तिमी त्यो फूलको बगैँचा हौ
जहाँ म भमरा बनेर आउँदा
तिम्रो सुगन्धको वासनामय संसारमा
आफैलाई हराइरहेको पाउँछु।
यदि कुनै दिन
म कतै भेटिइन भने
तिमी आफ्नो बगैँचाको अन्तरकुन्तरमा खोज्नू
सायद म त्यहीँ
तिम्रो सुवासमा सम्झनाका रङहरू खोज्दै
निस्फिक्री हराइरहेको हुनेछु।
सायद त्यो पल यति खास हुनेछ
जहाँ कसैको मायामा,
कसैको यादमा,
कसैको सम्झनामा,
कसैको सुगन्धमा
आफ्नो अस्तित्व नै बिर्सिएर हराइरहन पाइन्छ।
म त्यो भमरा होइन
जो सुगन्धको खोजीमा
हजारौँ फूल चुम्दा पनि
कहिल्यै तृप्त हुन सक्दैन।
म त त्यो भमरा हुँ,
जो तिम्रो बगैँचाको सुवासमै
बेहद तृप्तिको आनन्द भेटेर
तिम्रै वरिपरि हराइरहन चाहन्छु।
तिमी जस्तै न्यानो,
तिमी जस्तै सुन्दर
सायद अर्को कुनै लोक छैन,
जहाँ म आफैलाई भुल्न सकूँ,
जहाँ सम्झनाका भेलहरूमा
मन निस्फिक्री बग्न सकूँ।
त्यसैले—
तिमी त्यो लोक हौ,
त्यो सुवासमय बगैँचा हौ
जहाँ माया छ,
जहाँ सपना छ,
जहाँ विश्वास छ,
जहाँ सुखको प्राप्ति छ।