Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, पुस १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

प्रेमरंग

रेणुका जिसी

रेणुका जिसी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

हरेक रात घटने र बढ्ने, एक रात पूरै हराइदिने, एक रात पूरै झुल्कने, अहँ! चन्द्रमा मलाई मन पर्दैन। मलाई तिमी नभएको एक पल पनि स्वीकार्य छैन। न त आधाउधी भागमा चित्त बुझाउनु छ। मलाई त तिमी सग्लो पाउनु छ। न कुनै दाग देख्नु छ न त टाढाबाट हेरेर गुनगान गाउनु छ।

मलाई त चुर्लुम्म डुब्नु छ त्यो हृदयसागरमा, कहिल्यै नउत्रने गरी। हिउँ मिसिएझैं नदीमा, नदी मिसिएझैँ सागरमा मिसिनु छ तिमीसँग। धड्किनु छ श्वास बनेर तिम्रा धमनी र शिराहरुमा ताकी आधुनिक विज्ञानका कुनै आविष्कारले पनि सकुशल छुट्याउन नसकुन् तिमीबाट।

रहर त तिम्रा यावत कमजोरीहरु र तिम्रो सक्षमता, तिम्रो संघर्ष र सफलता सबै-सबै बाँड्ने छ। हरेक बिहान तिम्रो नयनमा हेरेर आफैलाई भेट्ने छ। हरेक रात तिम्रो छातीमा शिर टाँसेर आफैलाई भुलिदिने छ। तर मलाई न त चाँदनी बन्नु छ न तिमीलाई चन्द्र बन्न दिनु छ।

तिम्री रोजी। लभ रियाक्ट र कोष्ठक भित्र कति रहर-रहरकै रुपमा छाडिदिनु पर्छ अनि पो रहरको गरिमा बढ्छ। च्याटबक्सको माथि बीस मिनेट अगो देखाइरहेको थियो। 'सधैँ यसैगरी माया गर ल मेरी चाँदनी!' मेरो यही मेसेजको रिप्लाइमा उसले यसरी प्रेमिल भाव पोखेकी थिइ। सजिव हुन्थ्यो भने उसका हृदयको तरलताले यो मोबाइल पनि कैँयन पटक भिजिसक्थ्यो। मोबाइल त भिज्दैन तर म सधैँ निथ्रुक्क हुन्छु।

पढिसक्दा मुस्कुराएँ। शरीरमा अनौठो भाव संचारित भयो। 'काली' टाइप गरेँ। सेन्ड बटम थिचेँ। सोफाबाट उठेँ, बाथरुमसम्म पुगेँ। ऐनामा हेरेँ आफैलाई। मुस्कुराएँ। निधारैमाथिको केशले हल्का चामलको रङग चोर्दै छ। अर्कोतर्फबाट केश तानेँ। छोपछाप पारेँ र फर्केर फेरि सोफामै बसेँ।

नेट्फ्लिक्स्मा पज गरिएको सिरिज प्ले गर्नै सकिनँ। मोबाइल हेरेँ। मेसेज बक्समा पच्चीस मिनेट अगो देखायो। अब फेसबुकमा छिरेँ। आफ्नो नोटिफिकेशन पैतालिस पुगिसकेछ, त्यती मात्र हेरेँ। सर्च थिचेँ। थिच्दा बित्तिकै देखिन्छ उसको नाम।

दुई दिनअघि प्रोफाइल पिक्चर परिवर्तन भएको हो उसको। लाम्चो चेहरा, मिलेका दाँत, न काली न गोरी वर्णकी हेर्दा हिस्सी परेकी छे। उसैले भनेकी, कपाल छोडेरै हिँडन मन पर्छ। बाध्दा मनै बाधिएजस्तो लाग्छ। सेतो कुर्ता सलवारमा अलिकति उडेको सल, अलिकति उडेको कपाल अनि उसको मधुर मुस्कान। अग्लो डाँडामाथि खिचिएको यो तस्बिर मनै लोभ्याउने छ।

Laxmi bank
Laxmi bank

हिजोसम्म बाइस प्रतिकृया थिए, आज चौतीस भएछ। प्रतिकृया लोडिङ देखायो। केही प्रतिकृयाको रिप्लाई गरिछे। सबै प्रतिकृयामा लभ रियाक्ट पनि। केही प्रतिकृया नयाँ थपिएछन्। प्रायः प्रतिकृया स्टिकर वाला हुन्छन्। अटो आउँछन्। थिचे पोस्ट भैहाल्यो। त्यही भएर यस्ता बनिबनाउ प्रतिकृया खास लाग्दैन।

यो मुस्कानको राज के हो? सिंगलबाट मिंगल कहिले हुने? झन् झन् जवान! यी प्रतिकृयाहरु पढेर खुसी भएँ। रहस्यमय मुस्कान हृदयभरि छायो। मिल्ने भए यी सबैमा लभ रियाक्ट मैले पनि गर्ने थिएँ। प्रतिकृया हेर्दाहेर्दै मेरो आँखा टक्क रोकिए, मनमा चिसो पसेजस्तै भयो। 'आहा! परीजस्तै स्वप्नपरी' सँगै लभ रियाक्ट गरिएको यो प्रतिकृया पढदा बित्तिकै रिस उठेजस्तो भयो। नमिठो केही गन्ध पनि आयो, सायद मन जलेको हुनुपर्छ।

Ncell
Ncell

सबै सुन्दर कुरा सबैले सबैलाई भन्न मिल्दैन नि! कमेन्टमा क्लिक गरेँ, जनक पौडेल नामको मुहारपुस्तिका खुल्यो। अनुहार हेर्न मन नलागी नलागी हेरेँ। खास राम्रो होइन है मान्छे त। केही म्युचल फ्रेण्ड रहेछ्न् मेरा पनि। म्यारिज स्टाटस सिंगल देखेँ। मनमा अचानक बादल लागेको जस्तो भो। फेरि ब्याक भएँ। कमेन्ट बीस मिनेट अगाडि गरेको रहेछ। रोजीले अहिलेसम्म कमेन्ट देखेकी छैन, ढुक्क भएँ।

देखेकी भए के गर्थी होला? अब के गर्छे होला? मिल्ने भए उसले देख्नुअघि मैले डिलिट गरिसक्थेँ। के डिलिट मात्र नि त्यसलाई ब्लक नै गरिदिन्थेँ। त्यो पढेर के रियाक्ट गर्ली? को होला त्यो मान्छे? उसका कोही साथी आफन्त प्रत्यक्ष नभेटेपनि सबै चिनिसकेको छु। यो मान्छे को हो? सम्झने प्रयास गर्छु।

यसको बारेमा उसले त यसअघि कहिल्यै केही बताएकी छैन। किन लेख्यो होला? मनमा प्रश्नहरु एकपछि अर्को गरेर आइरहे। घरीघरी मोबाइल थिच्दै त्यो कमेन्ट हेर्दै गरेँ। थियो त सामान्य प्रतिक्रिया तर मन असामान्य बनाइदियो।

कसरी जोडियौँ जोडियौँ। सामान्य नमस्कारबाट सुरु भएको कुराकानी अहिले सम्बोधन बिना नै सुरु हुन्छ, घण्टौँ चल्छ र कठिनले अन्त्य हुन्छ। कतै बढी पो हुने होकी, अर्को अर्थ पो लाग्ने होकी भनी भनी सोचेर दुई वाक्य बोल्ने, आज ए यस्तो पनि बोल्यौँ है! बोलीसकेपछि मात्र सोच्छौँ। मुखले एक शब्द नबोली आँखा र ओठलाई उनीहरुकै लयमा घण्टौँ छोडिदिन्छौँ।

हामी बीच बोल्न कुनै विषय त बाँकी रहेनन् तर कुरा सधैँ बाँकी नै रहन्छन्। घण्टौँ बोलेर फोन राख्दा बित्तिकै फेरि बोलौँ जस्तो लाग्ने, घण्टौँ हेरेर मोबाइल राखिसक्दा फेरि देखूँदेखूँ जस्तो हुने। ध्यान, चेतना, चिन्तन उसैतिर केन्द्रित भएको छ। ऊ अनलाइन हुँदा उसको अनुहार हेरेर मुस्कुराउँछु, ऊ अफलाइन हुँदा उसको तस्बिरहरुसँग संवाद गर्छु।

उसले लेखेका एक-एक अक्षरहरुलाई महशुस गर्छु। रसै रसले भरिएका जलेवी जस्तै लाग्छन् उसका शब्दहरु। मेसेज डिलिट गर्नुअघि हात काप्छन्, मन कुँडिन्छ। सबैभन्दा कठिन काम यही त हो।

'रोजी तिमीले कसरी मेसेज डिलिट गर्छ्यौ?'

'किन डिलिट गर्नु र? कसले देख्छ र मेरो मोबाइल, कसलाई पो लुकाउनु छ र?'

'गर्दिनौ त?'

'गर्दिनँ त, तिम्रो याद बाहेक मसँग भएको सम्पत्ति यही त हो। मेरो जीवनभरको कमाइ। जब तिमी व्यस्त हुन्छौ, यिनै मेसेज पढ्छु। तिम्रा हरेक शब्दको स्पर्शले आनन्दित हुन्छु। कहिलेकाहीँ त सुरुआतदेखि नै पढ्छु। कसरी सुरु भयो हाम्रो बोलचाल कसरी सुरु भयो प्रेम। अहो! यो सिलसिला...'

'काली' मसँग लेख्न यो बाहेक अर्को शब्द नै हुँदैन।

अनुभूत गरिएका जति सबै कुरा शब्दमा पनि त अट्दैनन्। कैँयन शब्दमा नअट्ने अनुभूतिहरु 'काली'मा अट्छन्।

मेसेज बक्स हेर्छु, उ अझै उदाएकी छैने। घडी हेर्छु। उसको अफिस सकियो। अबको केही समयमा घर आइपुग्छे। अफिसदेखि घर सात किमी, उसको गती बढीमा चालिस आइ त हाल्छे, मनमनै खुसी हुन्छु। फेरि क्षणभरमै डर लगेको जस्तो हुन्छ, त्यो प्रतिक्रियामा लभ रियाक्ट गरी भने!

थ्यांक यू लेखी भने! मनमा चिसो छाउँछ। यो चिसो बाहिरबाट आएको होइन, भित्र मनभरि नै चिसो छ, डर पनि त छ, त्यही जागेको हो। कुनै दिन मैले उसलाई गुमाउने छु। यो सिलसिला बन्द हुने छ। सोच्दासोच्दै हृदयमा ढुंगा राखेर उहिल्यै सोधेथेँ।

'रोजी, तिमी किन बिहे गर्दिनौ?’

'ओ बेहुला! दौरा सुरुवाल लगाउँछौ की कोट पाइन्ट!'

'उस्! यसरी कति दिन चल्छ त जिन्दगी?’

'अहिले चलेको मात्र छ र दौडेको छ, तिमी नथाकुन्जेल दौडन्छ।'

'प्रेम गरेर नि कोही थाक्छ लाटी!'

'अनि?'

'मेरो प्रेम तिमीलाई बाधा नबनोस्, तिम्रो जीवन सबै रंगले भरियोस्। म यही चाहन्छु।'

'तिमी त मेरो उर्जाको श्रोत हौ। तिमी आएपछि जीवनमा सबथोक पाएकी छु। प्रेमरंगभन्दा सुन्दर दोस्रो कुनै रंग छैन। यो सुन्दर रंगले आफूलाई सजाएर भरिपूर्ण भएकी छु। बाँकी सिन्दुर पोतेको रंग! किनीराख न त।' एउटा आँखा चिम्लेको इमोजी पनि आउँछ।

म दुईटै आँखा बन्द गरेर उसलाई बेहुलीको रुपमा आफ्नो अगाडि उभिएको पाउछु। यो सपना म कसरी देख्न सक्छु! अहँ सम्भव छैन। हतार हतार टाइप गर्छु।

'मबाट हुँदैन।'

'थाहा छ र मेरा लागि जरुरी नि छैन। तर नहुने कुराको सुरुआत किन गर्छौ? जे हुन्छ त्यही गर। अब आइन्दा यो कुरै ननिकाल।'

'ठुस्की'

लामो पर्खाइपछि 'हजुर!'

त्यो दिन सन्तोषको श्वास फेरेको थिएँ। चाहना त छ सँधै सन्तोषको सास फेरिरहूँ। तर मन नै हो शंका उपशंकाले घेरीरहन्छ। कहिलेकाहीँ असुरक्षित महशुस गर्छु। ऊमाथि अन्याय गरिरहेछु जस्तो लाग्छ। मलाई उसको बानी भैसकेको छ। ऊ नभए म कमजोर हुन्छु। कसरी म सधैँ उसलाई पाइरहन सक्छु। विकल्पहरु खोजिरहन्छु। सबै छोडेर उसैसँग घरजम गरुँ। आनन्दले बसूँ। मनले पटक-पटक यसो भनिसकेको छ। आखिर केले रोकेको छ मलाई?

उसो त हाम्रो बीचमा बाँकी रहेको यही सम्बन्धलाई औपचारिकता दिने काम मात्र हो। के भो त प्रेम र युद्धमा सब जायज भन्छन्। मलाई पनि त्यस्तो ठूलो समस्या के नै छ र? बीस वर्ष अघिदेखि नै दुलारीको र मेरो सम्बन्ध उसको सिउदोको सिन्दुर र गलाको पोतेमा मात्र अडिएको छ। चित्त दुखाउँदा दुखाउँदै उसको चित्त पनि के बाँकी रह्यो होला र अब दुखाउन!

छोराछोरी मेरै हुन्। देहातबाट ल्याएर राजधानी राखेको छु। अभाव हुन दिएकै छैन। शिक्षा दिक्षा दिएकै छु। त्यो पनि छोरी आकृति अब अलिक बुझ्ने भएकी छे। मसँग घुलमिल हुन थालेकी छे। आमासँगको सम्बन्ध थाहा छ। एकदुई दिन रिसाउलान्। अनि ठीक भैहाल्छ नि।

महेश्वर! अँ के भन्ला र उसले? नातोले सालो भएनी साझेदारी व्यवसायले धेरै पटकसँगै हिँडेको छु। ‘मलाई मेरा बाले र तेरा बाले ठगे’ भनेर उसैसँग रोएको छु। ‘के हो भेना चिट्ठा त गजब परे जस्तो छ नि!’ युवतीसँग लजबाट निस्कदैँ गर्दा उसैले त मुस्कुराउँदै भनेको।

दुनियाँसँग के डराउनु, उनीहरुको कामै भन्ने त हो। केही न केही त अहिले नि भन्छन्। कुनै महिला कर्मचारीसँग हाँसे भने मात्र अरुका आँखा चम्कन थाल्छन्। काम विशेषले महिला सहकर्मीसँग हिँड्दा उसैसँग नाम जोडिदिन्छन्। सधैँ बैँकको क्वाटरमा बसेर भान्सेले पकाएको खाएर के बस्नु? अब सोधपुछ पनि कल्लाई गर्नु र? न मेरो कोही अभिभावक। न अरु कोही।

मैले पटक-पटक यसअघि पनि सोचेकै थिएँ तर निष्कर्षमा पुग्न डर लाग्थ्यो। आज भने मनले निचोड निकाल्यो। बिहे गर्छु। बस्दाबस्दै मिठो कल्पना आयो। म यसरी एक्लो हुनेछैन। यो कोठाभरि अब रोजीको बासना चलिरहनेछ। साइडमा राखेर घोषित रुपमै निर्धक्क हिँडन पाउनेछु। अरु जस्तै घर फर्कन हतार मलाई नि हुनेछ। प्रोफाइल पिक्चरमा उसको र मेरो तस्बिर, यो भान्सामा उसको र मेरो मनपर्ने परिकार...।

मेसेजको भाइब्रेसनले ध्यान भंग भयो। मेसेज उसैको थियो।

'दिनभरिमा मात्र एक शब्द... कति छुच्चो! बिदाको दिन कस्तो रह्यो त?'

जवाफको रुपमा मेरो मनमा लेख्नलाई कति शब्द छन्, भन्नलाई कति कुरा, औँला र मनको गति मेल खादैन। के गरुँ कसो गरुँ हुन्छु। मलाई आफ्नो निर्णय सुनाएर उसको अनुहारमा फुलेको खुसी हेर्न हतार भैसकेको थियो। मैले टाइप गर्छु 'बेडरुममा आउ, हेरुम्!'

'यहीँ छु।'

‘ओके’ कल थिच्छु। मेरो तस्बिर सानो भएर एक कुनामा बस्छ। ऐना जस्तै। मोबाइलको स्कृनभरि ऊ भरिएकी छे। मलाई हतार थियो भनिहाल्न।

'सरप्राइज!'

उसका आँखा चनाखा भए। ‘के?’ ओठ खोली।

'हामी बिहे गर्दैछौँ।'

'हा हा...' मज्जाले हाँसी, म यहीँ हाँसो हेर्न त चाह्न्थेँ।

उसको हाँसेको तस्बिर मोबाइलमा अड्किरह्यो। उफ! कस्तो बेला नेट गको! गए जाओस्, के भो त मेरो मनमा त बिजुली बलिहाल्यो। उसको हाँसोमा उसको स्वीकृती छ। आखिर को केटीलाई चाहना हुन्न बिहे गर्ने, घरवार बसाउने!

रोजीको आगमनपछि मेरो जीवनमा खुसीको आगमनको सुरुआत नै भएको छ। ऊ अघि धेरैसँग तन जोडेँ। कहिल्यै तृप्त भइनँ। मन जोडिनुको आनन्दै बेग्लै। साथीहरु पनि अकस्मात! म भेज भएको देखेर छक्क छन्। अचम्म त म पनि छु। मनभरि नानाथरी सोच बोकेर घण्टौँ बारमा बिताउने, आफ्नो एक्लोपन दूर गर्न नानानौरंगका साथीलाई बोलाएर वाइन बाड्ने लथालिथिङ्गको दैनिकी अहिले सम्झदा सपना लाग्छ।

अचम्म त म आफै चन्चल चुलबुल भएको छु। कस्तो देखिएँ, ऐना हेर्न थालेको छु। दिनहुँ सेभिङ्ग, सबेरै वाक, ग्रिन टी, रोमान्टिक फिल्म, बाटोमा एक्लै पनि खुलिरहेको मुस्कान, सेल्फी खिचेर इन्स्टामा पोस्ट, सबैलाई बर्थडे विस, प्रोफाइल पिक्चर र पर्फ्यूमको फ्लेबर चेन्ज भैरहनु, म कहाँबाट कहाँ आइपुगेको छु।

रोजी, उमेर पो त सानो तर परिपक्व छे। सबैलाई केयर गर्ने, सबैको रोजाइको ख्याल गर्ने। कस्तो गज्जबको च्वाइस छ उसको। आकृतिको जन्मदिनमा मैले दिएको उपहार रोजीकै रोजाइ त थियो। त्यही उपहारले वर्षौँपछि मेरी छोरी मेरो अंगालोमा आइ। आज मलाई मेरी छोरी फिर्ता मिलेको छ। अलिकति भएनी मेरा कुरा सुन्ने बुझ्ने सम्मान गर्ने भएकी छे।

बिहेको कुराले आकृति रिसाइ भने पनि रोजीको बानीले नै प्रभावित हुनेछे। नेट आयो। कहिलेकाहीँ खुब आँखा झिम्काउँछ नेटले पनि। पुनः कल गरेँ।

'नेट गयो नि'

'डाटा अन गर्न सकेनौँ।'

'लोभी छु नि त।'

'अब आफै पनि भन्ने भयौ हैन! हा हा...'

'प्यारी अब तिम्रो हाँसोले यो घर गुन्जनेछ, सधैँ हाँसिराख ल।'

'हँ' अब भने ऊ गम्भीर भइ, 'ओए काले, ज्वरो त आको छैन नि?'

'उहुँ छैन त। किन?'

'किन मजाक गरेको त?'

'मन खिन्न भो। मेरो आँखामा हेर, के मजाक जस्तो लाग्छ? सिरियस्ली भन्दै छु।'

'पागल'

'पग्ली'

'बिहे गर्ने ल!'

'किन?'

'सधैँभरि सँगै रहन, सधैँभरि प्रेम गर्न'

'तिमीलाई के भयो अचानक?'

'म तिमीलाई गुमाउन चाहन्न। हाम्रो प्रेमलाई जोगाइरहन चाहन्छु। बिहे गर्ने ल!'

ऊ केही बोल्दिन, उसका आँखा एकोहोरो मलाई हेरिरहेका जस्ता लाग्छन्। सोचेथेँ बिहेको कुरा सुन्दा बित्तिकै कति खुसी होली, कति योजना बनाउली तर...

केही समयपछि बोल्छे 'ओए काले, तिमी अर्की बिमला बनाउन खोज्दै छौ। असम्भव! बाबा, म जसलाई चरम घृणा गर्छु, उसैजस्तो बन्न सक्दिनँ।'

खेल्दा खेल्दैको खेलौना भाँचिएपछि खिस्रिक्क परेको बच्चो जस्तै हुन्छु।

बिमला पहिले उसको ड्याडीकी सेक्रेटरीपछि श्रीमती। उसैले भनेकी 'बिमलाको आँगमनपछि हाम्रो परिवारको सबथोक खोसियो। मेरो भागबाट ड्याडीको काख खोसियो म र मामु अलग बस्यौँ। मामुको आँसुसँगै ड्याडी प्रतिको माया र सम्मान पनि बग्दै गयो। मामुको आँखाबाट आँसु अझै खस्छन् तर मेरो नजरबाट उनीहरु त्यती तल खसेका छन् की अब त्यहाँबाट खस्ने ठाउँ नै छैन।'

म लाचारी प्रकट गर्छु।

'प्यारी! म तिम्रो प्रेम सधैँभरि चाहन्छु। यसका लागि बिहेभन्दा अर्को विकल्प के छ र?'

'प्रेमका लागि विवाह अनिवार्य छ र? विवाह त गरिसकेका छौ। घरमा श्रीमती छिन्। जाऊ न त उनैलाई प्रेम गर।'

झनक्क रिस उठ्छ, मलाई यी शब्दहरु सुन्न पटक्कै मन हुन्न। उसले बाहेक अर्को कोहीले यी शब्द भनेको भए मेरो मुखभन्दा पहिले हात उठ्ने थियो।

'रिस उठ्यो? जे होस् रिसाउँदा पनि मान्छे ह्यान्सम देखिने हो तिमी।' फकाउने शैलीमा आइहाली।

भित्रदेखि आफै बोली निस्कन्छ 'काली'

'हजुर, रुक ल।'

मोबाइलको स्कृन हल्लिन्छ। ऊ बेडमा देखिइ। अघिसम्म अनुहार मात्र देखिएको थियो, अब स-शरीर देखिइ। त्यो पनि पलेटी कसेर बसेकी काखमा सिरानी राखेर। मन न हो, सिरानीसँग नि जल्छ।

'म्यानेजर साब! उमेर पचपन्न तिर, मन किन बचपनतिर नि! चालिसे लागेका आँखाले के रंगीन सपना देखेको! मलाई जीवनभर बिहे नै गर्नु छैन। तिमीसँग पनि गर्नु छैन। धोका, कैद जस्तो जिन्दगी, अपमान, अनेक लान्छ्ना बाहेक बिहे गरेर तिम्री श्रीमती र मेरी मामुले के पाए? या बिमलाले के पाई! उस्तै दैनिकी, उस्तै काम। एउटी फिरन्ते केटीले आज मेसिन जस्तो दैनिकी बिताइरहेकी छे।

विवाहले मामु, बिमला र तिम्री श्रीमती सबैलाई त बन्धक बनाएको छ। मैले गर्छु भनेर तिमीसँग प्रेम गरेकी होइन, भएको हो। प्रेमका लागि न उमेर, न समय, न समानता, न योजना नै चाहिदो रहेछ। यो त आफै हुँदोरैछ। जसरी जोडियौँ हामी। जसरी एक अर्कालाई बुझ्दै जाँदा पतिवर्तन भयौँ हामी। तिम्रो कुण्ठा, तिम्रो अनुभूतिले कतै न कतै ड्याडी प्रति म पनि नरम बनेकी छु।

विवाह मेरो लागि एउटा सुन्दर सपना हो। आफैलाई हानी गर्ने सपना, सपना नै रहिरहोस्। विवाह मेरा लगि एउटा सुन्दर रहर हो जसलाई रहरकै रुपमा राखेर यसको गरिमा बढाइदिन्छु। म त प्रेम गर्छु तिमीसँग। प्रेम प्रकृति हो। प्रकृति कसैको अधिनमा हुँदैन। ठिक बेठिकभन्दा पर रहेर म तिमीलाई जीवनभर प्रेम गरिरहन चाहन्छु असीमित... अथाह...।'

'रोजी! म त अंकसँग खेल्ने मान्छे। नाफाघाटाको हिसाब मात्र बुझ्छु। तिमीले जसरी कुरा गर्न जान्दिनँ तर मलाई कतै तिमीमाथि अन्याय गरेकी भन्ने अनुभूत हुन्छ।'

'बाबा, तिमीले मलाई जुन न्याय दिन खोजेका छौ, त्यसले धेरैको जीवनमा अन्याय हुनेछ। म आफैलाई अन्याय हुनेछ, तिमीलाई एउटा कुरा भनेकै छैन। भनुम्?'

'भन न।'

'रिसाउन नपाइ, गुनासो गर्न नि नपाइ ओके!'

'हवस् बाबा' ऊ अगाडि बढ्छे।

'तीन वर्ष अगाडि एउटा परिवारमा होम ट्युसन पढाउँथे। १० मा पढ्दै गरेकी छोरी पढाइमा कमजोर र मानसिक रुपमा पनि तनावग्रस्त देखिन्थी। एकदिन उसकी आमा घरमा नभएको बेला मसँग खुब रोइ। उसको र मेरो एउटै अवस्था रहेछ।

'साथीहरु सबैका ड्याडी विदेशमा भएर नि कति केयर गर्छन्। मेरो भने नेपाल भित्रै भएर नि टाढा भएजस्तो। न मेरो बर्थडे स्पेशल भएको छ, न नृत्यमा प्रथम हुँदा स्याबास छोरी भनेर सुम्सुमाउदै ड्याडीको हात आइपुग्छ। साथीहरु मेरो ड्याडीले यो ल्याइदिनुभो, विकेन्डमा यस्तो प्लानिङ छ भनेर सेयर गर्छन्, म चाहिँ आक्कलझुक्कल ड्याडीको अनुहार देख्छु। त्यो पनि सधैँ रिसाएजस्तो। कति कुरा हुन्छन् सेयर गर्नलाई, म कस्तो अभागी रहिछु है!'

उसको र मेरो अवस्था उस्तै रहेछ। उसले आफ्नो बह पोखी, मैले मेरो। हामी अझै नजिक बन्यौँ। सबै कुरा सेयर हुन थाल्यो। त्यती नै खेर तिमीसँग पनि बोलचाल सुरु भएको थियो। एकसाथ म तीन वटा उल्झनमा हुन्थेँः मामुको जिन्दगी एकातिर, तिम्रो जिन्दगी एकातिर र मेरो त्यो नानीको एकातिर। सबैलाई सबै ठाउँमा सही देख्थेँ। त्यो नानीमा आफ्नै छायाँ भेट्थेँ। जति तिम्रो सत्यतासँग नजिक भएँ, उति तिमीप्रतिको प्रेम चुलिदै गएको थियो। ऊ अझै पनि मेरी साथी छे। खुसी पनि छे।'

'अनि के भो त! काँको कुरा काँ जोडेको के?’ म अलिक अल्छी मानेर बोलेँ। जाँगर पनि कसरी चलोस्? बेला न कुबेला के-के न भन्छु झैँ गरेर ताइ न तुइका कुरा निकालेकी थिइ।

'सुन न... त्यो दिन जब तिम्ले यसका लागि गिफ्ट किन्नु छ भनेर फोटो देखायौ नि, म एक्कासी ठूलो दुर्घटनामा परेजस्ती भएँ। त्यो नानी आकृति थिइ, आकृति सिंह।'

म लल्याकलुलुक भएँ। के-के भयो भयो। उसलाई हेर्नै सकिनँ, बोल्न नि सकिनँ, फोन काट्न नि सकिनँ। टेबलमा मोबाइल राखेर चुपचाप सिलिङ तिर हेरेँ, पंखा पूर्ण गतिमा कुदिरहेको थियो। मेरो दिमाग भने टक्क रोकियो बिग्रेको घडीको सुइ जस्तो।

फेरि मोबाइल बज्यो। हेरेँ। सिममा रहेछ कल आको, एकछिन उठाइनँ। भान्से काका आएर हरेन्द्र बाबु के भो फोन बजेको बजै छ त भनेपछि बाध्य भएँ। फोन काटेर फेरि च्याटबक्समा गएर भिडिओ कल थिचेँ।

'रिसायौ?’ उताबाट प्रश्न आइहाल्यो।

'उम् रिस त उठेको छ। तिमीसँग होइन, आफैसँग। तिमीले मेरो जीवनमा ठूलो गुन लगायौ बाबा, मलाई 'म' बनायौ। मेरी छोरीलाई 'मेरी' बनायौ। मलाई ऋणी बनायौ। ग्राहकलाई तमसुकमा औँठाछाप लगाएर ऋण प्रवाह र ताकेता गरी गरी असुली गर्ने यो म्यानेजरले तिम्रो ऋण कसरी चुक्ता गर्ला?'

'काले, कति छिटो भावुक हुन्छौ तिमी।'

'काली'

‘नानी खाजा खान आइज। सेलाइसक्यो' पृष्ठभूमिमा आवाज आउँछ। मामु, ओठले इसारा गर्छे। स्कृनबाट ऊ हराइ। हृदयको स्कृनमा भने अझैँ गाढा बनेर टाँसिइ।

सन्तोषको लामो श्वास फेर्दै सोफामा ढल्किन्छु। उसले जे बोल्छे त्यही सही, उसले जे गर्छे त्यही उत्तम, उसले जे राम्रो भन्छे त्यही राम्रो। यतिन्जेल ऊ पुजारी, म भक्त भएका थियौँ। आजदेखि देवी बनी। हात छातीको देब्रे भागमा राखेर बोलेछु, रोजी अथाह प्रेम, अथाह सम्मान। आँखा चिम्लेर उसलाई भेटेँ।

के गरुँ गरुँ हुन्छ। एकछिनपछि फेरि मोबाइल खोल्छु। स्कृनमा उसको प्रोफाइल खुल्छ। प्रतिकृया सबै हेर्छु। शरीरभरि खुसीको भाव संचारित हुन्छ। ओठहरु आफै मुस्कुराउँछन्।

हतार हतार च्याटबक्समा जान्छु।

टाइप गर्छु 'एउटा सुन्दर सपनासँगै एउटा प्रतिकृयाको पनि हत्या भएछ त!'

स्कृनमा टाइपिङ देखाउँछ। मन अलिकति भएनी चन्चल हुन्छ।

'महासय! यदि यो हत्या हो भन्ने हजुरको ठहर छ भने अपराधी कठघरामा उपस्थित हुनेछे, आगे हजुरको मर्जी। अनि नि सबै सुन्दर कुरा, सबै सुन्दर प्रतिक्रिया सबैका लागि उपयुक्त नहुन नि सक्छ्न्। यति ख्याल गरिबक्सेला।'

औँलाहरुले फेरि टाइप गर्छन्' काली!'

 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १८:१२
सिफारिस
अन्तत: सबै वैकल्पिक राजनीतिको भँगालो बन्यो रास्वपा
अन्तत: सबै वैकल्पिक राजनीतिको भँगालो बन्यो रास्वपा
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
उस्तै देखिने कम्पनीको सेयर मूल्य किन हुन्छ फरक?
उस्तै देखिने कम्पनीको सेयर मूल्य किन हुन्छ फरक?
२५ वर्षीय आर्यनले पाँच देशमा फैलाइसके 'ल्वाङ ब्ल्याक'
२५ वर्षीय आर्यनले पाँच देशमा फैलाइसके 'ल्वाङ ब्ल्याक'
'यो बाबु तपाईंकै छोरा हो' भन्दा हेरेको हेर्‍यै भइन् उनी
'यो बाबु तपाईंकै छोरा हो' भन्दा हेरेको हेर्‍यै भइन् उनी
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

देशलाई अलिक सन्चो छैन!
अनि ऊ जहाज चढी!
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड?
पहिला ज्वाइँ भन्नुहोस् भन्दा मान्नुभएन, अब हाकिम साब भन्नुपर्ने भो!
छोरा, कुनै वृद्धाश्रम थाहा छ भने मलाई त्यहाँ लगेर छोडी दे!
उमेर मलाई डाक्टरको विषय लाग्छ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
बंगलादेशको जस्तो कहालीलाग्दो ठाउँमा नपुगोस् नेपाल रमेश अधिकारी
प्रविज्ञ रेग्मी
वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला? प्रविज्ञ रेग्मी
डा. योगराज लामिछाने
बयान दिने बिपी, नदिने केपी! डा. योगराज लामिछाने
अमित ढकाल
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ? अमित ढकाल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अमर अधिकारी
त्यो व्यवस्थित कोलकाता र यो भद्रगोल काठमाडौँ! अमर अधिकारी
National life inner
National life inner
कृप थापा
कहाँ मिलेन जीवनको तालमेल? कृप थापा
ओमकुमार श्रेष्ठ
किन पुग्दैन तालिम कक्षाकोठामा? ओमकुमार श्रेष्ठ
अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

राजन सुवेदी
देशलाई अलिक सन्चो छैन! राजन सुवेदी
Hardik
Hardik
नारायणप्रसाद सापकोटा
अनि ऊ जहाज चढी! नारायणप्रसाद सापकोटा
side bar 17- shivam inner
side bar 17- shivam inner
जगत बोहरा
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड? जगत बोहरा
अच्युत शाली घिमिरे
पहिला ज्वाइँ भन्नुहोस् भन्दा मान्नुभएन, अब हाकिम साब भन्नुपर्ने भो! अच्युत शाली घिमिरे

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP