त्यो दिन घरबाट जाऊँ कि नजाऊँ भन्दै म निस्किएको थिएँ। गोंगबुसम्म पाइला चाल्दा समेत मन बेचैन थियो।
अफिसका काम कर्तव्यभित्र म त्यति अटाइसकेको थिइनँ। कता कता अलि ठूलो सपना देखौं कि झैं पनि लाग्थ्यो कहिलेकाहीँ। तर पनि अफिस छोडी हाल्न मन थिएन। बिहान बेलुका छाक टार्न दिइएको पैसाले मलाई अफिसकै चारकुनामा बाँधिराखेको थियो भनौं।
गोंगबु पुगेपछि अफिसका लागि म गाडी चढेँ। गाडी गुडिराखेकै थियो। अचानक बसुन्धारा पुगेपछि गाडी दुर्घटनामा पर्यो! त्यसपछि मैले होस गुमाएछु। टिचिङ अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याइएको केही क्षणमा मात्र मेरो होस खुल्यो। होस खुल्दा म सँगै बेडमा अर्को एक जना घाइते पनि सुतिराखेका थिए। घाइतेहरू धेरै भएर पनि होला सबै जना भुइँमा नै छरपस्ट थिए। ठाउँ पुगिराखेको थिएन। मलाई एउटा हात उठाउन अलि अप्ठ्यारो भइराखेको थियो। सायद भाँच्चिएको थियो। नर्सहरूले हिस्ट्री लिँदै सबै घाइतेहरूलाई नदुख्ने औषधि सँगै अरू आवश्यक औषधि पनि रगत मार्फत् दिइराख्नु भएको थियो। जब मेरो पालो आयो मलाई रोपिएको सिरिन्जले त्यति दुखाइ दिइराखेको थिएन। सायद त्योभन्दा ठूलो दुखाइ शरीरमा पहिल्यै कायम थियो।
सिस्टर! सिस्टर! भन्दै रोइकराइ गरेका आवाजहरू मेरा कानमा छरपस्ट थिए। कहिल्यै नभोगेको, नदेखेको अस्पष्ट अग्राह्य कुराहरू थिए ती। तर जब मेरो अगाडि आउनुभएको नर्सले आफ्ना दुखाइ र चोटपटकका बारेमा बुझ्दै हुनुहुन्थ्यो म अर्कै लोकमा पुगिसकेको थिएँ। कति सुन्दर, कति कलात्मक थियो त्यो सोधाइ!
आवाज पनि उस्तै मिठो। सुनिरहुँ लाग्ने। विश्वप्रेम अटाउने त्यो वर्णमा मेरो नजरको के नै नाता थियो र? तै पनि मैले हेरी नै राखेँ। म ओइलिएको फूल जस्तै थिएँ र उनी मभित्र उज्यालो फर्काउने आशामा सान्त्वनाको सूर्य बनेर उदाइराखेकी थिइन्।
अस्पतालमा अक्सर पुग्ने मान्छेले भन्ने गर्छन्- नर्सहरू रूखा हुन्छन्, उनीहरूको दिल नै हुँदैन। उनीहरू भावनात्मक भएर उपचार गर्नै जान्दैनन्।उनीहरूमा वियोग हुँदैन मात्र ‘विचरा’ भन्ने भाव हुन्छ। आफूमा उकास्नु पर्ने मृदुलताहरूलाई गायब बनाएर मात्र अहंकार पस्किन्छन्।'
तर जब उनलाई देखेँ, सबै सबै झुटो लाग्यो। आइडी कार्डमा उनको नाम पढेँ - वर्षा दाहाल। चर्को त्यो जेठको घाममा म लगायत सबै बिरामीलाई उनले शितलता, कोमलता र स्नेह सहित अरू पनि केही छर्ने काम गरिन्।
औषधिले भन्दा अगाडि उनको मिठास पूर्ण बोलीले ममा असर गरिसक्थ्यो। कष्टपूर्ण त्यो अस्पतालको बसाइँमा समेत, कस्तो छ अहिले तपाईंलाई? भनेर कहिले सोध्न आउलिन् भनेर बाटो चिहाउन आँखाहरू हानथाप गर्थे।
मेरा कोही आफन्तहरू भेट्न नआएको देख्दा उनी मन बुझाउन भन्थिन्, 'म छु नि तपाईंको लागि! केही अप्ठ्यारो परे भनि हाल्नु होला, म त्यही नर्सिंङ स्टेसनमै हुन्छु!'
त्यति सुनिसकेपछि म मल्हमले दिने शितलता उनको आडभरोसामा पाउँथें। जुनको ज्योति आफ्नै बेडको सामुन्ने आएर उभिएकोझैं भान हुन्थ्यो। हामी धेरै घाइते इमर्जेन्सीको ग्रिन जोनमा थियौं। कोही सन्चो भएर घर फर्किसकेका थिए भने कोही थप उपचारका लागि वार्डमा सिफ्ट भएका थिए। मेरो भने हात भाँच्चिएको एक्स रे मार्फत् पुष्टि भइसकेकाले अब प्लास्टर गरेर मात्र घर फर्किने सोचमा थिएँ।
म सधैं त्यहाँ पीडामा हुन्थें- 'मलाई क्यान्टिनबाट खाना कसले ल्याइदिने? चाहिएको औषधि किनेर कसले ल्याइदिने? यसो बाहिर वासरूम जान परेमा कसले लगिदिने?' तर यी सबै बखतमा वर्षा मेरो साथमा हुन्थिन्। किन हुन्थिन्? कसरी हुन्थिन्? मलाई आवश्यक परेको बेला बखत उनी कसरी पत्तो पाएर आउँथिन्? म भन्न सक्दिनँ तर उनी हमेशा आउँथिन्। मेरो हात समाएर मलाई तत्कालको गन्तव्यसम्म पुर्याउँथिन्। अरू घाइतेदेखि लिएर अस्पतालका स्टाफहरू हेरिरहेका हुन्थे। सोच्नलाई के के पो सोच्थे होलान्? तर उनीले मप्रति देखाएको स्नेह भाव डाहा लाग्दै थियो। डाक्टर नर्सहरू यन्त्र जस्तै हुँदै गएको जमानामा आँखाको अगाडि एउटा कल्पना जस्तै लाग्ने भावनाले भरिपूर्ण नर्स पाउँदा कति खुसी थिएँ म।
भनिन्छ- डाक्टरले छुँदा मात्र पनि आधा रोग निको हुन्छ। नर्सले मिठो बोल्दिए पनि रोगसँग जित्ने हौसला प्राप्त हुन्छ। जसरी एउटा कविले सिर्जना गर्ने कविताहरूमा भावुक चेतहरूले सजिव र सुन्दर स्मृति जगाउँछ, उसैगरी डाक्टर नर्सले गर्ने व्यवहारले समेत रोग विरूद्धको सामर्थ्य बटुल्दछ।स्वास्थ्यकर्मीहरू रोबोट जस्तै भएर रोग मात्र जाँचबुझ गर्ने मात्र पनि त बन्नु हुँदैन।
सम्पूर्ण इन्द्रीयद्वारा ग्रहण गर्ने क्रियाहरू छुट्न सक्छन् अझ भनौं विज्ञान प्रविधि जिउँदो हुन सक्छ तर मानवताको जादू छुट्न सक्छ।
बाहिर बगैंचामा टहलिन मन लाग्यो मलाई। अनि वर्षालाई मैले हातैले इशारा गरें। उनी एक जना बुढा बिरामी जो पिसाब फेर्न सक्दैनथे उनकोमा युरिन ब्याग जडान गर्दै थिइन्। म राम्रैसँग सुन्न सक्थें उनी ती उमेरले जीर्ण भइसकेका बालाई मिठो बोली र स्वीकार्य सेवाभावद्वारा उपचार गरिरहेकी थिइन्।
'बा पख्नुस् है! एकैछिन है अब भइ नै सक्यो।' भनेर फकाउँथिइन्। घिन, लाज, आडम्बर केही थिएन त्यहाँ। मात्र थियो त कर्तव्य र सेवाभाव। एउटा छोरीले आफ्नै बालाई गरे जस्तो।
अर्को बिरामीकोमा पुग्थिन् वर्षा अनि भन्थिन्, 'के तपाईंले औषधि खानु भयो त?' नखाएको भए आफैले औषधि उप्काएर दिन्थिन्। के कस्तो सुधार छ भनेर सोध्थिन्। उनले मिठो मुस्कान छर्दा बिरामी रोग नै बिर्सिएर मुस्काउन खोज्थे। अस्पतालको त्यो क्याबिन नै रंगीन भएर माधुर्य पस्किन्थ्यो।
एकैछिन बाहिर बगैंचामा टहलिँदा उनीसँग पहाडकै स्वर्गीय अनुभूति भयो। सेतो एप्रोनमा सजिएकी उनको मुहारमा जब त्यो पारिलो घाम पर्थ्यो, लाग्थ्यो यो नजर कतै नहटाऊँ। जब उनी मोतीलहरे दन्तमा खुलेर हाँस्थिन् लाग्थ्यो उनीसँगै हासिदिऊँ। अस्पतालका कार्यक्रमहरूमा उनले आफू नाचेका भिडिओहरू देखाइन्। आफूले कविता वाचन गर्दा मानिसहरू रोएका भिडिओहरू पनि देखाइन्। म मन्त्रमुग्ध नै भएँ।
अझ् भन्थिन्, 'सहर बजारमा त जो पनि बस्छ। तर मलाई दुर्गममा गएर काम गर्न मन छ। सुकिला मुकिलालाई पहाड पल्ला पट्टिको मोहनी नै थाहा हुँदैन। यहाँ बिरामी निको हुँदा पैसा दिएर जान्छन् भने दुर्गमतिर बिरामी निको हुँदा आशीर्वाद दिएर जान्छन्। ल भन्नुस्! पैसा ठूलो कि आशिर्वाद?' म नि:शब्द भएँ।
मेरो भाँच्चिएको हातको प्लास्टर गर्ने क्षण पनि आयो। उनले निकै सहयोग गरिन्। अब म औषधि लिएर डिस्चार्ज हुँदै थिएँ। तर मलाई घर जान त्यति मन लागिरहेको थिएन। भगवानसँग दुवै हात फैलाएर अस्पताल बसाइँको दिन बढाइदिनुस् न! भन्दै मागौं जस्तो भएको थियो।
म बाहिरी रूपमा पिल्पिलाउन सकेको थिइनँ होला तर भित्र भित्र रोएको थिएँ। सायद म मायामा थिएँ। संसार अनन्त प्रेममा छ। र म पनि त्यही प्रेमको सागरमा पौडिरहेछु जस्तो लाग्दै थियो। म आफै विचरा भइरहेको थिएँ। कसरी पो हल्लाउँ वर्षालाई विदाइका हातहरू? कसरी पो गरौं फेरि बिरामी भएर अस्पताल आउने बाचाहरू? है! कत्ति समझ नभएको मान्छे थिएँ म।
वर्षाले औषधि आफै किनेर ल्याइदिइन्। मेरा आँखाहरू उनका फूल जस्ता मुहार बारम्बार पुलुक्क हेर्दै प्रेमका तृप्तिहरू प्राप्त गर्दैथे। किनकि थाहा थियो भोलिदेखि त्यो मुहार हेर्न पनि त बिरामी भएको नाटक गरेर अस्पताल धाउनुपर्छ। दिनरात बिरामीको हेरचाहमा रमाउने उनीलाई म कसरी नै भन्न सक्थे र?- ‘भोलि कुनै क्याफेमा भेटौं। सँगै कफी खाऔं। अँ! साँच्ची अनमोल केसीको नयाँ फिल्म आउँदै छ शनिबार फिल्म हेर्न जाऔं।’
ऊ त्यस्तो थिइँदै थिइन। न हुन सक्छे।
जब उनले भनिन्-अब तपाईं जानुस् चाँडै निको हुनुहोस्।
मनमा चिसो मात्र पस्यो। मलाई मात्र रहेछ कि माया भन्ने पनि त लाग्यो। धड्कन सँगै शंकाका सिर्काहरू छुटे। एक्लो रहेछ कि मेरो माया भन्दै निस्सासिएँ। तर जब उनले थपिन्- ३५ दिनपछि तपाईं फलोअपमा आउन परिहाल्छ त्यति बेला भेटौंला। अनि बल्ल सागरमा डुबिसकेको मेरो मायाले समात्नका लागि परालको त्यान्द्रो भने पनि भेट्यो। छुटेर घर पुगेपछि मेरा कुनै दिन र रात छैनन् होला वर्षालाई नसम्झिएका। न मैले उनको फोन नम्बर माग्ने हिम्मत गरें न त उनी कतै फेसबुक इन्स्टा नै चलाउने रैछिन्।
बरू औषधि खान भुलेँ होला तर उनलाई भुल्न सकिनँ। आफूभित्र रहेको प्रेमलाई उति बेला नै उजागर गरेको भए हुने रैछ जस्तो लाग्यो। उही पछुतोमा फलोअपमा फेरि अस्पताल पुग्ने दिनहरू गनेरै मात्र बसेँ।
जब आयो अस्पताल जाने दिन, उनलाई मन पर्ने गुलाफ फूल किनेर लगेँ। एउटा कविताको पंक्ति तयार पारें-
आशाको आत्मा समेत
मलिन भएको त्यो दिन
मेरो शरीर नै ओइलिएर
लत्रिएको त्यो दिन
वर्षा तिमी थियौ र त
बिरामी त्यो ज्यान
फेरि तंग्रिएको छ!
युगयुग वियोगमा
बाँचेको यो जीवन
फेरि प्रकाशित भएको छ!
जिन्दगी भर
तिमीबाटै सिन्चित हुन
चाहन्छु!
तिम्रै स्पर्शका
थोपा थोपाले
यो जीवन सुगन्धित
बनाउन चाहन्छु।
प्रिय वर्षा!
बिरामी भएको छ
यो दिल तिम्लाई भेटेपछि
फेरि तिम्रै जिम्मा
लगाउन चाहन्छु,
उपचार गरिदेऊ।
हतार हतार उनको क्याबिन पुगें। त्यहाँ उनको नाम देखिनँ। एउटा प्लास्टर गरेको हात झोलीमा झुण्ड्याएर म उनको नाम अन्त कतै छ कि भन्दै ओहोरदोहोर गरिरहें। तर कतै भेटिनँ। अनि प्रशासनमा पुग्दा थाहा भो उनी त त्यहाँ राजीनामा दिएर मुगु अस्पताल पुगेकी छिन् अरे।
गुलाफको फूल, कविताको पंक्ति र म एकैचोटी रोएँ। आफ्नो प्लास्टर हटाएर थप औषधि लिएर म घर फर्किएँ। फर्किँदै गर्दा प्रण गरें- वर्षा! म, तिमी र तिमीले काखैमा संगालिराखेको ममताकी खानी रारा ताललाई भेट्न छिट्टै आउनेछु र मुर्मा टपमा पुगेर अनि साँची राखेर रारा ताल, तिमीलाई प्रेमको प्रस्ताव गर्नेछु।