समानताको लागि लडेको भन्छ
तर जनतालाई ऊ रैती देख्छ
सबै हामी बराबरी भन्छ
अनि
ऊ सधैँ माथि पर्छ
छैन त दंग पर्नु पर्नु?
उसैले नौलो क्रान्ति गर्छु भन्छ!
घुमिफिरी चुनाव आउँछ
घुम्दै फिर्दै ऊ हाम्रो दैलो चहार्छ
निलो मसीको उत्सव सकिन्छ
अनि
ऊ नदेखे झैँ गर्न मुन्टो बटार्छ
छैन त दंग पर्नु पर्नु?
उसैले लोकतन्त्र जिन्दाबाद भन्छ!
सर्वहाराको नेतृत्व भन्छ
दशकौँ ऊ आफैँ सत्ताको मदमा बस्छ
लोक कल्याणकारी राज्य बनाउँछौँ भन्छ
राज्य सत्ताको दोहन ऊ आफै गर्छ
अनि
करको तरमा बुर्कुसी मार्छ
छैन त दंग पर्नु?
उसैले करदलाई बेकम्मा भन्छ!
श्रावणमा उसले वसन्तको गफ दिन्छ
वसन्तमा बाढीको डर देखाउँछ
मूर्खको संगत गरी सज्जनलाई सताउँछ
अनि
जनताले चुनेको नेता हुँ भन्छ
छैन त दंग पर्नु पर्नु?
कटक गर्दै देश बनाउँछु भन्छ!
कालोलाई कालो भन्न हुन्न भन्छ
सेतोले आँखा तिरमिराउँछ भन्छ
नहेरे पनि देखिन्छ, चिम्म गर भन्छ
अनि
क्लिष्ट लेख्ने बोल्नेलाई पख्लास् भन्छ
छैन त दंग पर्नु पर्नु?
प्रतिपक्षमा हुँदा उसैले सूचनाको हक खोज्छ!
फाँटमा ऊ काँस हुँ भन्छ
सालको जंगलमा धमिरा बन्छ
हिमाल झैँ सधैँ अडिग छु भन्छ
छिमेकीका सामु दूती बनी पिलित्तै पग्लन्छ
अनि
आफ्नै मौलिकता भुसुक्कै बिर्सन्छ
छैन त दंग पर्नु पर्नु?
उसैले फेरि संस्कृति जोगाऔँ भन्छ!