरी विकास मन्त्रालयको विशेष भवन निर्माण महाशखाले निर्माण व्यवसायीहरूलाई ४५ दिनको कार्ययोजना तोकेर काम लगाइराखेको छ। ४५ दिने कार्ययोजना अनुसार दैनिक पूरा गर्नुपर्ने कामको सीमा तोकिएको छ। त्यसका बाबजुद निर्माणको काम कार्ययोजना अनुसार हुन सकेको छैन।
संघीय संसद भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठले मुख्य भवनको सेन्ट्रल लबी र राष्ट्रियसभाको बैठक हल, प्रतिनिधिसभाको हल र भिभिआइपी कक्ष (प्रधानमन्त्री/राष्ट्रपतिको कक्ष) भएका हलहरूको काम सक्ने गरी कार्ययोजना अघि बढाइएको बताएका छन्। समयमै भवन निर्माण पूरा हुने आशामा सरकार र संघीय संसद सचिवालयले अन्य भवन खोजी गरेका छैनन्।
भवन ठेक्का लगाउँदा यसको लागत ५ अर्ब ६७ करोड २७ लाख रूपैयाँ लाग्ने अनुमान थियो। पाँच पटक म्याद थप गर्दा अहिले लागत ६ अर्ब ३० करोड पुगेको छ। निर्माण कार्य बाहेक संसद भवनभित्रको साजसज्जा र माइक सिस्टम जडानका लागि २ अर्ब ३४ करोडको छुट्टै काम भइरहेको छ। दुवै कामको ठेक्का रकम जोड्दा भवनको लागत ८ अर्ब ६४ करोड पुग्ने देखिएको छ।
निर्माणाधीन संसद परिसरमा दलका कार्यालय, सचिवालय भवन, सुरक्षाकर्मीको भवन, अन्डरग्राउन्ड पार्किङ लगायतका संरचना बनेका छन्।
हेर्नुहोस् भिडिओ टूर —