राति बाहिर निस्किने आजभोलि उसको नियमित कार्य नै भएको छ। चाहे घडीले बाह्र नै किन नबजाओस् तर उसलाई एक फन्को मारेर घर नआएसम्म कता के नमिले, कता के भुलेजस्तो हुन्छ।
हातमा सिखर आइसको झिल्को उडाउँदै लामो लामो सर्को तान्दै ऊ एबिवुड पार्कमा फन्को मार्दै छ। पहिले पहिले भने कोही चिनेजानेका भेटिए चुरोट तानेको हल्ला क्लासभरि धुवाँझैँ फैलिने हो कि भनेर सङ्कोच मान्दै तान्थ्यो तर आजभोलि उसलाई केही चिजको प्रभाव छैन।
मे महिना लागेता पनि चिसोले भने लन्डनलाई अझै छोडेको थिएन। सिमसिम पानी अनि तेज हावाको बेगले उसलाई बारम्बार हानिरहेकै थियो। चिसोले हातखुट्टा लगलग काँपिरहेका थिए तर पनि जुनेली रात, रातको साढे बाह्र बजे एक्लै एबिवुड पार्क माथिबाट तल थेम्समीडतिर बलिरहेका चम्किला बत्ती हेर्दै टोलाउँदै थियो।
मनका अनेकौँ कुराले आँखा धमिलिएका छन्। सोचमै डुबेर हिँड्छ ऊ। हरेक रात उसका लागि नौला छन्। घर बाहिर पुग्छ। भिजेका ती चिसा हात कालो लेदरको ज्याकेटभित्र हाल्छ, ऊ झस्किन्छ, फेरि भित्री बाहिरी सबै खल्ती छाम्छ, तर खै त चाबी? टाउको भुलुक्क उम्लिएजस्तो हुन्छ, फेरि ट्रयाक र ज्याकेटका गोजी केलाउँछ अहँ छैन, छँदै छैन।
लौ कता खस्यो। अत्तालिन्छ। अब के गर्ने? ढोकानिर गएर घरभित्र चियाउन खोज्छ तर भित्र भने सुनसान र अन्धकार मात्र छ। बेसहारा मान्छ आफूलाई, घरको पर्खालमा बस्छ र केही सोच्दै फेरि टोलाउँछ। ठुलो कुरा त केही छैन तर पनि सानै कुरालाई पनि ऊ घण्टौँसम्म दिमागमा दौडाइरहन्छ। आफू टुटेजस्तो मान्छ अनि निराशापनले मन छोपिन्छ।
फेरि ढोकातिर हेर्छ, पहेँलो छल्लासित झुन्डिरहेको चाबी देख्छ। रिसाउँछ आफूसँग, छ्या कस्तो म यही छोडेर गएछु। मनगन्ते कुरा गर्छ। मैले पहिले नै हेरेको भए हुने नि ढोकैमा पुगेर नि किन देखिन? आफूलाई प्रश्न गर्छ। कहाँ थियो मेरो ध्यान? किन यस्तो भएको?
पर्खालबाट फुत्त ओर्लिन्छ अनि ढोकातिर लम्किन्छ। काँप्दै हतारिँदै ढोका खोल्छ र ढोकाको छेउमा भएको बत्तीको बटन थिच्छ।
तर बत्ती बल्दैन, बन्द गर्छ अनि फेरि खोल्छ।
बिग्रेको मोटरसाइकलको इन्जिनजस्तै थ्यार-थ्यार गर्दै बत्ती चिमचिमाउँदै फेरि बन्द हुन्छ। झनक्क रिसाउँछ, भित्रभित्र मुर्मुराउँछ, यति जाबो एउटा बत्ती नि हाल्न नसक्ने कहाँको घरबेटी। कस्तो घरबेटी? कसरी बस्न सकेको होला मान्छे यस्तो गराएर?
जङ्गिन्छ अनि मनमनै भन्छ- मै किनेर ल्याइदिन्छु भोलि यो गरिबलाई। यति पनि किन्न नसक्ने क्ष्या! मोबाइलको बत्ती बाल्छ, अनि सोझिन्छ बाथरुमतिर।
तर बिचमै केही भुलेजस्तो गर्छ अनि फेरि फर्किन्छ ढोकातर्फ। ढोका छेउमा राखेको जुत्ताको र्याक हेर्छ, थोरै मन डराएजस्तो मान्छ, मुटुको बेग बढेजस्तो ठान्छ अनि गन्छ र्याकमा राखेका काला जुत्ता। एक दुई गर्दै तेस्रो नम्बर खोज्छ, माथिदेखि तल हेर्यो। भुइँमा बत्ती बालेर खोज्यो अहँ तर दुईभन्दा बढी काला जुत्ताको जोडी भेट्दैन।
ऊ डराउँछ, रक्तचाप बढेजस्तो हुन्छ। टाउको एक्कासि भुलुक्क उम्लिन्छ। टाउको समाउँदै थचक्क बस्छ। रिसाउँछ अनि अन्यासै आँखाबाट आँसु खसाल्छ। जुरुक्क उठेर बाथरुमतिर जान्छ। गएर आफूलाई धमिलिएको सिसामा हेर्छ। भावविह्वल हुन्छ। चिसो पानी खोलेर मुख धुन्छ। उभिन्छ सिसाको अगाडि, अगाडिपट्टि आएको कपाल पुरै पानीले भिजेको हुन्छ। तप-तप गर्दै नाकमा कपालबाट झरेको पानी चुहिन्छ। त्यही बगेर दाह्री थिचोल्दै, छातीमा धारा बग्छन्।
के भयो मलाई? ऊ आत्तिन्छ, केही अनर्थ हुन लागेजस्तो मान्छ, मुटु छाम्छ, चाल बढेजस्तो मान्छ। दुवै हातहरूले बेसिनमा आफूलाई अड्याउँछ, राता आँखा, बगेका ती आँसु हेर्दै चिच्याउन खोज्छ। सक्दैन डराउँछ आफैसँग तर एक्कासि सिसातर्फ शिर ठड्याउँछ अनि काँपेको त्यो चिउँडो हेर्दै बेस्मारी चिच्याउँछ। अनकन्टार जंगलमा निसास्सिएजस्तै हुन्छ, सपनामा ऐंठनले दबाएजस्तै हुन्छ, शरीर थरथर काँप्न थाल्छ। फेरि मुखमा चिसो पानी छ्याप्छ, टिसर्टले मुख पुछ्दै बाथरुमबाट बाहिर निस्किन्छ।
घाँटी सुकेजस्तो केही अड्किएजस्तो हुन्छ। छटपटिन्छ भर्खर बलि चढाएको बोकोजस्तो। हिँड्दाहिँड्दै चट्याङले हानेजस्तो। जगमा राखेको पानी पनि घटघट पिउँछ। यताउति हेर्दै छटपटिन्छ, फ्रिज खोलेर बडवाइजर उठाउँछ, घुट्की घुट्की पिउँछ र क्यान फ्यात्त बिनमा फालेर बाहिर निस्किन्छ।
हात काँपेका छन् उसका, किन यति साह्रो अत्तालिन्छ ऊ? ऊ किन यति धेरै मुर्छित हुन्छ, थाहा छ उसलाई सबै तर पनि किन सम्हालिन्न ऊ। कति दिन तड्पिन्छ ऊ यसरी। मनमा शङ्का जमाउँछ, सोच्न थाल्छ कहाँ गइहोली ऊ यति राति? किन घर नआएकी होली? आज पनि एक जोडी जुत्ता छैनन् अर्थात ऊ आज पनि घरमा छैन।
अनेक शङ्का उपशङ्काले बेर्छ उसलाई। सोध्न खोज्छ, जान्न खोज्छ ऊ, यो मध्यरातमा ऊ कस्कोमा छे होली। कसैलाई सोधौँ भने पनि कसलाई सोध्ने। पाउने जवाफ उसलाई पहिले नै थाहा छ। तर त्यो कुरा उसको मनले मान्न चाहन्न।
फोन झिक्छ, फोन लगाउँछ उसलाई। तर उठ्दैन। ऊ फेरि गर्छ। अहँ यो पालि पनि कुनै रेस्पोन्स आउँदैन। दस पटकसम्म कुनै प्रतिक्रिया आउँदैन तर एघारौँ चोटिमा भने फोन दुई घन्टीमै काटिन्छ। हाल बेहाल भइसक्यो। टाउको चड्केको छ। फेरि उसको साथीलाई फोन गर्छ। तर उसको फोन पनि उठ्दैन। फेरि उसैलाई म्यासेज गर्छ।
‘आज पनि उतै हो?’ जवाफ कुर्छ।
बाह्र पैँतालीस भयो, यताउति घुम्छ, फेरि घडी हेर्छ, एक बज्यो, अहँ तर उसको जवाफ आएन। फेरि म्यासेज गर्छ, ‘कता हो हजुर?’
उताबाट केही लेख्न लागेजस्तो मान्छ। तर फेरि हराउँछ। फेरि म्यासेज पठाउँछ। भन्न न घर आउने होइन आज? एकैछिनमा ‘नाइ दिदीकोमा छु’ भन्दै जवाफ आउँछ। शङ्काले भरिएको मनमा अनेकौँ प्रश्न खडा हुन्छन्। ऊ मान्न तयार नै हुँदैन अनि फेरि फोटो पठाऊ त दिदीको भन्दै म्यासेज पठाउँछ। जवाफ आएन, होइन होला दिदीकोमा त भन्दै फेरि पठायो। अहँ यसको जवाफ पनि आएन। फेरि फोन गर्छ, तर यो चोटि भने फोन अफ भइसकेको हुन्छ।
त्यत्तिकैमा उसको साथीको फोन आउँछ, ‘क्या हुवा भैया? तुमे पता ह्या क्या वो किदर हे?’ सोध्छ, उसले भन्छे, ‘छोड्दिजिए न भैया उसको? आप को पता हे उसको आप पर कोई फिलिङ्स नही हे, उसका दुस्रा हे क्यूँ आप इतना करते हो? मे कितने बार बोलु आपको इग्नोर करदिजिए न भैया आप? अपने आपको हर्ट मत किजिए?’ उसले यत्ति भनेपछि केही नभनी फोन राख्छ।
सोच्छ, आफैले दिदीकोमा भएको भए किन फोटो पठाइन त? किन फोन अफ गरेर बसी त? वास्तविकता के हो उसलाई थाहा छैन। के थाहा ऊ त्यही नै पो छ कि? तर पनि शङ्कै शङ्काले उसको मनको लङ्का भने जलाइसकेको छ।
विगत दुई महिनादेखि ऊ यसरी नै गायब भइरहेकी छ। हरेक रात ऊ आउने समयको बेग्र प्रतीक्षामा बस्छ, होइन भने उसलाई खोजेर रात बिताउने गर्छ। ऊसँग कुनै सम्बन्ध छैन अहिले, उसले पहिल्यै नै तोडिसकेकी छे। ऊ घरमा आए पनि ऊसँग कुनै दोहोरो संवाद हुँदैन तर पनि ऊ घरभित्रै छ भनेपछि ऊ मिठो निद्रामा ढल्ने गर्छ। ऊ नआएको दिन उसका रातहरू आफैसँग लडेर बित्छन्। अनेकौँ कुराले मनमा द्वन्द्व खेल्छन्।
सम्झन्छ विगतका दिन अनि सिरानी भिजाउँदै छटपटिँदै घामको किरणले उसका आँखा पोल्छन्। ऊ दिनदिनै आफूलाई मारिरहेको छ। उसले नै देखाउने गर्थी, कोही अरूसँगै घुमेको रमाएको तस्बिरहरू। मन अमिलो बनाउँदै हेर्थ्यो। त्यसरी उसले देखाउँदा पनि, उसको अर्कै सम्बन्ध हुँदा पनि ऊ फर्किन्छे कि भन्दै पर्खाइमै बस्छ। ऊ सोच्छ उसैसँग रमाएको, ऊ सोच्छ हिजका खुसीका दिन, आँखाबाट बगेका आँसु पुछ्दै हेर्छ ऊसँग खिचिएका तस्बिर, पढ्छ उसले पठाएका म्यासेज, अर्धपागल अवस्थामा फेरि ढोका बन्द गरेर बाहिर निस्किन्छ।
होस हवास छैन उसमा, जिउँदै चितामा जलेको जस्तो मान्छ। आँखाले देखेका कुरा सबै भ्रमित भएजस्तो ठान्छ। बाटोमा हिँड्दै छ तर उसको मन उसकै कुराको कल्पनामा हराएको छ। बाटोमा हिँडेको हो या उसको कल्पनाको संसारमा तर उसको मन वर्तमानमा भने पक्कै छैन; कहिले हिजका दिन कल्पना गर्छ त कहिले ऊ फेरि आएको कल्पनामा रम्ने गर्छ।
कुन बाटो कुन मोडमा छ ऊ उसलाई केही थाहा छैन, खै के सम्झेको छ कुन्नि, कतिबेला मन्द मुस्कान लिएर हिँड्छ त क्षणभरमै मलिन हुन्छ। बरु थाहा नै नभएको भए उत्तम हुन्थ्यो होला, थाहा हुनुले उसलाई हरेक रात तड्पाइरहेको छ। ऊ सोच्छ फेरि आफ्नो आलिङ्गनमा बेरिएकी ऊ। कसेर अङ्गालोमा बाँधिएकी ऊ। लजावती भावमा उसको गाला चिमोटेको सम्झी मुसुक्क मुस्कुराउँछ। कातीकुती लगाएको सम्झन्छ र बेस्मारी एक्लै हाँस्छ।
कोही यता पागल भइरहेको छ जसका निम्ति तर ऊ भने कसैको अङ्गालोमा बेरिएर सन्तुष्टिको निद्रामा मग्न छ। फेरि झस्किन्छ र सोच्छ, के त्यही केटासँग छ होली ऊ? होइन भने कस्कोमा छ त? के साँच्चै मैले गरेजति माया गर्छ होला त? मलिन हुन्छ अनि सोच्छ बिचरा माया लाग्दी छ कतै उसले नराम्रो त गर्ने होइन ऊसँग? के कमी थियो मसँग त्यही उसले भनेजस्तो कपडा लगाउन नआउने त हो नि, इङ्लिस बोल्न नआउने त हो नि, के मेरो मायालाई यिनै कुराले फिक्का पारेको हो त? मलाई सिकाएको भए त म सिकिहाल्थे नि। के प्रेम गर्नलाई अथाह प्रेम दिएर मात्रै नहुने हो त? कि यी सबै भएर प्रेम गर्न नजाने पनि प्रेममा सफल हुन सकिन्छ?
सम्झन्छ, जसरी उसको समीपतामा ऊ रमाउँथी। थोरै नजिक आउँदै, उसको निधार, उसको गाला, उसको घाँटी, उसको छाती, चुमेको सम्झिन्छ। सम्झिन्छ ऊ बिहान बिहान तातो-तातो चियासँग, भर्खर नुहाएर आएको वास्नादार पल।
मुर्छिन्छ ऊ, टेबलमाथिको सुकेको गुलाफको फूल हेर्छ, आक्रोशित मुद्रामा अगाडि बढ्छ। च्याप समाउँछ। सुकेर झुर्रिएका फूलका केही पात बेडमा खस्छन्। घरको झ्याल खोलेर मिल्काउन खोज्छ, तर टक्क रोकिन्छ र फूलतिर हेर्दै बर्बराउँदै भन्छ- ‘यो फूलको केही दोष छैन। म तिम्रो रिस यो फूलमाथि पोख्दै छु जो यो सजायको भागिदार छैन। चाहन्थेँ म कि यो फूल तिम्रो मुखमा फ्याँकुँ र भनूँ- किन दिइस् मलाई क्षणभरमै सक्किने साथ? किन देखाइस् अझम्बरी मायाको आस? जानु नै थियो भने किन लगिनस् तेरा यादहरू तँसँग जसरी लान्छ कसिङ्गर बडारेर हुरीले।’
फूललाई चुम्छ अनि आँखा चिम्म गर्दै मिल्काइदिन्छ र बेस्मारी रुन्छ।
सुत्न खोज्छ, घडी हेर्छ बिहानको चार बजेको छ। दिमाग अन्तै मोड्न खोज्छ, सक्दैन। उसैसँग मनगन्ते कुरा गर्छ, कहाँ गएकी, उसले अपेक्षा गर्छ मैले सोचेजस्तो केही नभनोस्। बरु मेरो सोचलाई नै निच देखाओस् मलाई नै गलत साबित गरोस् र ‘होइन म दिदीकोमा नै थिएँ, नपत्याए यी हेर दिदीसँगको फोटो’ भन्दै उसले मलाई विश्वास दिलाओस्। ऊ चाहन्थ्यो, उसको आगमन, आएर उसको मनमा चलेका अनेकौँ आँधीहुरीलाई क्षणभरमै साम्य पारोस् र भनून्- ‘म कतै गएकी छैन, यही त छु नि धेरै नसोच म कहीँ जान्न।’
तर अफसोस ऊ यो पनि जान्दथ्यो कि यो किमार्थ हुने छैन। मन मान्दैन उसको, कहाँ होली एक पटक हेर्न उसकै घर जाऊँ कि भन्ने सोच्छ। उठ्छ आज म उसलाई खोजेरै छोड्छु, यी मेरै आँखाले हेर्छु भन्छ। साँच्चै भेटेँ भने म जाने छु धेरै टाढा जहाँ उसको चाहेर पनि सम्झना आउन दिने छैन। रुनु रुन्छ, तड्पनु तड्पन्छ तर मान्न चाहन्न उसले उसलाई लल्कारेको। बुझ्न चाहन्न ऊ उसलाई अर्कैसँगको तस्बिर देखाउँदै उसले गरेको अपमान। मान्न चाहन्न ऊ उसले दिएको धोका।
एक्कासि शरीर काँप्न थाल्छ। मुटुमा चिसिक्क चिसिक्क गर्दै दुख्न थाल्छ। एक हातले छाती बेस्मरी दबाउँछ। बुङ्लुङ बिस्तारामा पल्टिन्छ, ऊ आत्तिन्छ, मुटुको बेगले सीमा नाघ्छ, सास फेर्न गाह्रो भएजस्तो हुन्छ। प्रेम कति निर्दयी हुन्छ है, ऊ कस्तो प्रेम गर्दैछ? उसलाई थाहा छ बगेको खोला फर्किँदैन। थाहा छ उसलाई ऊ कहिल्यै जीवनयात्रीका रूपमा चुनिएको मान्छे होइन तर पनि ऊ तड्पिन्छ त्यही एकतर्फी प्रेमको लागि। दाह्रा किट्न थाल्छ, आँखाबाट बरबर आँसु बग्न थाल्छ, बिस्तारामा बिछ्याएको तन्ना मुठ्ठीले बेस्मारी कसेको छ। खुट्टा चिसिँदै छन् उसका, मुखबाट सेतो फिँज बगेको छ। केटो आज पनि सिजर अट्याकको फेलामा परेको छ।
आँखा खोल्छ। साथी हस्पिटलको बेडमा खुट्टा दबाउँदै ऊ होसमा आउने समयको प्रतीक्षामा बसेको देख्छ। आँखा खोलेको देख्नसाथ मलिन भावमा साथीले सोध्छ- ‘कस्तो छ तँलाई?’ साउती स्वरमा ‘ठिकै छु’ भन्दै थोरै माथि सर्न खोज्छ।
साथीले बेडलाई माथि उठाउँछ र सिरानीको आड दिँदै सोध्छ- ‘कहाँ थिइस् रातभर?’
‘घरमै त थिएँ, चार बजेसम्म आएनस् अनि म बाहिरतिर निस्किएँ।’
साथीले माटोले भरिएका नङ हेर्छ र थर्काउँदै भन्छ- ‘थिस् घरमा? एबिवुडको पुलमुनिबाट उठाएर एम्बुलेन्सले ल्याएको छ।’
केही सोचेजस्तो गर्छ अनि भन्छ, ‘आज राति मैले गुलाफको फूल पनि फालिदिएको थिएँ त, त्यहाँ म घर नभएको भए कसरी सम्भव हुन्छ।’ यति भन्दै विश्वास दिलाउन खोज्छ।
‘कुन फूल?’ साथीले सोध्यो।
‘त्यो के काटेको बोतलमाथि राखेको।’
साथी झर्को मान्दै भन्छ, ‘बौलाइस् कि क्या हो, तैँले नै होइन त्यही फूलको फ्रेम बनाएर राखेको अनि कुन फूल फालिस् आज?’
तर ऊ फेरि उही कुरा दोहोर्याउँछ, ‘म घरमै थिएँ यार।’ एकैछिन सन्नाटा छाउँछ अनि मन्द मुस्कानसहित साथीलाई सोध्छ, ‘ऊ घर आई त?’
साथी जुरुक्क उठ्छ र बिच्किँदै भन्छ, ‘तँलाई केको चासो हो के यार? ऊ आए नि नआए नि तँलाई के? के गर्छस्, ऊ आएर फेरि जान्छस् भिख माग्न? फेरि जान्छस् रुँदै त्यही भन्न कि मलाई नछोड? कहिलेसम्म माग्छस् भिख? तैँले जति गरेनी ऊ फर्किनेवाली छैन। किन बुझ्दैनस् के तँ? कति दिन मार्छस् आफूलाई? आफ्नो हालत हेरेको छस् तैँले? दुई महिनाको अन्तरालमा आठ पटक भइसक्यो। मर्छस् के तँ कुन दिन?’
साथीका आँखा राता भएका छन्। बेसुरमा ऊ एकटक भएर कुरा सुन्दै छ।
‘खै त यत्रो दिन यसरी जिउँदै लास हुँदा ऊ तँलाई खोज्दै कुनै दिन आई? भन् त मलाई। तँ उसको लागि मर्दैछस् जसलाई तँ मरे पनि कुनै प्रभा नै छैन।’
उसले बिचमै रोक्छ र भन्छ- ‘म निःस्वार्थ प्रेम गर्छु उसलाई। उसले गरोस् या नगरोस् तर म हर दिन हर रात गर्छु।’
साथी आँसु पुछ्दै उसलाई घच्घचाउँदै भन्छ- ‘कस्तो प्रेम हो यार यो! मान् न भनेको, प्लिज यसो नगर्। बिन्ती भुलिदे अब उसलाई।’
घुक्क-घुक्क गर्दै साथी रुन्छ। ऊ एकसुरले हेर्दै भन्छ- ‘फोन गर्न उसलाई एक पटक बोली सुन्न मन लाग्यो।’
सास फुलिरहेको हुन्छ। अफ्ठ्यारो मान्दै बोल्छ। साथीले नर्ससँग गएर उसको फोन माग्छ। लकरबाट फोन झिक्दै उसलाई बढी दिमागमा जोड दिने कुरा नगर्न आग्रह गर्दै फोन हातमा थमाउँछिन्। फोन हातमा लिएर उसको छेउमा राख्छ। हात काँपाउँदै फोन लिन्छ, अनुहारमा चिरचिर पसिना निस्केको छरपस्टै देखिन्छ। फोन डायल गर्छ। टुर-टुर गर्दै घन्टी जान्छ तर फोन उठ्दैन। घाँटी चपक्कै सुक्छ साउती स्वरमा ‘तेरो फोनबाट गर्न’ भन्दै साथीलाई फोन दिन्छ। साथीले आफ्नो फोनमा नम्बर डायल गर्छ र उसको हातमा फोन दिन्छ। घन्टी जान्छ तर उसकोबाट पनि फोन उठ्दैन।
पाँच सात मिनेटको अन्तरालपश्चात् साथीको फोनमा घन्टी बज्छ, ऊतर्फ इसारा गर्दै त्यही केटीको हो भनी सङ्केत गर्छ। हत्तारिँदै मुखमा लगाएको अक्सिजनको मास्क निकाल्छ र साथीतर्फ हात लम्काउँछ। साथीले फोन उठाएर लाउड स्पिकरमा राख्दै उसको हातमा फोन दिन्छ। उताबाट ‘हेल्लो हेल्लो’ भन्दै बोलेको मज्जैले सुनिन्छ। उसले हेल्लो भन्न खोज्छ तर बोली निस्किन्न। ऊ बोल्न खोजेजस्तो गर्छ, उताबाट एक एकछिन रोकिँदै हेल्लो भनेको आवाज आइरहन्छ। यस्तै गर्दागर्दै दस पन्ध्र सेकेन्डपछि फोन काटिन्छ।
ऊ निसासिन्छ, आँसु भरिएर आँखाको डिल-डिलबाट पोखिन लाग्छन्। एक पलमै उसको हर्कत फेरिन्छ, ओठ बतासको झोकाले फ्याट-फ्याट गर्दै हल्लिएका झ्यालका पर्दाजस्तै फरफराउन थाल्छन्। हातमा भएको फोन उसको छातीमाथि खस्छ, मल्टिपारा मिटरमा टिइइइ टिइइइको साइरन बज्न थाल्छ र एक्कासि ह्वात्तै सय, एक सय बिस बिट प्रतिमिनेट हुँदै सिधै तल झर्न थाल्छ। क्रमशः नब्बे, पचहत्तर, साठी, पचास हेर्दाहेर्दै उसको प्रतिमिनेट ढड्कने मुटुको चाल मिटरमा दस हुँदै जिरोमा पुग्छ।
साथीलाई त्यहाँबाट हट्न भन्दै हतारिँदै नर्स र डाक्टरले पर्दा लगाउँछन्। ‘सिपिआर, सिपिआर’ भन्दै डाक्टरको भयभीत स्वरमा चिच्याएको बाहिरैसम्म सुनिन्छ। ऊ अवाक् हुन्छ। क्षणभरमै सबै सक्कियो जस्तो लाग्यो, अत्तासिन्छ ऊ, आँसुले आँखा भरिन्छ।
आखिर हराउनु नै थियो उसलाई कतै
आफूलाई नै भुलेर अन्त्यमा हरायो त्यतै
अनकन्टार छ आज चारैतिर
आफैँ जिउँदो लास बनेर ऊ मर्यो यतै
हातमा रहेको उसको फोन हेर्छ, पछाडिपट्टि कभरमा एउटा कागजको चिर्कटो देख्छ। त्यहाँ लेखिएको थियो
म मरे भने तिमीले पछुतो मान्छ्यौ कि नाइँ
मेरो लास भेट्न घाटसम्म जान्छ्यौ कि नाइँ
जिउँदो रहुन्जेल त तिम्रो अङ्गालोमा बेरिन पाइनँ
अन्तिम पल्ट भए नि तिमीले अङ्गालो मार्छ्यौ कि नाइँ
पढ्छ, भक्कानिँदै रुन्छ। पानामा आँखाबाट खसेका आँसु तपतप गर्दै झर्छन्। बिचरा प्रेम गर्यो तर आफूलाई सक्ने गरी गर्यो। पिएन उसले विष, झुन्ड्याएन आफूलाई कतै घाँटीको पासोमा, खायो प्रेम जहर। पलपल मर्दै गयो सम्झनामा, दिनदिनै सक्दै गयो आफूलाई प्रेमको विषमा। जसका लागि मर्यो उसले थाहा पो पाउने हो कि होइन कुन्नि!