मृगतृष्णाको पछि दौडँदा-दौडँदै
थकित मुहारसहितको आफ्नै
एक थान शरीर बोकेर
कोलाहल आबादीबाट एउटा
यस्तो निसर्गको वात्सल्यमा पुगेछु
जहाँ,
पुष्पगुच्छाको सुगन्धित सुवास
अन्तस्करणले अनुभूत गर्दछ,
अपरिचित कोइलीको माधुर्य कूजन र
न्याउलीको हृदयस्पर्शी करुण-ध्वनिले
श्रवणेन्द्रियलाई आश्चर्य पार्दछ,
वक्षस्थलमा गुम्सिएको अतृप्त प्यासलाई
कलकल बग्ने खोलाको अन्तहीन यात्राले
झनै उत्प्रेरित गर्दछ,
बटुवालाई नि:स्वार्थ पर्खिरहने
छहारीको शीतलता र प्राणवायुले
अन्तस्तलको बेचैनी र सुस्केराहरूलाई सान्त्वना दिन्छ
त्यहाँ,
प्राकृतिक सामीप्यको त्यो मौन संवादले
मानसिक अन्तर्द्वन्द्वको विस्मृतिमा पुगेछु
र
तब पो स्मरण गरेछु
आफ्नै सुगन्धको खोजीमा भौँतारिएको कस्तुरी झैँ
म त केवल सन्देहको पछि दौडिएछु
वास्तविक छहारी त आफ्नै अन्तरात्माको कुनामा रहेछ
जसरी काव्यलाई माधुर्यले जीवन्त बनाउँछ
त्यसरी नै आत्मबोधले मात्र जीवनलाई पूर्ण बनाउँछ
जीवन त मानसपटलको एकाध आशा
र यस्तै विस्मयकारी क्षणहरूको सुन्दर संगम पो रहेछ।