बा,
म कसैमाथि अन्याय
गर्न सक्दिनँ
सक्दिनँ म
ढाल्न कसैका
छोराछोरी।
बा,
गर्नु छैन मलाई
झुटको खेती,
खरानीको राजनीति।
बा,
म फर्काउन सक्दिनँ
रङ्गिन सपना बोकी
उडेकाहरू
काठको बाकसभित्र।
बा,
मलाई ठुलो मान्छे
बन्नु छैन
त्यो तुच्छ
राजनीति गर्नु
मन छैन।
गर्नु छैन मलाई
भावनाको खेती
छैन,
मलाई कसैको
टेक्नु छाती माथि।
हो बा,
सहन सक्दिनँ
म,
कसैको
तुच्छ बोली।
गल्लीको धुलोले
मेरो नाम नछोपोस्
तर उज्यालोमा
सम्मानले
मलाई चिनोस्।
बा,
मलाई गाली खानु छैन
कसैका छोरा
बेच्नु अनि ढाल्नु छैन।
धरोहर जलाएर
सिंहासन चढ्नु छैन
पतनको बाटो
म रोज्न सक्दिनँ।
त्यसैले बा,
म शान्ति रोज्छु
सत्ता होइन
म मानवता रोज्छु
राजनीति होइन।