मानिस आजकल प्रकृतिमा जान्छन्—
तर रुखसँग,
बिरुवासँग,
हरियालीसँग
उनीहरूको कुनै साइनो हुँदैन।
उनीहरू जान्छन्
किनकि उनीहरूका छिमेकी
पहिले नै गइसकेका हुन्छन्
र उनीहरूको फोटो पनि
फेसबुकमा आइसकेको हुन्छ।
प्रकृति अब
अनुभव रहेन,
केवल एउटा पृष्ठभूमि भएको छ।
मानिसलाई आजकल
खुसी हुनु छैन—
‘खुसी’ देखिनु छ,
‘खुसी’ अपलोड गर्नु छ।
त्यसैले फोटो खिच्ने बेला मात्र
जबरजस्ती मुस्कुराउँछन्
त्यहाँ
न दिल खुल्छ,
न हृदय प्रफुल्लित हुन्छ।
समवेदना आजकल
मेसिनले लेखिदिन्छ
मरेकी आमाको तस्बिरमुनि
बोझिला शब्दहरूको सजावट हुन्छ
समवेदनामा व्यक्तिगत पीडा होइन,
यान्त्रिक वाक्यहरू हुन्छन्।
प्रेम गर्न पनि सजिलो भयो आजकल—
प्रेमपत्र समेत
अब एआईले लेखिदिन्छ।
अझ भनौँ—
शब्दहरूको थुप्रो लगाइदिन्छ;
न कुनै भावना,
न कुनै आत्मा—
न त्यसले हृदय छुन्छ,
न पढ्दा मानवीय स्पर्श भेटिन्छ।
बरु पढ्ने मानिसलाई
कहिलेकाहीँ लाग्छ—
यो कतै पहिले नै
पढिसकेको हो
यहाँ त केवल दोहोरिएको मात्र हो।
यसरी नै मानिसहरू आजकल
एक अर्कालाई झुक्क्याउँछन्
र आफैँ झुकिन्छन् पनि।
रमाइलो के छ भने—
सबैलाई थाहा हुन्छ कि
सब झूट हो।
सेक्सपियरले जीवनलाई रंगमञ्च भनेका
त्यसै होइन रहेछन्—
यहाँ मान्छेहरू जीवन होइन,
भूमिका निभाइरहेका छन्
कृत्रिम खुसी अपलोड गर्दै,
वास्तविक दुःख डाउनलोड गरिरहेछन्।