कविता
यसपालि पनि
जाडोको कविता लेख्छु भन्दा भन्दै
हिउँद फुत्किन आँटिसकेछ।
ऊ आउँदै गर्दा
टाढा कतै बजिरहेको सनाइको मधुरो धुन जस्तै
एक बिहानको पानीमा बरफको आभास महसुस गरेको थिएँ।
अन्य दिनभन्दा अलि गहिरो चुब्ने
सिरेटो चलाएर,
छालामा फुस्रो कोस उमारेर,
झ्याललाई अलि अस्पष्ट बनाउँदै,
आकाशलाई थोरै फिका बनाएर,
फूलहरूलाई मलिन बनाउँदै—
खबर नपठाएको पनि होइन।
ऊ आएको खबर
सहरको ज्याकारान्डा
नाङ्गो बनाएर,
मरेकाहरूका यादहरू
फूलका डाला-डालामा झुन्ड्याएर—
आफूलाई पनि
मरूम–मरूम जस्तो बनाएर
नपठाएको पनि होइन।
पुलचोक पुलमुनि
चिसो झेल्न डेन्डड्राइडले फोक्सो सेकेर,
हावामा केलाइडोस्कोप हल्यूसिनेट गरिरहेका,
एकालापमा हराइरहेको
रङ्गमञ्चको पागल पात्रजस्तै,
भुराहरूको बथानसँग
भेट नगराइदिएको पनि हैन।
घामका किरणहरूलाई
बीचमै अवरोध गरेर
अघिल्ला साल
केही थान सदस्यका लागि
घर भइदिएको चिहानको कान्लामा
टाँगिएको अधुरो परिवार बस्ने त्रिपालभित्र
-एक्कासि चल्ने शासकको डोजरजस्तो-
चिसोलाई छापा मार्न नलगाएको पनि होइन।
युद्ध विछिप्त शिशुको ओछ्यान
शितले भिजाएर, तुषारो उमारेर—आमा सम्झाइदिएर
उसले मलाई आफ्नोबारे कविता लेख्न प्रेरणा नदिएको पनि होइन।
दुरूस्तै शासक र मौसम
गरिबलाई मात्र धावा बोल्ने।
शासक—पेटी ओगटिदियो भनेर
वर्षैभरि ‘ला टोम्याटिना’ जात्रा मनाउँछ।
ऊ—छतको भग्नावषशेमुनि
भाग्य कोच्दै पुर्पुरो धसिरहेको माथि बरफको वाण बर्साउँछ।
झोक चलेर— जाँतो आवाज मेरो दाँतबाट न निस्किएको पनि होइन।
मेरा मुठ्ठी ग्रिनेडजस्तो नकसिएको पनि होइन।
तर
मैले यो साल पनि उसलाई—'लेख्छु लेख्छु' भनेर टारिरहेँ।
मलाई कविता लेखाउन ऊ कति चिसो हुनपर्दछ—अनुतरित छु म ।
यसपालि पनि
जाडोको कविता लेख्छु भन्दा भन्दै
हिउँद फुत्की सकेछ।