जीवनलाई थाक्न नदिई
ऊर्जावान् र गतिशील समयलाई पछ्याउँदै
कलम चलायौ
हतियार चलायौ
औजार चलायौ
अन्याय विरुद्ध चलायौ बहस पैरवी
तिम्रो रगत बगिरह्यो
देशको सीमारेखा कोर्दै
आफ्ना सपना थाँती राखेर
पूरा गर्यौ देशको सपना।
रोएर हाँस्यौ
हाँसेर रोयौ
जीवनका अनेकन् अभिलाषाहरू
खातै खात थुप्रिए पनि
स्वार्थले बलेनौ तिमी
कर्तव्यको मूलबाटो नछोडी
गन्तव्यमा लम्की रहेको यात्री जस्तो
अथकित योद्धा बन्यौ तिमी।
लेखिएलान् या नलेखिएलान्
तिम्रा साहसका कथाहरू
गाइएलान् या नगाइएलान्
तिम्रा मनका गीतहरू
मुस्कुराउलान् या नमुस्कुराउलान्
तिमी सँगसँगै फुलेका फूलहरू
दुःखका थिए होलान् गीत
कहिल्यै गाएनौ दुःखका गीतहरू।
संवेदना तिम्रो पनि हुन्थ्यो होला
जहान परिवार सम्झेर
चिरिन्थ्यो होला छाती
दौँतरी सँगको उठबसले सताउँदा
भाव विह्वल बन्थ्यौ तिमी
पाठशाला जाँदाको अविस्मरणीय क्षणहरू
स्मृतिमा सजाएर
अबोध आँखाका नानीहरूको सपना सम्झन्थ्यौ तिमी।
तिमीले मृत्यु भुल्यौ
भुलेनौ देशभक्ति
बेचेनौ नैतिकता
गुमाएनौ आत्मस्वाभिमान
यात्रामा ठेस लाग्दा पनि
किञ्चित विचलित भएन तिम्रो आस्था
आमाका टुक्रिएका सपना जोड्नलाई
गुमायौ तिम्रा आफ्नै सपना।
जिन्दगीका असन्तुष्टि
पैतालाले दबाएर
रहरका बिस्कुनहरू उठाउन नपाउँदा नपाउँदै पनि
इमानका दाम्लाहरू बाटी बस्यौ
उक्लिँदै सफलताका सिँढीहरू
तर्यौ नदीका भङ्गलालहरू
व्यतीत भए ऊर्जाशील उमेर
राष्ट्रको नाममा जीवन उत्सर्गीत गरेर।