‘फलानी त गाउँमा देखिँदैनन् है! जागिर खाएपछि त मान्छे चिन्नै छाडिन् जस्तो छ।’
चौतारीमा बसेर गफ गरिरहेका केही मानिसहरूको कुराले एकछिन वातावरण नै तरंगित बनायो। कसैले सहमति जनायो, कसैले आफ्नै अनुमान थप्यो।
‘अहिले त ठुलो मान्छे भइन् नि!’
‘पहिले त हरेक कार्यक्रममा देखिन्थिन्, अहिले त गाउँमै नभएको जस्तो।’
‘जागिर खाएपछि फुर्सद कहाँ हुन्छ र! तर यति पनि व्यस्त हुनुपर्छ र?’
कुराहरू क्रमशः फैलिँदै गए। चौतारीमा बसेका मानिसहरूका लागि त्यो सामान्य गफ थियो। तर जसको बारेमा ती कुरा भइरहेका थिए, उनको वास्तविकता भने उनीहरूले कल्पना गरेको भन्दा धेरै फरक थियो।
त्यसै बेला उनी विद्यालयबाट घर फर्किरहेकी थिइन्।
दिनभर कक्षाकोठामा उभिएर पढाउँदा उनको घाँटी सुकिसकेको थियो। विद्यार्थीहरूको जिज्ञासाको उत्तर दिनु, गृहकार्य जाँच्नु, प्रशासनिक कामहरू पूरा गर्नु, अभिभावकहरूसँग कुरा गर्नु— यिनै जिम्मेवारीहरूबिच उनको दिन बितेको थियो।
विद्यालयको गेटबाट बाहिर निस्कँदा शरीर थाकेको थियो, तर मनलाई आराम गर्ने अनुमति थिएन। किनकि घर पुगेपछि अर्को ड्युटी सुरु हुने उनलाई राम्ररी थाहा थियो।
घरको ढोका खोल्ने बित्तिकै अपेक्षा गरेझैँ अनेक आवाजहरू एकैसाथ उनको स्वागतमा आए।
‘मामु, गृहकार्य सिकाइदिनुहोस् न!’
‘बुहारी, चिया खान मन लाग्यो।’
‘आज के पकाउने हो?’
‘आमा, मेरो पोसाक कहाँ छ?’
एकछिनका लागि उनलाई लाग्यो, दिनभर विद्यालयमा बिताएकी शिक्षिका यहीँ कतै हराइन्। अब उनी केवल शिक्षिका थिइनन्। उनी आमा थिइन्, बुहारी थिइन्, श्रीमती थिइन्, गृहिणी थिइन्।
उनले मुस्कुराउँदै सबैको कुरा सुनिन्। थकानलाई मनभित्रै थन्क्याइन्। झोला एउटा कुनामा राखिन् र भान्सातिर लागिन्।
चुलो बल्यो।
भाँडाकुँडा बज्न थाले।
चिया उम्लियो।
एक हातले तरकारी काट्दै गर्दा अर्को हातले छोराको गृहकार्य हेरिन्। कहिले नुन पुगेन कि भनेर भाँडामा चलाइन्, कहिले बच्चाको कापीमा रातो कलमले गल्ती सच्याइन्।
जीवन यस्तै दोहोरो होइन, कहिलेकाहीँ त चौहोरो जिम्मेवारीले भरिएको थियो।
समय घडीको सुईझैँ अघि बढिरह्यो। साँझ रातमा बदलियो। परिवारका सबै सदस्यहरूले आफ्नो आवश्यकता पूरा गरे। कसैले तातो खाना पाए, कसैले आवश्यक सल्लाह पाए, कसैले माया पाए।
तर ती सबै आवश्यकता पूरा गराउने महिलाको आवश्यकता कसैले सोध्यो कि सोधेन, त्यो कसैको ध्यानमा आएन।
रातको खाना सकियो।
भाँडा माझियो।
भोलिको लागि केही तयारी गरियो।
बच्चाको झोला मिलाइयो।
अनि बल्ल रात गहिरिँदै गयो।
घरका सबै सदस्यहरू बिस्तारै निदाए। कोही थकित भएर, कोही सन्तुष्ट भएर, कोही निश्चिन्त भएर। तर उनी भने अझै जागिरहेकी थिइन्।
बरन्डामा निस्किएर उनले आकाशतिर हेरिन्। असंख्य ताराहरू टल्किरहेका थिए। दिनभरको कोलाहलपछि त्यो केही क्षणको मौनता उनका लागि अमूल्य थियो।
उनले लामो सास फेरिन्।
त्यही बेला मोबाइलमा एउटा सन्देश आयो। गाउँमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन निम्तो थियो।
सन्देश पढ्दा उनको मन एकछिन खुसी भयो। गाउँका कार्यक्रमहरू उनलाई सधैँ मन पर्थे। आफन्त, छिमेकी र साथीभाइहरूसँग भेटघाट गर्ने अवसर मिल्थ्यो। तर त्यो खुसी केही क्षणमै यथार्थसँग ठोक्कियो।
भोलि विद्यालय जानुपर्ने थियो।
बिहानको खाना बनाउनुपर्ने थियो।
बच्चालाई विद्यालय पठाउनुपर्ने थियो।
घरका अन्य जिम्मेवारीहरू पनि उस्तै थिए।
समय कहाँ थियो र?
मोबाइलको स्क्रिन बन्द गर्दै गर्दा दिउँसो चौतारीमा सुनिएका ती शब्दहरू फेरि सम्झिइन्— ‘फलानी त गाउँमा देखिँदैनन्।’
उनको अनुहारमा हल्का मुस्कान फैलियो। कसैलाई के थाहा, उनी गाउँको बाटोमा कम हिँडेकी होइनन्। फरक यत्ति मात्र हो कि उनी अहिले जिम्मेवारीको बाटोमा हिँडिरहेकी थिइन्।
कसैलाई के थाहा, उनको अनुपस्थिति घमन्ड होइन। त्यो समयसँगको निरन्तर संघर्ष थियो।
समाजले प्रायः मानिसको उपस्थितिलाई मात्र देख्छ, अनुपस्थितिको कारणलाई होइन।
कार्यक्रममा नदेखिँदा घमन्डी भनिन्छ।
फोन उठाउन ढिलो हुँदा बेवास्ता गरेको भनिन्छ।
कसैको घरमा जान नसक्दा सम्बन्ध बिगारेको ठानिन्छ।
तर ती सबै पछाडि लुकेका संघर्षहरू कमैले देख्छन्। विशेष गरी महिलाहरूका संघर्ष।
एउटी महिला कर्मचारी बिहान सबेरै उठ्छिन्। घरको काम गर्छिन्। परिवारको आवश्यकता पूरा गर्छिन्। त्यसपछि कार्यालय, विद्यालय वा कार्यस्थल पुग्छिन्। दिनभर आफ्नो पेसागत जिम्मेवारी निभाउँछिन्। साँझ घर फर्किएपछि फेरि अर्को कार्यकाल सुरु हुन्छ।
उनको कामको निश्चित समय हुँदैन।
बिदा हुँदैन।
तलब हुँदैन।
प्रशंसा पनि कमै हुन्छ।
तर जिम्मेवारी भने कहिल्यै समाप्त हुँदैन।
उनका आफ्नै केही सपना हुन्छन्।
कुनै पुस्तक पढ्ने रहर हुन्छ।
कतै घुम्न जाने इच्छा हुन्छ।
केही समय आफूलाई दिने चाहना हुन्छ।
तर ती सबै चाहनाहरू प्रायः जिम्मेवारीको भारीमुनि थिचिन्छन्।
उनी अरूका लागि समय निकालिरहन्छिन्।
छोराछोरीका लागि।
परिवारका लागि।
समाजका लागि।
पेसाका लागि।
तर आफ्नै लागि समय निकाल्ने पालो आउँदा दिन सकिएको हुन्छ।
त्यसैले कतिपय महिलाहरू बाहिरबाट बलिया देखिए पनि भित्रभित्रै थकित हुन्छन्।
उनीहरू रोइरहेका हुँदैनन्, तर मौन हुन्छन्।
उनीहरू हार मानेका हुँदैनन्, तर आफ्ना रहरहरू स्थगित गरेका हुन्छन्।
उनीहरू कमजोर हुँदैनन्, तर जिम्मेवारीले भरिएका हुन्छन्।
बरन्डामा बसेर ताराहरू हेरिरहेकी ती महिला पनि त्यस्तै हजारौँ महिलामध्ये एक थिइन्। उनको कथा केवल उनको मात्र थिएन।
त्यो प्रत्येक शिक्षिकाको कथा थियो।
प्रत्येक कर्मचारी महिलाको कथा थियो।
प्रत्येक आमाको कथा थियो।
प्रत्येक बुहारीको कथा थियो।
प्रत्येक त्यस्ती महिलाको कथा थियो, जसले आफ्नो समय अरूका लागि बाँड्दै-बाँड्दै जीवन बिताइरहेकी छिन्।
र त्यो रात, ताराहरूको उज्यालोमुनि उनले फेरि एक पटक मनमनै प्रश्न गरिन्— ‘अरू सबैका लागि समय निकालिरहेकी म, आखिर आफ्नै लागि समय कहिले निकालुँला?’
त्यो प्रश्न केवल उनको थिएन। त्यो प्रश्न आज पनि घर, परिवार, पेसा र समाजको सन्तुलन मिलाउँदै हिँडिरहेका हजारौँ महिलाहरूको साझा प्रश्न हो।