पोखराको व्यस्त बजार चिप्लेढुङ्गाको कोलाहलबाट केही समय मुक्ति पाउन म अक्सर एउटा छहारी रोज्ने गर्छु— 'अल्मोन्ड क्याफे हाउस'। चोकमै अवस्थित यस क्याफेको चौथो तलामा बसेर बजारको अनवरत दौडधुप र गतिविधि नियाल्दै समय बिताउनुको आनन्द नै बेग्लै छ। कहिलेकाहीँ कामकै सिलसिलामा त्यता पुग्दा, यहाँको एकान्तता मेरो थकान मार्ने र भोक मेट्ने एउटा प्रिय बहाना बनिदिन्छ।
विगत केही समयदेखि व्यस्तताका कारण त्यहाँ पाइला टेक्न पाएको थिइनँ। त्यस दिन न्यूरोडको बाटो हुँदै माथितिर उक्लँदै गर्दा, अनायासै पारिपट्टि चार तला माथि रहेको क्याफेको झ्यालमा मेरो आँखा ठोक्कियो। खाजा खाने उपयुक्त समय त भइसकेको थिएन, तैपनि मनको तीव्र चाहनालाई रोक्न सकिनँ र मेरा पाइलाहरू स्वतः त्यतै मोडिए।
सिँढीबाट चौथो तलातिर उक्लँदै गर्दा दायाँ–बायाँका भित्री पसल र एजुकेसन कन्सल्टेन्सीका रङ्गीचङ्गी होर्डिङ बोर्डहरूमा आँखा डुले। मनमा अनेकन् विचारका तरङ्गहरू खेलाउँदै जब म माथिसम्म पुगेँ, क्याफे पूर्णतः सुनसान थियो। त्यो शून्यता देख्दा झट्ट मनमा लाग्यो— 'क्याफेको नियति पनि मेरै अवस्थासँग मिल्न पुगेछ, केवल शान्त र सुनसान!'
क्याफेको एउटा कुनामा थन्किएर बाहिर रहेको बिपीको सालिकतिर आँखा तन्काएँ र बजारका गतिविधि नियाल्न थालेँ। ओहो, कस्तो व्यस्त सडक! मानिसहरूको अनियन्त्रित भिड र तँछाडमछाड, गाडीहरूको ट्याँ–ट्याँ र ट्युँ–ट्युँको कर्कश आवाज! त्यसमाथि सडकमा लेन अनुशासनको कुनै पालना थिएन। सडकको यही अस्तव्यस्तता देख्दा, झन्डै ज्यानकै जोखिम निम्त्याएको ६ महिना अगाडिको एउटा बाइक दुर्घटनाको सम्झनाले मन झसङ्ग भयो। एकैछिन त जीउ नै सिरिङ्ग भयो र हातगोडा लल्याकलुलुक भए।
कस्तो अचम्मको दुर्घटना थियो त्यो, जुन पूर्णतः मेरै लापरबाहीको उपज थियो! सम्झिँदा अहिले पनि आफैँसँग लाज लागेर आउँछ। त्यति बेला कहाँ हराएको थिएँ होला म? सायद, कसैको स्मृतिमा डुब्दै–तैरँदै बाइक हाँकिरहेको थिएँ कि? अचानक 'ड्याम्म' आवाज आयो, म झसङ्ग भएँ। बल्ल चेत खुल्यो— ऐया, दुर्घटना भयो!
मैले हतार–हतार आफैँलाई सम्हालेँ र उठेँ। पछाडिबाट आफैँले ठक्कर दिएकाले विवाद गर्ने कुनै ठाउँ थिएन। त्यसैले निधार खुम्च्याउँदै निन्याउरो मुख लगाएँ। अर्काको बाइक बनाइदिने सर्तमा तत्कालको विवाद त मिल्यो, तर मलाई भित्री चोट लागेकाले अस्पताल कुद्नुपर्यो। तल्लो पेटमा कडा धक्का लागेकाले असह्य दुखिरहेको थियो।
अस्पतालमा एक्स–रे भयो। संवेदनशील अङ्गमा आन्तरिक रक्तस्राव भएकाले चिकित्सकले तुरुन्तै भर्ना हुन सल्लाह दिए। धन्न, डाक्टरहरूको समयमै र राम्रो उपचारले गर्दा नयाँ जीवन पाएँ। 'नयाँ जीवन' मात्रै पनि के भन्नु र, शरीरका सबै अङ्गप्रत्यङ्गले पूर्ववत् राम्ररी काम गर्न थालेपछि पो बल्ल पूर्ण रूपमा बाँचिएको महसुस भयो। धन्न भौमान!
अतीतका तिनै सम्झनाहरूमा हराइरहेको थिएँ। क्याफेकी परिचारिका (नानी) ले एक गिलास मनतातो पानी र मेनु ल्याएर अगाडि तेर्साएपछि मात्र म झसङ्ग भएँ। मेनुका पानाहरू केही बेर पल्टाएँ। खाजा खाने बेला त भइसकेको थिएन, तैपनि मःम अर्डर गरिदिएँ। पानीको चुस्की लिँदै पुनः सडककै गतिविधि नियाल्न थालेँ। हेर्दाहेर्दै, नीलो पाइन्ट, सेतो सर्ट र नीलो कोट पहिरिएकी एक दुब्ली–पातली युवतीले आफ्नो रातो स्कुटरले अगाडिको बाइकलाई ठक्कर दिइन्। सडकमा विवाद सुरु भयो। तर मेरो मनमा भने त्यो रातो स्कुटर चलाउने युवतीले अरू कसैको झझल्को ब्युँताइदियो।
ठ्याक्कै यही अल्मोन्ड क्याफे, आजभन्दा झन्डै पाँच वर्षअघिको कुरा। महेन्द्रपुलमा आफ्नो काम सकेर फर्किने क्रममा हामी खाजा खान भनेर यहाँ आएका थियौँ। २०७८ साल भदौको महिना थियो सायद— खलखली पसिना आउने टन्टलापुर गर्मी! टिस्यु पेपरले निधारको पसिना पुछ्दै हामी आ–आफ्नै कामको गफमा मग्न थियौँ। दुई गिलास फ्रेस जुस र खासै भोक नलागेकाले एक प्लेट मात्र मःम अर्डर गरेका थियौँ।
विगतको त्यही नोस्टाल्जिया (स्मृति) मा टोलाइरहेकै बेला टेबलमा तातो मःम आइपुग्यो।
‘अरू केही ल्याऊँ सर?’ उनले सोधिन्।
‘ठिक छ, अहिले पर्दैन,’ मैले भनेँ र उनी आफ्नो बाटो लागिन्।
टेबलमा मःमको प्लेट देखेपछि मेरो मानसपटल पुरानै लयमा फर्कन थाल्यो। त्यति बेला आ–आफ्नो गिलासको जुस पिउँदै गर्दा मःम आइपुगेको थियो। मःम एउटै प्लेटमा आएकाले मैले बाँडेर खानका लागि साइड प्लेट र काँटा मगाउन खोजेँ, तर उनले तत्कालै रोक्दै भनिन्— ‘किन चाहियो र? पर्दैन।’ अर्थात्, हामीले एउटै प्लेटबाट खाने भयौँ।
सानो छँदा बुढापाकाले भनेको सुनेको थिएँ— ‘एउटै भाँडामा खाँदा जुठो पर्छ, र जुठो खायो भने माया बस्छ।’ मेरो मुखबाट प्वाक्क निस्कियो— ‘जुठो खाएर फेरि माया बस्ला नि!’
उनी एकाएक लजाइन् र मन्द मुस्कुराउँदै भनिन्— ‘के फरक पर्छ र?’
‘के फरक पर्छ र?’ उनको त्यो वाक्यले तत्कालै मेरो ओठमा कुनै प्रतिक्रिया नजन्माए पनि, ऊसँग छुट्टिएपछि रात अबेरसम्म मेरो मथिङ्गल हल्लाइरह्यो। म एकाग्र भएर उनको त्यो लजालुपन, त्यो मदहोस मुस्कान र ‘के फरक पर्छ र?’ भन्ने वाक्यको भित्री अर्थ खोज्न थालेँ। ऊसँग अर्को भेट नहुन्जेलसम्म मेरो मनमस्तिष्कमा त्यही दृश्यले निरन्तर फन्को मारिरह्यो। मध्यराततिर मनको उद्वेलन थाम्न नसकेर मैले मेसेन्जरमा एउटा सन्देश छाडिदिएँ— ‘केही फरक पर्ला जस्तो भयो...।’ उताबाट 'हाहा' को इमोजीसहित तत्कालै जवाफ आयो— ‘धेरै नसोच्नुस् हजुर, पछि गाह्रो पर्ला!’
अतीतको त्यही च्याट सम्झिँदै म एक्लै मुस्कुराइरहेको रहेछु। क्याफेकी परिचारिकाले अचानक— ‘के भयो सर, मःम सेलाउन लाग्यो त!’ भनेपछि मात्र म पुनः वर्तमानको टेबलमा झसङ्ग भएँ।
मेरो स्मृति पुनः पाँच वर्षअघिको त्यही भोलिपल्टको भेटतिर दौडियो। काम अझै केही बाँकी रहेको हुनाले हामी भेट्नै पर्ने अवस्था पनि थियो। त्यस दिनको भेटमा मलाई अलि बढी नै लज्जाबोध भइरहेको थियो। सबै कुराहरू पहिला जस्तै थिए, तर फरक थियो त केवल हामी दुई बिचको मौन आत्मीयता। मनमा एउटा अज्ञात डर थियो— कुराकानीको सुरुवात कसरी गर्ने? तर उनले नै वातावरणलाई हलुका बनाइदिँदै सोधिन्— ‘आरामै हुनुहुन्छ? आँखा त राता-राता छन् नि, हिजो रातभरि निद्रा लागेन कि क्या हो?’
यी दुई वटा प्रश्नको उत्तर मैले एकैपटक दिनुपर्ने भयो— ‘ठिक छु हजुर। सुत्न त सुतेकै हो, तर अलि अबेर भयो।’ त्यो दिन खासै औपचारिक गफगाफबाहेक अरू केही हुन सकेन। मलाई भने उनले अलि बढी नै कुरा गरोस् भन्ने लागिरहेको थियो, तर परिस्थिति र समयले साथ दिएन सायद।
त्यसको भोलिपल्ट शनिबार थियो, त्यसैले भेट हुने कुरै भएन। तैपनि मनको न्यास्रोपन मेटाउन निकै अप्ठ्यारो मान्दै मैले एउटा सन्देश पठाएँ। तर अबेरसम्म पनि उनको कुनै प्रत्युत्तर आएन। मन चिसो भयो र एक किसिमको निराशा छायो। रातको समयमा म निदाउनै लागेको थिएँ, अचानक मोबाइलको घण्टी बज्यो। अलमलिँदै मोबाइल उठाएर हेरेँ— सन्देश उनकै थियो। त्यो नाम देख्नासाथ मुटुको धड्कन एक्कासि तीव्र भयो। आत्तिँदै सन्देश खोलेँ, त्यहाँ लेखिएको थियो— 'आई मिस यु'।
त्यो तीन शब्दको वाक्य देख्दा मन एक्कासि आत्तियो, हातगोडा लगलग काँप्न थाले र आँखाको निद्रा कता हरायो कता! म धेरै बेरसम्म स्क्रिनमै टोलाइरहेँ। जवाफ के लेखौँ, कसो लेखौँ भयो। अन्ततः धेरै सोचिसकेपछि छोटकरीमा लेखिदिएँ— 'सेम हियर टु'।
हामी दुईबिच एउटा अनौठो र साझा विशेषता थियो— दूध चिया! मेरो नजरमा पनि चिया भनेकै दूध चिया मात्र हो। कालो चिया पनि के चिया हुनु र? त्यसमाथि चिनी नहालेको फिक्का चिया— छ्या! चियाकै बहानामा हाम्रो भेट्ने सल्लाह भयो— साँझ ५ बजेपछि रानीपौवाको एउटा शान्त क्याफेमा। चिया त केवल एउटा बहाना मात्र थियो, वास्तवमा त्यो हाम्रो जीवनको पहिलो यस्तो भेट थियो, जहाँ हामी दुवैले एकअर्कासँग खुलेर मनका कुराहरू साटासाट गर्यौँ।
‘मैले हिजो दिनभरि तपाईंलाई कस्तो मिस गरेँ नि!’ उनले भनिन्।
‘ल, मिस गरेको भए मेरो दिउँसोको मेसेजको रिप्लाई किन त्यति ढिलो त?’ मैले पनि ठाउँ पाउने बित्तिकै सोध्न कसर छाडिनँ!
उनले मुस्कुराउँदै जवाफ फर्काइन्— ‘केही पलहरू प्रतीक्षामै मिठा हुन्छन् नि, थाहा छैन र बुद्धु? ट्युबलाइट माइन्ड...।’ म उनको त्यो एकोहोरो र मिठो बोली सुनिरहेँ। हो त, म कस्तो बुद्धु! मेरो दिमागको बत्ती बल्न पनि कति समय लाग्ने!
बिस्तारै हाम्रा पाइलाहरू एकअर्काको निकै नजिक पुगे। मनहरू जोडिए, मिठा गफगाफ हुन थाले। हामी ठाउँ–ठाउँ घुम्न थाल्यौँ, सुख–दुःख साटिन थाले र पारिवारिक कुराकानीसम्म हुन थाल्यो। हामी यसरी नजिकियौँ कि एकअर्कामा अगाध विश्वास र समर्पण जाग्यो। एकअर्कालाई महसुस नगरी हाम्रो दिनै काटिँदैनथ्यो। प्रेमको यो स्वर्णिम र सुमधुर सिलसिला झन्डै बाइस महिनासम्म अविरल चलिरह्यो।
तर समय सधैँ एकैनास कहाँ रहँदो रहेछ र! पछि अचानक हाम्रा भेटहरू बिना कुनै स्पष्ट कारण पातलिँदै गए। भनिन्छ, हरेक असरको पछाडि कुनै न कुनै कारण पक्कै लुकेको हुन्छ। कारण जे सुकै भए पनि, हाम्रा गफहरू बिस्तारै औपचारिकतामा मात्र सीमित हुन थाले। फोन र मेसेजहरू आउने क्रम पनि पातलियो। सन्देशहरू आइहाले पनि निकै ढिलो आउँथे। बिस्तारै त्यो कम हुने क्रम केही समयपछि पूर्णतः बन्द नै भयो। उनको फोन उठ्न छाड्यो, मेसेजको रिप्लाई आउन बन्द भयो। सायद सामाजिक सञ्जालमा मैले उनको गतिविधि नियालिरहेको कुरा उनलाई मन परेन कि, उनले मलाई हरेक डिजिटल प्लेटफर्मबाट ब्लक गरिन्।
कस्तो विडम्बना! भौतिक रूपमा एउटै सहरको सानो चौघेरा भित्र रहेका हामीहरू, भावनात्मक रूपमा भने यसरी टाढियौँ कि विगत दुई वर्षदेखि हाम्रो कतै भेटसमेत भएको थिएन।
अकस्मात् एक दिन उनको कार्यकक्षमा हाम्रो भेट भयो। मलाई त उनी अझै त्यहीँ छिन् भन्ने पत्तोसमेत थिएन, सरुवा भएर अन्तै कतै गइन् होला भन्ने ठानेको थिएँ। हामीबिच केवल देखादेख मात्र भयो, कुनै कुराकानी हुन सकेन। साँझतिर कोठामा मोबाइल खेलाउँदै गर्दा फेसबुकको स्क्रिनमा अचानक उनको तस्बिर झुल्कियो। लामो समयदेखि ब्लक गरेका कारण मैले उनलाई डिजिटल संसारमा देख्न पाएको थिइनँ। बल्ल थाहा पाएँ— त्यही दिन उनले मलाई अनब्लक गरेकी रहिछन्।
मैले मेसेन्जरको सर्च बक्समा उनको नाम खोजेँ र धेरै वर्षपछि 'हाई!' भनेर एउटा सन्देश पठाएँ।
उताबाट तत्कालै प्रत्युत्तर आयो— ‘हाई!’
मैले सोधेँ— ‘कस्तो छौ आजकल? आज तिम्रो कार्यकक्षमा तिमीलाई अचानक देख्दा म त स्तब्ध (सक्ड) भएँ।’
उनको जवाफ आयो— ‘म पनि स्तब्ध भएँ। के बोलूँ, के बोलूँ भयो, शब्दहरू नै फुत्किएनन्।’
मैले पुनः सोधेँ— ‘एक्कासि माया मार्यौ त! मेरो याद कहिल्यै आएन?’
यसपालि भने उनले धेरै समय लगाएर एउटा लामो र मर्मस्पर्शी सन्देश लेखिन्—
‘म बाँचेर ठुलो गल्ती भयो, वास्तवमा म त मर्नुपर्ने मान्छे! सबैलाई दुःख दिन मात्र बाँचिरहेकी छु। पिर नगर्नुस्, अब मसँग सायद केही समय मात्र बाँकी छ...। अब मलाई कुनै दुःखका कुरा नसुनाउनुस्, म सुन्न सक्दिनँ र आफ्नो दुःख सुनाउन पनि चाहन्नँ। अब कहिल्यै भेट भयो भने हाँसेर बोल्नुहोला, मलाई अरू केही चाहिँदैन।’
उनले अगाडि लेखेकी थिइन्— ‘वास्तविकता (रियालिटी) थाहा पाउनुभयो भने हजुरलाई असाध्यै दुःख लाग्नेछ। म कसैलाई आफ्नो पीडा सेयर गर्दिनँ। आखिर म यो संसारमा केही क्षणको मात्र पाहुना बनिसकेकी छु। जति दिन सकुँला, रमाउँछु, हाँस्छु र बोल्छु। अब म अतीत (पास्ट) मा कहिल्यै फर्कने छैन। सरी फर एभ्रिथिङ, आई एम सो सरी... प्लिज, अब विगतको जीवनका बारेमा कुनै कुरा नगरौँ।’
उनको त्यो कारुणिक सन्देश पढेर मेरो छाती भारी भयो।
टेबलमा आएको दश पिस मःममध्ये जम्मा पाँच पिस मात्र निल्न सकेँ, बाँकी पाँच पिस उनकै सम्झनामा प्लेटमै छाडिदिएँ। टिस्यु पेपरले आँखाका कुनामा जम्मा भएका आँसु पुछ्दै मैले क्याफेको झ्यालबाट तल चिप्लेढुङ्गाको चोकतिर पुलुक्क हेरेँ।
सडकमा बाइक र स्कुटरको त्यो विवाद मिलिसकेको थियो। दुवै आ–आफ्नो बाटो लागिसकेका थिए। चोक पहिले जस्तै सामान्य तर उत्तिकै कोलाहलपूर्ण भइसकेको थियो। तर मेरो मनको शून्यता र उनको याद भने अझ गहिरिएर, अझ सघन भएर मुटुमा गढिसकेको थियो।