म भर्खरै पर सर्न थालेकी थिएँ। अघिल्लो महिना त कुना पसेर नै गएको थियो। यो महिना काम गर्न निस्किनु नै पर्यो। जेठ महिनाको अन्तिम तिर दिनहरू ज्यादै नै गर्मी हुन्थे। बिहानको खाना खाएर दुई बहिनीसहित चार माउ बाख्रा, एक हल गोरु र एउटा थारो भैँसी लिएर बेसी झरेकी थिएँ म।
बस्तुभाउ र बहिनीहरू दिनहुँ मेरै जिम्मा हुन्थे। त्यति बेला बाले बच्चा हेर्ने, त्यो पनि छोरीहरू असम्भव जस्तै कुरा भइहाल्यो। आमा फेरि पनि दुइजीउकी हुनु भएको थियो। उहाँलाई भाइ पाउनु थियो जसरी पनि। त्यसो त दुइजीउ नै भए पनि आराम गर्ने चलन थिएन। आमालाई पनि मेला जानै पर्थ्यो।
बिहान खाएको ढिँडोले छोड्दै थियो। घाम माथि हुँदै बस्तु लिएर जाने कुरा पनि आएन। आमाले घाम डुब्दासम्म चराउनू, म बेलुकीलाई मात्र थोरै घाँस लिएर आएछु भन्नु भएको थियो। तर भुडी नै क्याउ-क्याउ हुने गरी भोक लाग्दै गयो। त्यसो त पर सर्दा ज्यादै नै हुने रहिछ भोकले। ऐसेलु पनि दिनहुँ खाँदा खाँदै बोटै रित्तिसक्या थियो। गाउँभरिका केटाकेटीको काम नै त्यही हुन्थ्यो। दिनभरि बस्तु चराउने ऐसेलु खाने। चुत्रो भने पाक्ने बेला भएको थिएन। मलाई भोकले अति नै भइसक्या थियो।
घर जान एक घण्टा उकालो हिँड्नु पर्थ्यो। त्यही पनि घरमा खाइहाल्ने कुरा केही थिएन। बिहान मैले खाएको ढिँडो त हिजो बेलुकीको थियो। आमाले लुँडे कोर्दै खाएको सम्झे अनि अझ ढुक्क भएँ घरमा केही नै छैन बेलुका ढिँडो नपाक्दासम्म। मलाई एक्कासि आमैका घरको महीको याद आयो। त्यसै पनि मलाई अमिलो खानु झैँ भएकै थियो। बहिनीहरू पनि त भोकाएका थिए। तिनलाई छोडेर कसरी एक्लै जान सक्थेँ!
कान्छीलाई बोकेँ। माहिली त हिँड्न सक्थी। हामी लाग्यौँ उकालो। भोको पेटमा, रगत बगेका बेलामा कान्छी बोकेर उकालो हिँड्न गाह्रै थियो। तैपनि बस्तु पल्लाघरे हेमकुमारीलाई ‘हेर्दे है मेरो नि एक्कैछिन’ भनेर हिँडे। गहुँ काटिसकेकाले खेतहरू खाली नै थिए। असारलाई खेत खन्ने जोत्ने धमाधम थियो।
‘धानको ब्याडमा बस्तु चर्लान् है हेमकुमारी, तेरो जिम्मा भो’ भनेर चिच्याउँदै उकालो लागेकी थिएँ। उकालो हिँडेर हस्याङफस्याङ गर्दै आमैका घरमा पुग्यौँ। आमै आँगनमा गहुँ केलाउँदै हुनुहुन्थ्यो। बाजे काकाको छोरो काखमा लिएर सातु खुवाउँदै हुनुहुन्थ्यो। आँगनमा पुग्न नपाई माइली बोलिहाली- ‘आमै, मोही र सातु थ्यो कि। हामी त भोकले फत्र्याक-फत्र्याक परेर आका बेसीदेखि।’
आमै केही सुने नसुने झैँ गरी नाङ्लो केलाउनमै व्यस्त भइन्। बाजेले पिँढीको डिलबाटै कराए, ‘ए आइमाई! केटीहरू भोकाएर आछन्। ठेकीमा अस्ति पारेको मोही भए दे त। सातु रलेर खान्छन् रे।’
केलाउँदै गरेको नाङ्लो फ्यात्त भुइँमा फालेर आमै बोलिन्, ‘कसको मोही पाउनु!’
‘अलिकति थ्यो, दे त।’
‘ऊ, केटो खाँदै छ। तिम्रा काखमा। बाक्लो दाल खाउँला भनेर चुलो छुट्ट्याएर गकाले पातलो मोही पनि खवाउन सकेछन् ए लौ। भर्खर ब्याको दुनो भैँसी लिएर छुट्टेका। पैसाको लोभले थारो भैँसीसँग साट्नीले छोर्छोरीलाई मोही खवाउन चाहिँ गाउँलेकामा माग्न पठाका ए लाजको पसारो।’
अघि भोको पेटमा त्यतिका रगत जाँदा पनि ज्यान यति सोरिएको थिएन। आमैका बचनले त मलाई खङ्ग्रङ्गै बनायो। ‘थुक्क सोस्ते के खान मरेकी; यतिका घाममा! यत्रो उकालो! बरु त्यही काँचो चुत्रो खाँदिहोस् पाखैमा।’ आफ्नै मनले सरापे झैँ गर्यो।
म त आमैका आँगनमै खाँबो गाडे जस्तै ठिङ्ग भएछु। कान्छी बहिनी पिठिउँबाट झर्न खोज्दै थिई। उसले आमैका भाषा बुझेकी थिइन। उसले केवल भोकको भाषा बुझेकी थिई। उसको ध्यान काकाको छोराले खाँदै गरेको सातुको बटुकोमा थियो। माइली अघिदेखि त्यति हेरेर थुक निल्दै थिई। उसले भने आमैका भाषा बुझेकी थिई। अमिलो मुख लिएर म तिर हेर्दै थिई।
मेरो काँध गल्यो। मैले कान्छीलाई भुइँमै छोडिदिएँ। ऊ बामे सर्दै बाजे र भाइ भए तिर जान लाग्दै थिई। आमै चिच्याउँदै आइन्, ‘समात् तेरी साढेलाई। तँ पर सरेकी भन्या होइन? भाइलाई छुन जाली। अहिले सातु बिटुलो हुन्छ।’ आमै भुतभुताउँदै भित्र छिरिन्।
म थ्याच्च पर्खालको डिलमा बसेँ। माइलीले भाइलाई सकीनसकी तान्न लागी। एक त त्यो भाइले खाँदै गरेको मोही र सातु नै होइन। त्यो दूध हो। यिनका घरका मोही जुठेल्नुसम्म नि अमिलो बसाउने हुन्छ। मैले नजानेकी हुँ र। अस्तिसम्म मेरो पनि त घर थियो नि यो। पर सरेकी म बहिनीसम्म बिटुलो हुन्छे यिनलाई। आफू पनि त अझै पर सर्छिन् नि। अहिले पो पाउनी भएकी छिन् त।
हामी जेठाका सन्तान, माइलो काकाको छोरो बाजेका काखैमा छ। साइला काका छन्। अझ काइँला काका त मेरै उमेरका हुन्। अब खै के पाउन लाग्या हो बुढेसकालमा कान्छा काका हो कि कान्छी फुपू! अनेक तर्कना खेलिरहेका थिए मनै मन। अस्तिसम्म मेरो पनि घर थियो यो। यिनले मोही कहाँ राख्छिन् थाहा छैन र नि मलाई। घोप्टे पछाडिको सन्दुकमा ताल्चा लगाएर राख्छिन्।
एकछिन त लाग्यो बुढीको पछि-पछि गएर सन्दुक फोरेर त्यो कुडेको दूध, घिउका बट्टा, दही, मोही सबै ल्याएर जुठेल्नुमा हुत्त्याएर भागौँ। यस्तै-यस्तै सोचाइहरू आउँदै गए।
आफै जन्मेको घर पनि बाले आफ्ना भागको तिलको गेडो लिएर छुट्टिएपछि हजुरबाको, काकाको घर भयो। हजुरबाका काखमा बसेको काकाको छोरो र ममा के फरक छ र? हामीलाई त बाजेले त्यसरी कहिले काखमा लिए भन्ने नि याद आउँदैन। हुन त हामी अहिल्यै भिन्दो बस्नु परेको हामी छोरी नै छोरी भएर हो। छोराले खाको र घोडाले खाको खेर जाँदैन भन्ने समाजमा हामीले खाएको पनि खेर जान्छ भनेर हो हामीलाई भिन्दो गराएका।
बाजेले हामीतिर हेर्न सकेका पनि थिएनन्। पर्खालको डिलमा दुई बहिनी च्यापेर बसेकी म भोको पेट मिच्दै घामतिर हेरेँ। बस्तु लिन पो जानु छ।
रिस उठेको थियो आफैसँग। म के खान आएकी यहाँ! अनि बा-आमा सँग पनि। दुहुनो भैँसी नपठाउन बा, मोही भने नि खान हुन्छ भन्दा ‘घरको व्यवहार केटाकेटीलाई के थाहा। अलिकति भए नि पैसाको जोहो हुन्छ। यो थारो भैँसी पनि अर्को साल त ब्याउँछ पो’ भन्नुभयो। बाले यसो भनिरहँदा आमा केही बोल्नु भएको थिएन। लैनो भैँसी हुँदा दुख हुन्छ। थारो भैँसी र गोरु भए त हामी दिनभरि चराउँछौँ। बेलुका पराल मात्रै हाल्न पाइन्छ भनेर त होला। मेरो मनमा यस्ता कुरा खेली नै रहे।
यतिकैमा आमै आइन्। उनका हातमा एउटा कचौरा थियो जसमा अलिकति मोही र सातु थियो। कचौरा तीन हात परै राखेर फेरि नाङ्लो भए तिर गइन्। मुख अँध्यारो थियो। म तिर हेरिनन् तर मैले आमैतिर हेरेकी थिएँ। माइली भोकले रन्थनिएकी थिई। हुत्तिँदै कचौरा समाउन गएकी, घप्ल्याकै कचौरा आँगनमा घोप्टियो।
लौ बरबाद। अब मारे।
आमैले यत्रा आँखा पारेर हेरिन् कि मानौँ हामी तीन बहिनी नै तिनका आँखाबाट भित्र छिर्थ्यौँ। थुक्क! पर्खालका डिलमा थुक्दै भनिन्, ‘ढङ्ग सकिएकाहरू। खाओ अब...’
माइली निस्याली भई। पोखिएको मोही र सातु आफ्ना हत्केलाले कति उठाउन सक्थी उठाई। उस्का साना औँलाले सातु रयाली। कान्छीलाई एक घुट्को खुवाई। एक घुट्को आफूले खाई। मतिर हेरी, मैले खाँदिनँ भन्ने इसारा गरेँ। दुई बहिनी मिलेर त्यो माटो लागेको कचौरा चाटीचुटी पारे।
घाम डुब्न डुब्नै लागे। कान्छीलाई बोकेर त्यत्रो ओरालो, फेरि त्यत्रो उकालो हिँड्ने आँट नै थिएन ममा। घरमा बा-आमा मेलाबाट आउने बेला भएको थिएन। अब आमै कहाँ छोडौँ भने मारी हाल्नेछिन् आँखा तरेरै। फेरि दुई बहिनी साथ लिएर भोको पेट दरिलो पार्दै, लुला गोडा दरिला पार्दै ओरालो झरेँ।
पँधेरोमा पुगेर टन्न पानी खाएँ। पछ्यौरीले पेट कसेर बहिनी बोके, हिँडे। बाटोभरि मनमा कुरा खेलिरहे। आफ्नै सन्तान शत्रुझैँ हुने भएपछि धेरै चाहिँ किन पाउन परेको होला! काकाहरू नजन्मेका भए हामी मात्रै हुन्थ्यौँ। त्यही घरमा बस्थ्यौँ। पानी चुहिने गोठलाई घर मानेर सर्नु पर्ने थिएन होला। न त आज आमैका यति हेला हुनु पर्थ्यो जाबो मोही र सातुका लागि।
त्यो दिन त्यो रात यस्तै तर्कना गर्दै बितेको याद आइरहन्छ।
उमेर बढ्दै गयो। बिहे गरेर पठाए अनि आफ्नै घर माइती भयो। बा-आमा छउन्जेल माइती जाँदा न्यानो पन थियो। बाआमा बितेर गए अनि माइतीको माया नि चिसिँदै गयो। अहिले साठी वर्ष पुग्नै लागे। बुढा नि स्वर्गीय भए। दुई भाइ छोरा छन्। तिनका आआफ्नै परिवार छन्।
दाजुभाइको जात तिलैको गेडो पनि फोरेर छुट्टिनु पर्ने। मेरा छुट्टिएर बसेका छन्। भिन्दै बस्ने बेलामा एउटा रोज्नै पर्थ्यो। छोरा बराबरी हुन् मलाई जुन औँलो काटे नि उत्तिकै दुख्छ। तैपनि छोरो कान्छो नै प्यारो भयो। पछि जन्मेर पनि होला बच्चै छ झैँ लाग्यो। बुहारी कान्छीले भन्दा जेठीले राम्रो माने झैँ गर्छे। तैपनि छोरैको मायाले तान्यो। कान्छाका साथ लिएर बसिछु।
एउटै घरमा बसेपछि केटाकेटी आउजाउ त गर्ने नै भए। अहिले आफैले कान्छाका छोराछोरी काखा लिएर जेठाकालाई पाखा लाए झैँ हुन्छ। सहरको ठाउँ सबै कुरो किन्नुपर्छ। अर्काले खटाएर दिएका कुरा सबैलाई बराबरी दिन नि सक्दिनँ। अहिले कान्छाका छोरालाई ख्वाउँदै गर्दा जेठाका छोराछोरी थुक निलेर तल झर्छन्। अप्ठ्यारो मै फलेको फर्सी भएकी छु। टार्ने पुर्याउने उनीहरू छन्। म बुढीले के चाहिँ गरूँ!
आज कान्छाका छोरालाई खर्बुजा काटेर दिँदै थिएँ। जेठाकी छोरी आमा भन्दै टुप्लुक्क आइपुगी। टुलुटुलु हेरी। मागिन माग्न त। एउटा टुक्रो बाँकी थियो। दिऊँ त अहिले बुहारी कामबाट आउली। खारो भएर आएकी हुन्छे। फ्रिज खोलेर हेर्ली, खोइ भन्ली। फेरि यही कान्छाकै छोरो ज्याद्रो छ। अहिले यसैले राँको बाल्छ ले भनेर।
केही नबोली नातिनी तल झरी। खिन्न मन लिएर थ्याच्च सोफामा बसेँ। आमै बितेको थुप्रो वर्ष भइसक्यो। आमैलाई सम्झेँ। परिस्थिति फरक होला तर आज आफूलाई आमैकै ठाउँमा भेटेँ। व्यवहारको चपेटोले मान्छेलाई के-के चाहिँ गराउँदो रहेछ। लागिरहेछ जीवन वास्तवमै एउटा नाटक रहेछ। त्यति बेला नातिनीको भूमिका गरेकी म अहिले आमैको भूमिकामा छु।