सुन्दर अति सुन्दर उसका आँखा थिए, एक क्षण म उसका आँखाको नयन सागरमा डुबल्की मारेर उत्रन प्रयत्न गर्दै थिएँ। पत्थर जस्तो उसको मन मायाको हन्बेर्नोले तोडन् भरपुर कोशिस गर्दै थिएँ। मायालाई आकार दिन कालिगड बनि फलामको ज्याबल बनाउदै थिएँ।
कस्तो तितो सत्य हो, हरेक ढुङ्गाहरु पनि उसकै अकृति बनि आइदिन्छन्। उसको अनि ईश्वरको आकृति कसरी उस्ता उस्तै लाग्न सक्छ मलाई, एक क्षणको लागि गम्न बाध्य भएँ। ईश्वरको आकृतिलाई उसको आकृति मानि पुज्न चाहान्थेँ। किन त्यो पत्थर रुपि ईश्वरको दर्शनले मात्र पनि तृप्त हुन चाहन्थेँ।
चमत्कारी ईश्वरको रुपमा उसैलाई पाउन थालेँ। पवित्र मनले पुजेको पत्थरमा ठेस लागेर मुर्छित हुन्छु होला भनेर कहिले कल्पनासम्म किन गर्न चाहिनँ। समय रोटेपिङ रहेछ, एक फन्को नमार्दै ईश्वर नाङ्गो भयो। कति कमजोर आधुनिक ईश्वर, स-साना कुरामा नै नाङ्गो-बुङ्गो भईजाने।
ईश्वरको स्वचरित्र उदाङ्ग भयो अनि शक्तिसम्पत्र पत्थररुपी ईश्वर पुज्न छाडेँ। यसरी ईश्वरबाट डराउने दिन आउला, मलाई कहिले लागेको थिएन। ईश्वरको दुनियाँमा राक्षसहरुसँग मात्र डराउन सिकाइएको थियो। जे देखिन्छ, त्यो सत्य हुँदैन असली ईश्वरसँग पनि ज्यादै डराउनु पर्ने रहेछ।
राक्षस नै थिए ईश्वरका पहिलो सन्तान, ईश्वरले आफ्नो मर्यादा, अस्तित्व एवं शक्तिको निम्ति राक्षसको जन्म दिएका थिए। ईश्वर मान्नेहरुलाई असल, सकरात्मक प्रयायी मानिन्छ, राक्षस दुष्ट, नकरात्मकताको प्रतिक मानिन्छ। के सबै ईश्वर चरित्रवान छन् त?
ईश्वरको अनुगामी राक्षसहरु असल शासन भित्रका दुष्ट शासनलाई सखाप पार्न उद्धत भए। कुनै पनि समय काचुँली फेर्ने असल चरित्र देखाउनेसँग पो डराउनु पर्ने रहेछ। खराब चरित्रसँग के डराउनु, खोतल्दै जाँदा भित्र कारण भएको हुन्छ।
ईश्वरको शासन चलेको पनि देवीहरुकै कारणले हो। ईश्वरले सबै युद्ध देवीहरुको कारणहरु देखाइ लडे- माहाभारत द्रैपदीको कारण, रामायण सिताको कारण, यी सबै युद्धहरुमा नोक्सान देवीहरुलाई भएको छ। सिता वनबास जानुपर्यो, द्रैपदीले आफ्नो अस्तित्व गुमाउनु पर्यो। आधुनिक ईश्वरहरु चिडियाँघरको जानवर हुन्। खोक्रो सिद्धान्त बोकेका बुद्धिजिवी हुन्।
आधुनिक ईश्वरहरु आफू, आफ्नो शरीरलाई नियन्त्रण गर्न सक्दैनन्। देवीले आफूलाई नियन्त्रण गर्न जान्दिनन् भनेर गुनासो गर्छन्। सदियौँदेखि देवीलाई शारीरिक, मानसिक दुवै नियन्त्रण गर्न सकाइदै आइएको छ। देवी भित्र संस्कार खोजिन्छ, के अधुनिक ईश्वर भित्र संस्कार भरिपूर्ण छ? मान्छे होस् वा ईश्वर आफू भित्र जे छैन, अरुमा नै त्यही खोज्छ।
आफू ऐना र्हन बिर्सिन्छ अनि अरुलाई ऐना देखाउदै हिड्छ, आफू संस्कारहीन भएर अरुलाई औँला उठाउँछ। आधुनिक ईश्वरहरु ठडिएर जताततै मुत्र बिर्सजन गर्न सक्छन् तर देवीका लागि अथाह मर्यादा, सीमारेखाहरु कोरीदिएका छन्। मैले पुजेको रंगझैँ आधुनिक ईश्वरको आकृति पनि रंगीन थियो। श्रद्धाले चडाएको रंगीन फूलका मालाहरु लाशको कफनमा बेरिएको डोरी सम्झेर शरीर कस्न पठाउँछ, त्यही ईश्वर भनेर सोच्न नसक्नु कल्पना बिहीन यर्थाथ थियो।
देवीले आफैलाई पुज्न छाडेर उसलाई पुज्नु, भ्रमको झुटो अस्तित्वमा उसलाई पुज्दै आन्दित हुने अन्धभक्तभन्दा कम हुन कहिले चाहिनँ। उसप्रतिको श्रद्धाले देवीलाई जीवित तुल्याएको थियो, एकपल डुब्न लागेको नाउलाई किनारा लगाउने पनि त्यही ईश्वर जस्तो लाग्नु स्वभाविक नै थियो। जीवनको रंगीन फूलबारीमा मालीलाई थाहै नदिइ फूलको सुवास, मादकता खोक्रो आर्दशका साथ चोर्ने ईश्वर आफैलाई सर्वोपरी देखाउँछ।
मृत्युपछि स्वर्गको लालच दिने ईश्वर, आजको नसोची भोलिको लालच गर्ने लाल्ची मनलाई उसको एक खोक्रो प्रवचन नै काफी हुन्छ। ईश्वर रुपी उसले अँध्यारो जीवनमा आशाका किरणहरु ल्याउने आशा पलाएको थियो तर त्यो ईश्वरले बिना वाण घाइते बनाईदियो।
आज पनि देवी आशाको वैशाखीहरु टेकी धर्मराउदै उठ्ने चेष्टा गर्दैछिन्। घाइते मनलाई मन्त्र फुकेर ठिक पार्न खोजे। अन्धभक्त बनाएर जीवन नै लुट्यो सारा। ईश्वरलाई चडाएको जल नदीमा बग्यो, एकाएक ईश्वरलाई छाडेर, जलबाट मैले किन पाठ सिक्न सकिनँ?
सोचको कारागारबाट मुक्त कैदी हकिकतको संसारमा एकाएक याद बनेर आउँछ, बुलन्द हौसला बनी। माया, प्रेम, घृणा सुख-दुख खुसी, उमंग, शत्रु, मित्र सबैलाई लिएर जिन्दगीको विमानस्थल एक दिन अवतरण हुनु नै छ। आकाशमा धैरै यात्रा गर्ने हवाइजहाजहरुले बादललाई कहिले गुनासो गर्दैनन्, बादल क्षणभरमा नै परिवर्तन भई नै रहन्छ। न त कहिल्यै ती बादलले सिकायो हवाइजहाजहरुलाई सुरक्षित उडानको लागि।
न त कुनै गुनासो न त कुनै अपेक्षा निधारबाट खसिसकेका टिका झैँ खसेका व्यक्तिहरु र सम्बन्धबाट। कोही भक्तहरु आफ्नो भक्तिको साह्रै ध्यान राख्छन्, एउटा ईश्वरको भक्तिले मन शन्त नभएर कयौँ ईश्वरहरु चहारीरहेका हुन्छन्। समयले यसरी जुवा थाप्न उक्सायो की फुर्के मन फुर्की हाल्यो सबै अबलापन, नरमपन, सबै च्याखे थापे। नभन्दै हारेँ, समयको जित भयो।
समयले फेरि पनि उकास्नै छाडेन, बाँकी थियो केबल कठोरपन, जिद्धीपन, घमण्डीपन, त्यो पनि जुवामा थाप भन्छ। मैले नि भनिदिएँ, समय तैले बनाएको ईश्वर रुपी आडम्बर संसार काट्ने यी बलियो हतियार हो। समय तैले मलाई एउटै पाठ सिकाइस्, व्यक्तिलाई हैन समयलाई विश्वास गर भनेर। आफू, आफ्ना मात्रै राम्रा, राम्रो कुरा गर्दा पनि बैरी सोच्ने बुद्धिजिवी अन्धभक्तहरु, अरुको मात्र कमजोरी देख्ने सज्जनहरुको माझ देखाउने हात्तिको दाँतरुपी हतियार हो।
म मूर्ख बनीदिएर तिमीहरु सज्जन बनाईदिने यो बलियो हतियार हो, यही हतियार मैले हारेँ भने म शक्तिहीन हुने छु। तिम्रा सबै जीर्ण एकताहरु मेरै कारणले बलिया भएका हुन्। म नै ढलेँ भने तिम्रो अस्तित्व कहाँ जिवन्त रहन्छ र? तिमीले देखेका छौ, बिना हतियार कुनै पनि सिपाही शक्तिशाली भएको।
ईश्वरको निम्ति कयौँ देवीहरुले अग्नि परीक्षा दिनु परेको छ, सतित्वको लागि होस्, अस्तित्वका लागि। अनगिन्ती घाउका फोकाहरु कुवाको बुल-बुल पानी झैँ, बुल्बुलाएका छन्।
कसले देख्छ देवीको पीडा, झुटो ईश्वरबाट अति प्रभावित छन् यहाँ। देवी झैँ सहनशील, शान्त हुर्नुपर्छ ईश्वरको राज्यमा भ्रमको खेती गरिन्छ। देवीको दर्जा दिएर संस्कारको रथमा चडाई ईश्वरको साम्राज्य परिक्रमा गराउँदैमा देवीलाई इज्जत दिएको भन्न मिल्दैन।
देवीको दर्जा, खोक्रो संस्कारको उपमाले भन्दा पनि आधुनिक ईश्वरहरु देवीले चाहेको गर्न देउ, स्वतन्त्रता देउ। दुई/चार थान देवीहरु आविष्कार गरेर समग्र नारीजातिलाई दमनमा पार्न छाडिदेउ। अत्यन्त सुन्दर सिलस्वभाव एवं आचरणमा नखोज, पहिला आफू भित्रको खोटलाई खोज। कुनै उपाधिले गाँस्नु पर्दैन, आधुनिक ईश्वरहरु गाँसेको नाता, टालेको छाता कहिले भरपर्दो, बलियो हुँदैन।