टी-२० विश्वकप २०२६ विशेष
आइसिसी टी-२० विश्वकप २०२६ मा मैदान उत्रिए लगत्तै सोमपाल कामीले इतिहास बनाउने छन्।
उनी नेपाली टोलीबाट सबभन्दा बढी तीन पटक टी-२० विश्वकप खेल्ने एक्ला खेलाडी बन्नेछन्। करिअरको सुरूआत ब्याटरबाट गरेका सोमपाल तीव्र गतिका बलर हुँदै अलराउन्डरको भूमिका छन्।
नयाँ बल लिएर विपक्षीविरूद्ध बलिङमा उत्रने सोमपाल नेपाली टोलीका सबभन्दा अनुभवी खेलाडी हुन्। भारतको पञ्जाबबाट सुरू भएको सोमपालको क्रिकेटर करिअर यस्तो छ :-
पूरा नाम: सोमपाल कामी
जन्म: फेब्रुअरी २, १९९६, गुल्मी
उमेर: ३० वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: दाहिने हाते मध्यम-तीव्र गति
भूमिका: बलिङ अलराउन्डर
टी-२० आई डेब्यू: नेपाल विरुद्ध हङकङ, चट्टोग्राम — मार्च १६, २०१४
३० वर्षीय बलिङ अलराउन्डर सोमपालको बाल्यकाल भारतको पञ्जाबमा बितेको थियो। भारतबाट उनी क्रिकेट खेल्नकै लागि नेपाल फर्किए।
सन् २०१३ को अन्त्यमा १७ वर्षको उमेरमा नेपाल आएका सोमपालले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट गएको १३ वर्ष लगातार खेलिरहेका छन्।
नेपाल फर्किएलगत्तै आइसिसी टी-२० विश्वकप खेल्ने अवसर पाएका सोमपाल नेपालका लागि तेस्रो पटक टी-२० विश्वकप खेल्ने एक्लो खेलाडी बन्दैछन्।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकप खेल्दा पनि उनले इतिहास रचेका थिए। त्यतिबेला सोमपाल दोस्रो पटक विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी बनेका थिए।
अर्को इतिहास नजिक पुगेका सोमपाल भारतमा विश्वकप खेल्ने कुरालाई लिएर निकै उत्साहित छन्। उनका बुबा-आमा भारतमै छन्। बाल्यकालमा भारतमा खेलेका क्रिकेट अब फेरि ताजा भएर फर्कनेछन्।
भारतमा विश्वकप हुँदा नेपालबाट धेरै समर्थक जान सक्न भएकाले पनि सोमपाल भारतमा आफ्नो खेल देखाउन आतुर छन्।
सन् २०१३ मा नेपालले आइसिसी डिभिजन-३ उपाधि जितेको खबर उनले भारतीय पत्रिकामा पढे। आफू पनि नेपाल गएर खेल्न सक्छु भन्ने उनलाई लागेको थिएन। भर्खर भारतको प्रान्तबाट खेल्न छानिएका उनले देशलाई प्रतिनिधित्व गर्ने खेलाडी हुन सकुँला भनेर चिताएका पनि थिएनन्। नेपालमा कसैसँग उनको चिनजान थिएन।
पञ्जाबमा बस्ने अर्जुन अधिकारी फेसबुक साथी थिए। उनले सोमपाललाई नेपालमा गएर क्रिकेट खेल्न सुझाव दिए। नेपाली भाषा समेत शुद्धसँग बोल्न नजान्ने उनलाई अझै आत्मविश्वास थिएन। अर्जुन नै सोमपालको खेल जीवनका अर्का 'टर्निङ प्वाइन्ट' भए। नेपाल आउने बाटो देखाए।
सन् २०१४ मा नेपालले विश्वकपमा डेब्यू गर्दा सोमपाल टोलीका सबभन्दा जुनियार खेलाडी थिए। सन् २०२६ मा नेपालले तेस्रो पटक विश्वकप खेल्दा उनै सोमपाल टोलीका सबभन्दा सिनियर खेलाडी बन्ने छन्।
उनले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा हङकङविरूद्ध खेल्दै सोमपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।
२०१४ को विश्वकपमा सोमपालले हङकङविरूद्ध २ विकेट लिँदा बंगलादेश विरूद्धको दोस्रो खेलमा विकेटविहीन बने। अफगानिस्तान विरूद्धको खेलमा उनले २ विकेट हात पार्ने क्रममा एक मेडन फ्याँकेका थिए।
यस्तै, सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सोमपालले २०१८ मा नेदरल्यान्ड्स विरूद्धको पहिलो एकदिवसीय खेलमा पनि खेलेका थिए।
सन् २०२४ को टी-२० विश्वकप पनि सोमपाल टोलीका मुख्य खेलाडी मध्येमा एक थिए। उनले सन् २०२४ मा तीन खेलमा ३ विकेट लिए। नेदरल्यान्ड्सविरूद्ध १ विकेट लिएका सोमपालले दक्षिण अफ्रिकाविरूद्ध विकेट लिन सकेनन् भने बंगलादेशविरूद्ध २ विकेट लिए।
सोमपालले दुई संस्करणमा टी-२० विश्वकपमा कुल ७ खेल खेल्दै ७ विकेट लिएका छन्। उनी टी-२० विश्वकपमा नेपालका लागि सबभन्दा बढी खेल खेल्न खेलाडी पनि हुन्।
१३ वर्ष नेपाली टोलीबाट खेल्दा सोमपाल अहिले भरपर्दा तीव्र गतिका बलरमात्र नभएर तल्लो क्रमको ब्याटिङमा समेत नेपाली टोलीको आशा बन्ने गरेका छन्।
टोलीमा अनुशासित र मेहनती खेलाडीको छवि बनाएका सोमपालले सन् २०१४ को फेब्रुअरीमा विश्वकप छनोटअन्तर्गत न्युजिल्यान्डमा भएको प्रतियोगितामा युएईविरूद्धको खेलमा उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
गुल्मीको तुराङगमा २०५२ साल माघमा जन्मेका सोमपाल बाल्यकालमै भारतको पञ्जाव पुगेका थिए। सोमपालसँग सुरूआती वर्षमा क्रिकेट खेल्दा लगाउने ड्रेस पनि थिएन। विद्यालयमा आयोजना हुने प्रतियोगिताको लागि सेतो रङको ड्रेस लगाउनु पर्थ्यो। उनले सम्झिए 'त्यसदिन सेतो ड्रेस नभएकाले सरले खेल्न दिएनन्।'
घरमा आएर बुवालाई ड्रेस किनिदिन आग्रह गरे। बुवाले ड्रेस किन्दिनु त कता हो कता उल्टै भने, 'कति धनीका छोराले त क्रिकेट खेल्न सक्या छैनन् हामीले कसरी पुर्याउन सक्छौं। खुरूक्क किताब समाएर पढ।'
उनलाई बुवाको धनी गरिबसँग केही लिनु-दिनु थिएन। सचिन तेन्दुलकर बन्ने नशा चढिसकेको थियो। त्यही नशाले नेपाल आएका उनी अब भने नेपालका महान् क्रिकेटरमध्येका एकमा परिसकेका छन्। त्यसैले त यसै वर्ष भारतमा उनले तेस्रो पटक टी-२० विश्वकप खेलेर इतिहास कोर्दैछन्।
ठूलो दु:खले क्रिकेट सिकेका सोमपाल सन् २०१३ को अन्त्यमा नेपाल आएका थिए।
क्रिकेटर अर्जुन अधिकारीको सम्पर्कमा नेपाल आएपछि सोमपालले पहिलो पटक नेपाल क्रिकेट फ्यान क्लबबाट खेल्ने मौका पाएका थिए। उनले फ्यान क्लबको पहिलो खेलमा डिल्लीबजार क्लबविरूद्ध खेल्दै २ विकेट लिँदा ४६ रन पनि बनाएका थिएl
फ्यान क्लबाट यू-१९ जिल्ला छनोट खेलेका सोमपालले क्षेत्रीय छनोटमा काठमाडौंबाट खेल्ने अवसर पाए। क्षेत्रीय छनोटमा उनी उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान मात्र भएका थिए। क्षेत्रीय प्रतियोगितापछि सोमपालले काठमाडौंबाट यु-१९ राष्ट्रिय प्रतियोगिताको छनोट खेले। नुवाकोट र भक्तपुरविरूद्ध लगातार शतक प्रहार गरेपछि सोमपालको चर्चा चुलिएको थियो।
उनको शतक भलै जिल्ला स्तरीय प्रतियोगिता थियो, चर्चा राष्ट्रिय स्तरमा भयो। सोमपालको खेलबारे तत्कालीन प्रशिक्षक दासानायकेले पनि चासो देखाए।
जिल्ला छनोटमा उत्कृष्ट खेलपछि सोमपालले काठमाडौंको प्रतिनिधित्व गरेर यू-१९ राष्ट्रिय प्रतियोगिता खेले। उनले सेमिफाइनलमा जनकपुरविरूद्ध ६८ रन बनाए र ४ विकेट लिए।
वीरगञ्ज विरूद्धको फाइनलमा ३ विकेट लिएर काठमाडौंलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिए। त्यसपछि सोमापल यु-१९ एसिया कप तथा जर्नी टु वर्ल्डका लागि घोषणा गरिएको नेपालको राष्ट्रिय टोलीमा परेका थिए।
सोमपाललाई सन् २०१४ को जर्नी टु वर्ल्ड कप क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली टोलीबाट खेल्ने अवसर प्रदान गरिएको थियो।
विश्वकप छनोटको तयारीका लागि आयोजना भएको प्रतियोगिता अनौपचारिक थियो। उनले प्रतियोगितामा ४ खेलमा १० विकेट लिएका थिए। त्यही प्रतियोगिताको आधार मान्दै सन् २०१३ को डिसेम्बरमा घोषणा गरिएको राष्ट्रिय टोलीमा सोमपालले पहिलो पटक स्थान पाएका थिए।
सोमपाललाई राष्ट्रिय टोलीमा भने तीव्र गतिका बलरको रूपमा स्थान दिइएको थियो। किनकी त्यतिबेला नेपालको टोलीमा तीव्र गतिको बलिङ राम्रो थिएन। प्रशिक्षक पुबुदु दासानायकले तीव्र गतिको बलिङमा थप मेहनत गर्न सुझाव दिएको सोमपालले अहिले पनि बिर्सेका छैनन्।
सन् २०१४ जनवरी १३ मा राष्ट्रिय टोलीमा डेब्यू गर्दा सोमपालले ओपनिङ बलरको जिम्मेवारी पाएका थिए। युएई विरूद्धको सो खेलमा सोमपालले विकेट लिन भने सकेनन्। उनले ७ ओभर बलिङ गर्दा ३८ रन खर्चिएका थिए। स्कटल्यान्ड विरूद्धको दोस्रो खेलमा भने उनले ३ विकेट लिए। सो प्रतियोगितामा सोमपालले ६ खेलमा ८ विकेट लिए।
त्यसपछि सोमपालले पछाडि फर्केर हेर्नु परेको छैन। नेपाललाई डिभिजन-३ देखि एकदिवसीय मान्यता दिलाउन सोमपालले दर्जनौं पटक विपक्षी खेलाडीलाई पेभिलियन फर्काइसकेका छन्।
नेपालले पहिलो पटक टी-२० विश्वकप तथा एकदिवसीय खेल खेल्दा सोमपाल टोलीका महत्वपूर्ण सदस्य थिए।
अमेरिका र वेस्ट इन्डिज भएको टी-२० विश्वकप २०२६ मा उनी टोलीका भरपर्दा बलिङ अलराउन्डर थिए। अब सन् २०२६ मा टोलीका सबभन्दा सिनियर खेलाडी बनेर टी-२० विश्वकप खेल्ने अभियानमा सोमपाल छन्।
आइसिसी टी-२० विश्वकप २०२६ - टिम नेपाल :-