बिहानीपखको पाँच बजेको हुँदो हो, झुल्के घामका किरणले सुदूर क्षितिजबाट पृथ्वीलाई स्पर्श गर्दै बिहानीको संकेत गरिरहेको छ। मस्त निद्रामा परिकल्पित सपनीको च्यादर ओडेर नतमस्तक हुँदै सुतिरहेको छ कीर्तिपुर। ट्ङग्लाफाटको एक गल्लीको घरको ढोकालाई ढक्ढक्याउदै चिच्याई रहेकी छिन् रीता, ढोका खोल भुन्टेका बा भन्दै।
धेरै बेरको ढोका ढक्ढक्याई पछि ढोका खुल्छ। रीता रिसले आगो भई। श्रीमानको गालामा एक थप्पड हान्दै भनी, ‘श्रीमती कति खेर भट्टीबाट फर्किन्छे भनेर थाहा छैन तलाई, ढोका खोल्न किन यत्रो बेर?’
‘मलाई माफ गर्दिनुहोस् श्रीमती जि।’
‘ल, ल… भो, धेरै नाटक गर्नु पर्दैन। फ्रिजमा राखेको चिसो बियर लिएर आउ, तिम्रो थोप्डा देख्ने बितिकै भट्टीमा खाको सबै उत्रिन थाल्यो।’
‘श्रीमती जि, लिनुस्’
‘अरे एउटा बियर मात्र, अर्को तेरो बाउले ल्याउछ।’
‘फेरि अर्को पनि कति पिउनु गर्दो रहेछ। श्रीमती जि शरीरलाई फाइदा गर्दैन, कन्ट्रोल गरेर पिउनुस्।’
‘लेजेन्ड श्रीमतीहरुले पिउछन्, फेरि लेक्चर किन?
सुन त, टोलमा तिम्रो गाइगुइ हल्ला सुन्छु। आफ्नो ठाउँमा बस है फेरि राम्रो हुने छैन।’
‘के गरेर मैले त्यस्तो? नबिराउनु, नडराउनु’
‘भट्टीबाट फर्किदा सुन्तली तिमीसँग खुब मस्की-मस्की कुरा गर्छे रे नि हो?’
‘श्रीमती जि, तपाई पनि त जुनारे साउजीकोमा रक्सी खाँदै मात्तिदै राति-राति घर आउनु हुन्छ। तपाईको यो बानीले म माथि के बितिरहेको छ, अन्दाज छ तपाईलाई?’
‘सुन्तली मेरो फगत एक असल साथी हो, दुनियाँ नाथे गाउँलेको कुरा सुनेर मै माथि यत्रो शंका (सुक्क, सुक्क)।’
‘सानो कुरोमा नै रोइहाल्नु पर्छ? ल, ल.. भो, धेरै नरोउ, त्यही भएर मलाई पुरुषको जात पटकै मन पर्दैन।’
‘माया, भरोसा, विश्वास नगर्ने भए मलाई किन विवाह गर्नु भयो त श्रीमती जि? म जस्ता लोग्नेहरु कति पाउनु हुनथ्यो तपाईले।’
‘तिमीलाई माया गर्ने भए रै त सोधेको नि लाटा, यति सानो कुरामा नै रोईहाल्नु पर्छ? माया नगर्ने भए तीन-तीन वटा छोराहरु हुँदासम्म केही बोलिनँ, जाबो एउटा छोरी दिन नसकेको झोकमा मैले दोस्रो श्रीमान ल्याउन सक्थे तर पनि ल्याइनँ। तिमीले मलाई यसरी नै झोक चलाउदै गयौ भने दोस्रो श्रीमान ल्याइदिन्छु अनि कुना पस्दै रुनुपर्ला।’
‘भो, भो.. धेरै घुर्क्याउनु पर्दैन बजारबाट आउदा लामखुट्टे मार्ने ब्याट ल्याउनु भनेको थिएँ। ल्याउनु भयो त? कि सधैको झैँ बिर्सेर आउनु भयो।’
‘दुई हत्केलाले मार्ने नि, लामखुट्टेको हत्केलामा निसान छाप हुने गरि।’
‘काम नै के पो छ र तिम्रो? खाली दिनभर सिरियल हेर्यो, फेयर एण्ड ह्यान्सम दल्यो, टिकटक बनायो, बच्चाबच्चीको मत्लब छैन। नक्कल पार्यो, बस्यो, कहिले फ्रेन्च दारी भन्या छ। काठमाण्डौँको जग्गा प्लटिङ गरेको जस्तै दारी प्लटिङ गर्यो, कहिले खेतमा धानको बीउ राखे झैँ कपाल ठाड्ठाडो पार्यो बस्यो, अनेक थरी नक्कल गर्नुको सट्टा आफै गएर ल्याए हुँदैन।’
‘बिर्सिए भने त भैहाल्छ नि, नानाभाती कुरा सुनाउनु पर्छ। श्रीमती जि तपाईलाई हाम्रो घरको काम कामै हैन, जागिर गरेर पैसा कमाउने काम मात्र काम हो जस्तो लाग्छ है। यदि यो समाजले घर गृहस्थी गर्ने पुरुषहरुलाई तलब दिने व्यवस्था गरेको भए महिलाहरु जस्तै पुरुषहरु पनि सक्षम हुने थिए।
घर, परिवार, संस्कार, परम्परा, रितीरीवाज समाल्ने खाली पुरुषको पेवा जस्तो हुने थिएन। कहिले काही मातृसत्ताको दमन, अत्याचार देखेर यस्तो दिक्क लाग्छ कि सबै सामाजिक बन्धन तोडेर महिला जस्तै स्वतन्त्र जिन्दगी बाचौँ जस्तो लाग्छ।
घरको काम कहिले सघाउने हैन, खाली राजनीति, समाजसेवा, साथीभाइ भन्दै जहिले कुर्देको छ, कहिले परिवारलाई समय दिने हैन। श्रीमती जि, अब अति भो धैर्यताको बाध टुटी सक्यो, मैले मात्र घर-परिवारको जिम्मा लिएको छैन। घर परीवारको लागि मरी-मेटेर काम गर्छु, श्रेय जति सबै तपाईलाई हुन्छ।
यसो कहिले काही लुगा फेरेर बजार तिर निसक्यो, एउटा जाबो छोरी दिन नसक्नेले श्रीमतीको कमाई खादै फेसन गर्दै हिड्छ लठुवा, नालायक भन्छ समाजले।
हिजो बेलुका आमाले खाना मिठो पकाउदैन मेरो छोरो। खाली फ्याङ फ्याङ हिड्छ, प्वाक-प्वाक बोल्छ, बुढा-बुढी भएको बाउ आमाको अगाडि बिजुलीको पोल जत्रा तिग्रा देखाउदै हापाइन्ट लगाउदै बस्छ। एक नम्बरको संस्कार नभएको छ भन्दै गाली गर्दै थिइन्। जति छोटा लुगा लगाउदा पनि महिलाले केही नहुने। हामी पुरुषहरुले घुडासम्म आउने लुगा लगाउदैमा संस्कार नभएको हुने यस्ता आडम्बर संस्कार देख्दा तीन छक्क पर्छु।’
‘हेर श्रीमान, मातृसत्ता भएको समाजमा पुरुषहरु मकैँ जस्तै हुन्। पानी घट्टमा पिसिदै जान्छन्, चाहेर पनि म केही गर्न सक्दिनँ, सामाजिक संरचनाबाट नै महिलाहरु स्वतन्त्र छन म के गरौँ?
पुरुषहरुको पक्षमा बोलौँ भने भोलि समाजले कस्तो लोग्ने टिग्रे भन्छ।। श्रीमान, तिमी मातृसत्ताको दमन बारे आफ्नो ठाउँ, क्षेत्रबाट विद्रोह गर्न सक्छौ, मलाई यति पनि थाहाँ छ कि तिमी जस्ता लोग्नेहरुको विद्रोहले हाम्रो समाजमा सानो माखो पनि मर्ने छैन। हुन त सिद्धान्तका कुराले मुखमा माड लाग्दैन, सिद्धान्तका कुराहरु भनेका केबल बुद्धि विलासको माध्यम मात्र हुन्। श्रीमान, मैले तिमीलाई मेरो गुलाबी पेटिकोट, चोलोमा आइरन् गर्देउ भनेको थिएँ, गर्देउ?
दस बजे पार्टी कार्यलय जानु थियो, अस्ति टुच्च देको बेलामा गुहेश्वरीदेखि गौसलासम्म रेल हाल्नुपर्छ भनेर साथीहरुलाई यसो पूर्व-योजना सुनाएको त संसद् भवनमा विपक्षी पार्टीका दलले प्रश्न उठाका छन् रे। यसरी नै चौतर्फी विरोध भयो भने पक्कै सरकारले योजना पारित गर्छ। त्यसपछि त तिमी महलको राजा झैँ बसैला नि।’
‘श्रीमती जि, यत्रो छोटो दूरीमा रेल हाल्न जनताले मान्लान् जस्तो मलाई लाग्दैन। कसरी मनाउनु हुन्छ जनतालाई?’
‘किचन समाल्ने जातले राजनीति विषयमा प्वाक नबोलेकै जाति हुन्छ। धर्ममा राजनीति गरेपछि जनताले नमान्ने कुरै हुँदैन। जनताकै हितको लागि हो रेल।
कोरोना भाइरसले आतङ्कित भएका जनतालाई रेल चडाएर पशुपतिनाथको दर्शन गराउनुको साथसाथै पशुपतिनाथको परिक्रमाका गराउदै, जनताको मनोबल उच्च पार्न निशुल्क रेल चडाउछौँ भनेपछि जनता मख्ख भईहाल्छन्।
निशुल्क भनेपछि नेपाली जनताले रेल चड्न पक्कै नाई भन्दैनन्। निशुल्क रेल चडौँ अभियान सफल भएपछि जनतालाई निशुल्क रेल चडाएर देशको ढुकुटी रित्तियो भन्दै आर्थिक संकटकाल घोषण गर्छौँ।
जनताहरु सरकारको विरोध गर्न थाल्छन्, त्यति नै बेला पार्टीले जनताका शारीरिक तथा मानसिक अवस्थालाई मध्यनजर गरि देशको ढुकुटी सकिने गरि मनोभावना उच्च बनायो, रेल हालेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्यायो भन्दै पार्टीको प्रचारप्रसार गर्दै बहुपक्षीय फाइदा देखाएपछि जनता पनि मख्ख, देशप्रेमी श्रीमती देखेर श्रिमान् पनि मख्ख।’
‘भो पर्दैन मख्ख पार्न श्रीमती जि, पोहोर सालको योजनाको ठेक्का जति भूतपूर्व प्रेमीको भाइलाई दिनु थियो। यसपालीको योजनाको ठेक्का पनि दिन के बेर।’
‘त्यति बेला राजनीतिक दवाब अलि त्यस्तै थियो के, बुझ्ने कोशिस गरन श्रीमान। यो सालको सबै ठेक्का तिम्रो बैहिनीहरुलाई दिन्छु पक्का।’
‘श्रीमती जि, मेरो दुबै बहिनीहरुका श्रीमानलाई पनि जागिर चाहिएको छ भन्दै थिए।’
‘रेलको टिकट काट्ने ठाउँमा काम लगाइ दिउला, चिन्ता नगर तिम्रो सात पुस्ता उकासौला भएन।’
‘श्रीमती जि, अफ्रिकन माहासंगको नेपाल स्थित कार्यलयले आज पुरुषहरुको स्तर उन्नतिको लागि भनेर बालुवाटारमा पुरुष सशक्तिकरण कार्यक्रम गर्दैछ, संसद भवन अगाडि पुरुषहरुले अर्धनग्न जुलुसमा लजान्छु है?’
‘किन जानु पर्दैन। अस्ति दक्षिण सुडानको फन्डबाट आयोजना भएको दुई दिने पुरुष हिंसा सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा खुब प्रवचन दिदै थियौ रे, मैले के नै हिंसा गरेको छु गएर फाकिन?’
श्रीमान तिमीलाई एकचोटी भनेपछि लाग्दैन है, योजना पारित भएपछि राजा भएर बसौला भने त मैले, किन गर्नु पर्यो? जाबो बीस, तीस हजार आउने काम। कस्तो होला यो पुरुष भन्ने जात, खाली सानो-सानो कुरोमा किच-किच मात्रै गर्ने।
श्रीमान, जाउ एक गिलास ककटेल बनाएर ल्याउ। आँत खरो भएर आयो, यसो टुच्च लगाउदै भ्रष्टचार गर्ने योजना बुन्नु पर्यो।’
‘मलाई सारै अल्छी लागेको छ श्रीमती जि।’
‘हुन त साउनमा हरिया चुरा, मेहेन्दी लगाएर खुसी हुने जातलाई ककटेल बनाउन के जाँगर लाग्छ त?’
मानव समाज विकासको अन्तिम चरणमा प्रवेश गर्दै थियो, मातृसत्तात्मक शासन व्यवस्थाले पीडित, पिछडिएका वर्गलाई विशेषाधिकार सहितको सामाजिक न्याय प्रदान गर्दै अपहरण, लुटपाट, चन्दा आतंक, हत्या, बलत्कार जस्ता जघन्य अपराधहरु नभएर शब्दकोशबाटै यी शब्द हटाइएको थियो। सबै तिर असल नागरिक तयार गर्न सर्वसुलभ मातृसत्तात्मक शिक्षाको व्यवस्था गरिएको थियो।
घडीको अलार्मले आँखा खुल्छ, बिहानीपखको मिर्मिरे उज्यालोलाई चिरेर मातृसत्तात्मक राज्य व्यवस्थालाई ढाल्दै पितृसत्तात्मक राज्य व्यवस्था लागु भईसकेको हुन्छ।