पन्चे बाजा घन्काउँदै
कालो अरिङ्गाल जति मन्छाउँदै
मोटरसाइकल र्याली पछिल्तिर
पूर्ण कलश र झाँकी अघिल्तिर
बढो तामझामका साथ
अस्वाभाविक बाङ्गो मुन्टोसहित
जुम्ल्याहा हात गर्दै अघिल्तिर लाग
आऊ, अब मसँग पनि भोट माग!
म विगत कोट्याउँला
तिमी आगत देखाएर फकाउनू
म पुरानो घोषणापत्र देखाउँला
तिमी नयाँ मतपत्र देखाएर लट्ठ्याउनू
मेरो टारी खेतमा कुलो किन पसेन?
मेरो घरको भकारीमा सह किन बसेन?
मेरा यस्तै सहस्र प्रश्नहरूको
पास नगरी फटाफट उत्तर दिने तिर लाग
आऊ! अब मसँग पनि भोट माग!
सय पचास टिसर्ट यता दान गर
मेरा मरेका बाको गुणगान गर
करेसा करेसै रेल कुदाउने सपना देखाऊ
पानी जहाज क्याप्टेनमा मेरो नाम लेखाऊ
अब धेरै दिन बाँकी छँदै छैन साथी
मेरो गिदी जिब्रो भुट्नेतिर लाग
आऊ, अब मसँग पनि भोट माग!
मलाई बाको श्राद्ध गर्न बिदा चाहियो
कर्मकाण्ड नजानेर के भो! सिधा चाहियो
मलाई त सबथोक अहिले नै चाहिन्छ
नत्र अर्के छानिन्छ, पोइला गइन्छ
अफ्ठेरो नमान, आफ्नो राजनीतिक धर्मतिर लाग
आऊ! अब मसँग पनि भोट माग!
मलाई कुरै कुराले फिदा तुल्याउनू
ज्याद्रोझैँ लागे दान दक्षिणामा भुल्याउनू
सोल्मारी लग्नू! सुकुटी टोकाउनू
हट घोडा! भन्दै सारा शरीरै बोकाउनू
सन्तान दर सन्तानको भविष्य सोचेर
खुरुक्क मुसी दुलो भर्नेतिर लाग
आऊ, अब मसँग पनि भोट माग!
यतिखेर बाघ नदेखाउनू आफूलाई
यो बुझ्नू कि मृगहरू पनि मतदाता सूचीमा छन्
यतिखेर दुराचारी नदेखाउनू आफूलाई
यो बुझ्नू कि कलाकर्मीहरू कलम र कुचीमा छन्
केही दिन, मात्र केही दिन
शुद्ध, शान्त र उदार रहेर
श्री पशुपतिनाथ भाक्नेतिर लाग
आऊ, अब मसँग पनि भोट माग!