व्यस्त सहर, हतारिँदै हिँडिरहेका मानिसहरू र गाडीको कोलाहलको बिचमा एउटा सानो झोला बोकेर उभिएको थियो समीर। आत्मविश्वासले भरिपूर्ण समीरको अनुहारमा छुट्टै चमक देखिन्थ्यो।
कक्षा १२ पास गरेर ऊ सरकारी जागिर खाने सपना बोकी काठमाडौँ आएको थियो। सानो उमेरमै बिहे भइसकेको भएर उसलाई घरको जिम्मेवारीको पनि बोध थियो। घरमा आमा हुनुहुन्थ्यो, श्रीमती थिइन् र सबैको आशा उसैसँग जोडिएको थियो। तर समीरलाई लाग्थ्यो, यी सबै समस्याको एउटै समाधान थियो, सरकारी जागिर।
उसले गाउँबाट निस्कँदा आमालाई भनेको थियो, ‘आमा, अब म काठमाडौँमा सरकारी जागिर नखाई फर्किन्नँ।’
आमाले केहीबेर उसलाई हेरिरहेर सोधेकी थिइन्, ‘यति सजिलो छ र सरकारी जागिर?’
‘सजिलो त छैन। तर म मेहनत गर्छु।’
‘कति समय लाग्छ?’
‘दुई–तीन वर्ष।’
आमाले हल्का मुस्कुराउँदै भनिन्, ‘दुई–तीन वर्षपछि फर्किन्छस् त, अनि हामीलाई बिर्सिन्नस् नि?’
समीर हाँस्यो, ‘तपाईँहरूलाई बिर्सेर म कहाँ जान्छु र?’
काठमाडौँमा उसले एउटा साँघुरो भाडाको कोठा लियो। एउटा खाट, सानो टेबल, ग्यास चुलो र दुई–चार जोर कपडा। कोठा ठूलो थिएन, उसले भित्तामा नेपालको नक्सा टाँस्यो र टेबलमाथि लोक सेवाका किताबहरू राख्यो।
पहिलो रात किताब खोल्दै उसले आफैँसँग भन्यो, ‘अब सुरु भयो।’
काठमाडौँमा बस्नको लागि उसलाई पैसाको पनि आवश्यकता पर्ने भएर उसले बिहान एउटा कन्सल्टेन्सीमा सानो जागिर पनि गर्न थाल्यो। दिनभरि अफिस। बेलुका कोठा। खाना खाएपछि फेरि किताब। यो समीरको दैनिकी थियो।
कहिलेकाहीँ साथीहरूले उसलाई जिस्क्याउँथे, ‘समीर, दिनभरि काम अनि रातभरि पढाइ? कहिले सुत्छस्?’
‘सरकारी जागिर लागेपछि,’ समीरको जवाफ हुन्थ्यो।
यति हुँदै साथीहरू मुस्स हाँस्थे र भन्ने गर्थे, ‘हामीलाई नबिर्से है।’
तीन वर्ष कसरी बिते, समीरलाई आफैँ थाहा भएन। बिहान अफिस, बेलुका पढाइ, बीचमा भ्याकेन्सी, फर्म, परीक्षा र नतिजा। एउटामा असफल भयो भने अर्को तयारी। एउटा परीक्षा बिग्रियो भने अर्को आशा। उसको जीवनमा ‘अर्कोचोटि’ भन्ने शब्दले स्थायी ठाउँ बनाइसकेको थियो।
समय फेरि बित्दै गयो।
उसका केही साथी लोक सेवामा पास भएर सरकारी कार्यालय पुगे। कोही असफलताबाट थाकेर विदेश गए। कोही व्यापार वा अरू काममा लागे। कोही बिहे गरेर बच्चा हुर्काउन थाले। तर समीरको जीवन भने त्यो एउटै विन्दुमा अड्किएजस्तो भइरहेको थियो।
एक रात श्रीमतीले फोन गरिन्- ‘कहिले घर आउने?’
‘अब चाँडै परीक्षा आउँदैछ।’
‘हरेकपटक परीक्षा चाँडै हुन्छ।’
केहीबेर दुवै चुप रहे।
श्रीमतीले बिस्तारै भनिन्, ‘तिमीलाई घर आउन मन लाग्दैन हो?’
‘जागिर नपाई गाउँ फर्किने मन छैन।’
‘किन?’
‘खाली हात फर्किन मन छैन। यति सपना बोकेर आएको मान्छे फेरि त्यत्तिकै फर्किएँ भने के अर्थ भयो र?’
श्रीमती केहीबेर चुप लागिन्।
‘मलाई चाहिँ काठमाडौँ आउन मन लाग्यो भने?’
समीरले हाँस्दै भन्यो, ‘आउन मन छ भने आऊ न एक हप्ताका लागि।’
त्यसको केही दिनपछि श्रीमती काठमाडौँ आइन्। समीरले उनलाई त्यही साँघुरो भाडाको कोठामा ल्यायो। एउटा खाट। सानो टेबल। किताबका थुप्रो। कुनै दिन राम्रोसँग खाना पाकेको हुन्थ्यो, कुनै दिन बाहिरको सस्तो खाना। कोठाको कुनामा अस्तव्यस्त कपडा थिए।
श्रीमतीले कोठाभरि हेरिन्। केही भनिनन्। तर उनको आँखामा चिन्ता स्पष्ट देखिन्थ्यो। उनले समीरलाई नजिकबाट हेरिन्, पहिलेभन्दा धेरै दुब्लाएको थियो। अनुहारमा थकान थियो।
‘तिमी यति दुब्लाएछौ,’ उनले बिस्तारै भनिन्।
समीर मुस्कुरायो। ‘केही भएको छैन।’
‘खाना खान्छौ कि खाँदैनौ?’
‘खान्छु।’
‘कहिले?’
‘परीक्षा नजिक छ,’ त्यही भएर हो।
‘परीक्षा सधैँ नजिकै हुन्छ र?’
समीरले कुनै उत्तर दिएन।
‘आमाको हालखबर कस्तो छ? मलाई सोध्नुहुन्छ कि हुँदैन?’ समीरले केहीबेर रोकिएर सोध्यो।
‘सोध्नुहुन्छ। छोरोले हामीलाई बिर्सिएजस्तो छ भन्नुहुन्छ बेलाबेला,’ श्रीमतीले मसिनो स्वरमा भनिन्।
समीरले नजर झुकायो।
‘हेर्नु, जिन्दगी यसरी चल्दैन। जागिर पाएपछि मात्रै सबै ठीक हुन्छ भनेर कति वर्ष कुर्ने?’
समीरले उनलाई हेर्यो।
‘एकपटक जागिर त लाग्न देऊ।’
‘जागिर पाउनु मात्रै जिन्दगी होइन।’
‘अरू पनि धेरै कुरा गर्न सकिन्छ। काम गर्न सकिन्छ, केही सिक्न सकिन्छ, तर समयमै विचार गर्नुपर्छ।’
समीरले केही बोल्न खोज्यो।
‘म यति वर्षदेखि प्रयास गरिरहेको त छु।’
‘त्यही भएर भनिरहेकी छु। यति वर्ष दिइसक्यौ। अब आफ्नो जिन्दगीलाई पनि एकपटक हेर्नुपर्छ।’
कोठामा केहीबेर मौनता छायो।
उनले केवल समीरतिर हेरिन्। उनको आँखामा विश्वासभन्दा बढी चिन्ता थियो। एक हप्ता बित्यो। समीरको परीक्षा नजिकिँदै थियो। श्रीमतीले गाउँ फर्किने तयारी गरिन्। बसपार्कसम्म छोड्न आएको समीरलाई उनले अन्तिमपटक भनिन्– ‘आफ्नो ख्याल राख्नू।’
उनी केहीबेर रोकिइन्, ‘यसपालि पनि भएन भने?’
समीरले उनको कुरा पूरा हुन नदिई हल्का मुस्कुरायो- ‘त्यसपछि सोचौँला।’
आँखाभरि आँसु लिएर उनले थप केही बोल्न सकिनन्, अनि चुपचाप फर्किइन्।
समीरले घर फर्किनासाथ फेरि किताब खोल्यो – ‘अझै एउटा प्रयास।’
यस्तैगरी समीरका वर्षहरू बित्दै गए। न त सरकारी जागिर पाउन सकेको थियो, न त घर जान।
अब समीर चौँतीस वर्षको भइसकेको थियो, सायदै सरकारी जागिर खाने उसको अन्तिम वर्ष। उसमा हतास थियो। डर थियो। टेबलमा फेरि लोक सेवाको किताब खुला थिए। सामुन्ने परीक्षा फारम थियो।
उसको मुखबाट फेरि त्यही शब्द निस्कियो, ‘अब’ अन्तिम प्रयास हो। तर यसपटक त्यो ‘अब’ शब्दमा आत्मविश्वास थिएन।
समीर धेरैबेर त्यहीँ बसिरह्यो।
उसले अचानक आमाको आवाज सम्झियो — ‘तिम्रो ‘अब’ त धेरै लामो भयो नि बाबु।’
उसले सरकारी जागिर पाउन नसकेको एउटा पीडा त छँदै थियो, त्यसैमाथि सरकारी जागिरको प्रतीक्षामा उसले खर्चिएको १०–१२ वर्ष झन् ठूलो पीडा हुन थाल्यो।
उसले दराज खोल्यो। पुरानो फोटो निकाल्यो।
बाइस वर्षको समीर। काँधमा झोला। आँखामा जोश। छेउमा आमा।
फोटोको पछाडि आमाले लेखेकी थिइन्, ‘छोरा, ठूलो मान्छे बन्नू। तर आफूलाई नबिर्सनू।’ समीरले त्यो वाक्य पढिरह्यो।
उसको आँखाबाट आँसु झर्यो।
‘आमा!’ उसको आवाज काँपिरहेको थियो।
‘म ठूलो बन्न खोज्दा आफूलाई नै बिर्सिएछु।’
त्यो रात उसले तर एउटा कुरा स्वीकार गर्यो, ‘सरकारी जागिर लागेपछि मात्र जिन्दगी सुरु हुन्छ भन्ने उसको सोच गलत रहेछ।’ घर फर्किनु भनेको गाउँ फर्किनु मात्र नभई वर्षौँदेखि आफूभित्रै हराएको मान्छेलाई फेरि भेट्नु रहेछ।
काठमाडौँ आउने बेला आत्मविश्वासले भरिएको समीरको चम्किलो अनुहार अब थकित र जिन्दगी नै हारेजस्तो देखिन्थ्यो। एउटा सपना देखेर भविष्य बनाउन आएको ऊ पीडादायी वर्तमान तथा अनिश्चित भविष्य बोकी अन्ततः गाउँ जान बाध्य हुन्छ।