यस पटक मैले हालेको भोटले
मेरो नेताले होइन
मेरो पार्टीले होइन
सबैको सुइच्छाले जितोस्
यस्तो सुइच्छा कि सबैको
अभावहरू हटोस्
आवश्यकताहरू पूरा होस्
सबैको जीवनमा सुख आओस्
यस पटक मैले हालेको भोटले
मेरो नेताले मात्र बिल्डिङ ठड्याउने होइन
मेरो पार्टीले मात्र सरकार चलाउने होइन
सबैले तिरेको करको हिसाब होस्
यस्तो सुपथ हिसाब कि हरेकको
एउटा ओत लाग्ने घर होस्
दुई छाक खान खेतबारी होस्
परिवार पाल्न एउटा जागिर होस्
यस पटक मैले हालेको भोटले
मेरो नेता मात्र गाडीमा कुद्ने होइन
मेरो पार्टीले मात्र विदेशी लगाउने होइन
सबैलाई विकासको अनुभूति होस्
यस्तो अनुभूति कि सबैको निम्ति
बन्द भएका कलकारखाना खरर चलुन्
बाटोघाटोले हिमाल, पहाड, तराई जोडुन्
स्वदेशी लुगाफाटा लगाउन पाउन
यस पटक मैले हालेको भोटले
देशमै रोजगारी दिलाउनेले जितोस्
भ्रष्टाचार कहिल्यै नगर्नेले जितोस्
सुशासन सुव्यवस्था ल्याउनेले जितोस्
यस्तो सुशासन कि यो देशमा
सरकारी जग्गा कसैले नहडपोस्
सही आवाज कसैको नदबोस्
हरेक नेपालीको मान सम्मान बढोस्
यस पटक मैले हालेको भोटले
हाम्रो देशले जितोस्
नेपालीले जितोस्
नेपालको झन्डा सधैँ फरफराइरहोस्।