नायकको खोजीमा
प्रत्येक पटक मलामी गएर
अत्यष्टि गरिरहे
पुराना सपनाहरूलाई
लागिरह्यो, कोही आउँछ र
बदल्छ वायुमण्डलको
प्रदूषित बादलका टुक्राहरू
बर्साउँछ गंगाजल
गंगाजल,
जसले ल्याउने छ
हरियाली
भरिने छ कोख
ती बिरुवाको
जो मौसमी असरले
गुमाउन परेको थियो,
ल्याउने छ खुसीयाली
ती कलिला बिरुवाहरूमा
जो जमिन छाड्न सकेका थिएनन्
दुस्मनहरूले,
जर्जर र पत्थर
बनाएको जमिनबाट
अफ्
त्यो बुढो रुख
खेजिरहेथ्यो मुक्ति
वर्षौँदेखि भड्केको आत्मा लिएर
ठडिएथ्यो लाचार भएर
दिनेछन् आशीर्वाद तिनीहरूले
र त
ल्याई छाड्नेछु उसलाई
जसले चमत्कार गरोस्
र फेरिदियोस्
मेरो क्यानभास
भासिएर, गाडिएर
एक ठाउँ बसेको म
उठाउँछु फडा, फिँजाउँछु पखेटा
ल्याई छाड्नेछु उसलाई
जति नै दूर सुदूर जानु परोस्
जति नै दुस्मनको चंगुलमा फस्नु परोस्।