हिमाली भूमि गगन चुमी गर्वले मुस्कायो
सल्ला र धूपी गाँसेर प्रीति खुसीले सुसायो
लेकाली ठिटो फुर्तिलो छिटो तेजिलो मुहार
खुसिलो मन दर्बिलो तन जोसको जुहार
जुँगाको रेखी बसेको देखी ऐनाले जिस्क्यायो
इच्छित रोज्न बेहुली खोज्न आत्माले अरायो
पहाडी भेष सम्म्याई केश चिटिक्क परेर
बेहुला बन्यो घोडामा चढ्यो मुस्कान छरेर
जन्तीको हुल टाँगियो तुल बाँसको गेटमा
पाहुना जन प्रफुल्ल मन रमाए भेटमा
पछाडि जन्ती छ कोरी गन्ती नौमती घन्कियो
बेहुला बिच अगाडि नाच भन्ज्याङै रन्कियो
पहाडी ठाउँ दुर्गम गाउँ बेहुला घरको
कमेरे भित्ता भकारी रित्ता छानो छ खरको
पहाडी बाटो ढुङ्गेनी माटो भिरालो अप्ठ्यारो
लड्दै र पढ्दै अगाडी बढ्दै टेकेर तुसारो
जन्तीको टोली तरेर खोली पुग्दछ लक्षमा
छाउँछ शान्ति देखेर जन्ती बेहुली पक्षमा
बेहुली आइन् ज्यान्तीमा छाइन् वरणी बोकेर
नाडीमा बाला हातमा माला पछ्यौरी ओढेर
दुलही नानी काँठकी सानी नजर चञ्चल
रूपकी परी आँटकी दरी वदन चपल
बाटेकी चुल्ठी औलीमा औँठी अधर सिम्रिकी
गुन्यू र चोली नाकमा फुली यौवना षोडशी
कानमा मुन्द्री नाकमा ढुङ्ग्री घना छ कपाल
हरिणी चाला रक्तिम गाला कन्धर मृणाल
माला र औँठी खुसीले साटी बन्धन बाँधियो
अक्षता पुष्प अर्पेर छ्याप्प बाराती पर्सियो
जग्गेमा बसी सिन्दूर घसी पोतेको वरण
बधूले छोइन् जलले धोइन् बरको चरण
भरेर घडा धोएर गोडा रचियो रिवाज
मौलिक रीति पुर्खाको थिति पहाडी आवाज
सनाई रोयो वेदना फोयो अन्मिने बेलामा
मुटुमा चुभ्यो गाउँ नै डुब्यो आँसुको मेलामा
विरही घडी डोलीमा चढी वधूको बिलौना
आमा र बाबु नपाई काबु पोख्छन् वेदना
भित्र्याई वधू रूपसी मधु घर भो उज्यालो
ससुरा सासू बगाई आँसु हर्षको रौँदालो
काटेर खसी बारीमा बसी भतेर खाइयो
मारुनी नाची सिलोक वाची खैँजडी गाइयो
संस्कृति हाम्रो विश्वमै राम्रो प्रभुको निगाह
रीति र थिति लगाई औति अन्तियो विवाह।