सहरले उसलाई थकाइसकेको थियो। उसको शरीर थाकेको थिएन। मन थाकेको थियो।
हरेक बिहान आँखा खोल्नेबित्तिकै ऊ एउटा अदृश्य दौडमा हुन्थ्यो। अरूहरू कहाँ पुगे, ऊ कहाँ छ, अब कहाँ पुग्नुपर्ने हो, अझ कति कमाउनुपर्ने हो, घरलाई के दिनुपर्ने हो, आफूलाई के प्रमाणित गर्नुपर्ने हो।
ऊ माथि जान चाहन्थ्यो। अझ माथि। तर जति पौडिन्थ्यो, उति नै गहिरो भुमरीले उसलाई तल तानिरहेको महसुस हुन्थ्यो। जति संघर्ष गर्थ्यो, उति नै आफूबाट टाढिँदै जान्थ्यो।
काँधमा जिम्मेवारीहरू थिए। घरका अपेक्षाहरू थिए। समाजका आँखाहरू थिए। सफल हुनुपर्ने दबाब थियो र असफल भयो भने सुनिने हाँसो। कहिलेकाहीँ उसलाई लाग्थ्यो, मानिसहरू उसको सफलताको होइन, असफलताको प्रतीक्षा गरिरहेका छन्।
ऊ आफैँसँग सोध्थ्यो— जीवन आखिर के हो?
किन कसैको जन्म नै संघर्षको अर्को नाम हुन्छ?
किन गरिब झन् गरिब हुँदै जान्छ?
किन केही मानिसहरू अरूको भोकमाथि आफ्ना महलहरू बनाउँछन्?
किन एउटी स्त्रीलाई मानिसभन्दा पहिले शरीरका रूपमा हेरिन्छ?
किन गलत गर्नेहरूलाई नियमले बचाउँछ, तर कमजोरलाई नियमले नै थिच्छ?
प्रश्नहरू थपिँदै गए।
एउटा। त्यसपछि अर्को। फेरि अर्को।
हरेक प्रश्नले उसको छातीभित्र एउटा सानो घाउ बनाउँदै गयो। ऊ कराउन चाहन्थ्यो। तर सहर यति व्यस्त थियो कि उसको चिच्याहट सुन्ने समय कसैसँग थिएन। त्यसैले ऊ चुप लाग्यो।
पहिले मानिसहरूका अगाडि। पछि आफ्नै अगाडि।
उसले आफ्ना रिसहरू थन्क्यायो। आफ्ना डरहरू लुकायो। आफ्ना अपमानहरू बिर्सने प्रयास गर्यो। तर केही कुरा बिर्सिँदैन रहेछन्। तिनीहरू शरीरभित्र बस्दा रहेछन्। रातको कुनै सुनसान क्षणमा अचानक उठेर घाँटी थिच्दा रहेछन्।
त्यसपछि—एक रात उसको हात काँप्यो। सुरुमा हल्का, त्यसपछि अझ तीव्र। उसले हात रोक्न खोज्यो, रोकिएन। सास भारी भयो। आँखा एकै ठाउँमा अडिए। कोठाको भित्ताहरू बिस्तारै टाढिँदै गएजस्तो लाग्यो। वरिपरिका आवाजहरू एकपछि अर्को गर्दै हराउँदै गए।
सहर हरायो। मानिसहरू हराए, उसका प्रश्नहरू पनि हराए। बाँकी रह्यो—अन्धकार। तर त्यो अन्धकार बाहिर थिएन। त्यो त उसको आफ्नै शरीरभित्र थियो। उसले पहिलोपटक आफूभित्र हेर्यो र त्यहाँ उसले आफूलाई देखेन।
उसले देख्यो— अपमान।
भोक।
डर।
क्रोध।
एक्लोपन।
असमानता।
र ती सबैको बीचमा—असंख्य अनुहारहरू। वर्षौँदेखि बिर्सन खोजेका अनुहारहरू। आफूलाई कमजोर बनाएका मानिसहरू। आफ्नो पीडा देखेर पनि हाँसेका मानिसहरू र सबैभन्दा अन्त्यमा—उसकै आफ्नै अनुहार।
तर त्यो अनुहार उसको जस्तो थिएन।
त्यो थाकेको थिएन। त्यो डराएको थिएन। त्यो रोएको थिएन। त्यो केवल हेरिरहेको थियो। उसलाई।
त्यो क्षण उसको शरीरभित्र केही च्यातियो। जस्तो कुनै पुरानो बाँध फुटेको होस्। उसको मुखबाट एउटा आवाज निस्कियो। त्यो मानिसको जस्तो थिएन।
उसले आफ्नै छातीमा हात राख्यो। हात अझै काँपिरहेको थियो। तर अब त्यो काँपाइ डरको थिएन। त्यो त्यस्तो शक्तिको थियो, जसलाई उसले वर्षौँदेखि आफ्नै भित्र थुनेर राखेको थियो।
उसले आँखा बन्द गर्यो। र जब फेरि खोल्यो—उसको अगाडि संसार बदलिएको थियो। ऊ उभिएको ठाउँ कुनै कोठा थिएन। न सहर। न सडक। न आकाश।
चारैतिर कालो खालीपन थियो। त्यो खालीपनको बीचमा ऊ एक्लै उभिएको थियो। उसको अगाडि एउटा आकृति थियो। पहिले छायाजस्तो। पछि मान्छेजस्तो। पछि उही ऊ आफैँ। तर उसले आफूलाई कहिल्यै नदेखेको रूपमा।
खुला कपाल काँध र ढाडभरि छरिएको थियो। आँखाहरू अस्वाभाविक रूपमा स्थिर थिए र तिनको गहिराइमा आगो बलिरहेको थियो। अनुहारमा क्रोध थिएन। क्रोधभन्दा परको एउटा निस्पृहता थियो।
ओठबाट जिब्रो बाहिर निस्किएको थियो, घाँटीवरिपरि छायाजस्ता आकृतिहरू झुन्डिएका थिए। हातहरू खाली थिएनन्। तर ती हातमा उठेको हतियारभन्दा ठूलो कुरा थियो—वर्षौँदेखि थुनिएको प्रतिरोध।
ऊ केही क्षण त्यो आकृतिलाई हेरिरह्यो। त्यसपछि बिस्तारै बुझ्यो। त्यो कुनै देवी बाहिरबाट आएकी थिइनन्। त्यो त ऊ आफैँ थियो। उसले वर्षौँदेखि लुकाएको ऊ। वर्षौँदेखि दबाएको ऊ। वर्षौँदेखि सभ्य बन्ने नाममा मार्दै आएको ऊ।
त्यो उसको अँध्यारो थियो। उसको क्रोध थियो। उसको मौन विद्रोह थियो। उसको काली।
उसले आफ्नो अगाडिको आकृतिलाई हेर्यो। आकृतिले पनि उसलाई हेरिरही। दुवैबीच कुनै शब्द भएन। तर उसले पहिलोपटक आफ्नो मनभित्र एउटा आवाज सुन्यो— ‘तँ किन डराइरहेको छस्?’
उसले उत्तर दिएन।
‘जसले तँलाई वर्षौँसम्म डराए, आज तिनीहरू कहाँ छन्?’
उसले वरिपरि हेर्यो।
अँध्यारोभित्र असंख्य आकृतिहरू देखिन थाले।
पहिले साना। पछि ठूला।
कसैको हातमा नियम थियो। कसैको हातमा पैसा। कसैको हातमा धर्मको नाम। कसैको हातमा समाजको प्रतिष्ठा। कसैको हातमा मौनता। र ती सबैको पछाडि—अनगिन्ती पीडाहरू।
ऊ एक कदम अगाडि बढ्यो। अचानक उसको अगाडिको अँध्यारो चिरियो। एउटा आकृति उसको अगाडि उभियो। उसले त्यसलाई समात्यो। एकै झट्कामा च्यात्यो।
रगतको एउटा थोपा भुइँतिर झर्यो। तर जमिन छुनुअघि नै— अर्को आकृति जन्मियो। उसले त्यसलाई पनि च्यात्यो। फेरि रगत।
फेरि अर्को।
फेरि अर्को।
उसको हात तीव्र हुँदै गयो। एक, दुई, दस र सय। तर जति च्यात्यो— उति नै बढ्दै गए।
उसको अगाडि अनुहारहरूको समुद्र उभियो।
त्यतिबेला उसले बुझ्यो। यो साधारण शत्रु थिएन। यो त्यो पुरानो कथाको राक्षसजस्तै थियो, जसको शरीरबाट झरेको हरेक थोपा रगतले उसकै अर्को रूप जन्माउँथ्यो। रक्तबीज।
एउटा समस्या मेटाउँदा अर्को जन्मिने। एउटा अन्याय रोक्दा अर्को ठाउँमा अर्को अन्याय उम्रिने। एउटा पीडा दबाउँदा अर्को पीडा जन्मिने। एउटा घाउ निको पार्दा अर्को घाउ खुल्ने।
उसले वरिपरि हेर्यो। उसको अगाडि संसारका सबै समस्या उभिएका थिए। उसले एउटा च्यात्यो, दुई जन्मिए। दुई च्यात्यो, चार जन्मिए।
उसको सास तीव्र भयो। उसको आँखामा आगो बल्यो। उसले हाँस्यो, पहिलोपटक, तर त्यो हाँसो खुसीको थिएन। त्यो हाँसो एउटा यस्तो मानिसको थियो, जसले अन्ततः आफूले हार्न नसक्ने युद्ध भेटेको थियो।
ऊ अब मानिसजस्तो उभिएको थिएन। ऊ ठूलो हुँदै गएको थियो। उसको अगाडि संसार सानो हुँदै गयो। मानिसहरू साना। सहर सानो। उसका दुःखहरू साना। उसका डरहरू साना।
केही क्षणका लागि उसलाई लाग्यो, सायद यही शक्ति उसले सधैँ खोजिरहेको थियो। सायद मानिस भएर उसलाई कसैले सुनेन। सायद अब मानिस भएर बसिरहनुको अर्थ छैन।
उसले आकाशतिर हेर्यो। र उसको मनभित्र एउटा प्रश्न उठ्यो— ‘यदि संसारले मलाई मानिस भएर सुनेन भने, म मानिस भएर किन बसूँ?’
उसले हात उठायो र विनाश सुरु भयो। उसले अपमान च्यात्यो। डर च्यात्यो। भोक च्यात्यो। घृणा च्यात्यो। त्यो सोच च्यात्यो, जसले स्त्रीलाई मानिस होइन, वस्तु बनाउँथ्यो। त्यो मौनता च्यात्यो, जसले सडकमा मरेको मानिसको मृत्यु देखेर पनि आँखा बन्द गर्न सिकाएको थियो। उसले त्यो समाज च्यात्यो, जसले कमजोरलाई अझ कमजोर बनाउँथ्यो।
उसले आफूलाई रोक्ने हरेक कुरा च्यात्यो। तर रक्तबीज फेरि जन्मिरह्यो। एकपछि अर्को। अन्ततः उसले सबैभन्दा अगाडिको आकृतिलाई समात्यो।
त्यो आकृतिको अनुहार—उसकै थियो। उसले केही क्षण त्यसलाई हेरिरह्यो। त्यसपछि चिच्यायो र त्यसलाई पनि च्यातिदियो। अचानक सबै शान्त भयो। न अनुहार। न रक्तबीज। न युद्ध। न आवाज। केवल अन्धकार।
उसको शरीर थरथर काँपिरहेको थियो। सास टुक्राटुक्रा भएर आइरहेको थियो। हातहरू अझै काँपिरहेका थिए। ऊ बिस्तारै घुँडा टेकेर बस्यो र आफ्नै हात हेर्यो। त्यहाँ केही थिएन। न रगत। न टाउका। न हतियार। केवल—उसका काँपिरहेका औँलाहरू।
उसले बिस्तारै आफ्नो अनुहार छोयो। अचानक उसलाई डर लाग्यो। उसले वरिपरि हेर्यो। त्यो विशाल अँध्यारो फेरि सानो हुँदै गयो। कालीको आकृति हराउँदै गयो। उसको शरीर फेरि आफ्नै शरीरजस्तो हुन थाल्यो।
तर त्यसअघि कसैले उसको छातीमा हात राख्यो। ऊ झस्कियो। बिस्तारै निद्राबाट झस्कियो।
आमा!
उनको हात त्यही थियो। सधैँजस्तै न्यानो। सधैँजस्तै शान्त। कुनै मन्त्र थिएन। कुनै हतियार थिएन। कुनै युद्ध थिएन। केवल— आमाको हात।
उसको काँपिरहेको शरीर एकैछिनमा रोकियो। उसले आमाको हात समात्यो। त्यो हात समात्नेबित्तिकै उसको वरिपरिको अँध्यारो फुट्न थाल्यो।
काली हराइन्। रक्तबीज हरायो। उसको हातबाट शक्ति झर्यो। उसको टाउको भारी भयो। आँखा रसाए।
त्यस क्षण उसले बुझ्यो—उसले संसारसँग युद्ध गर्न खोजेको रहेनछ। ऊ त केवल आफूभित्रको पीडाबाट मुक्त हुन खोजिरहेको रहेछ। ऊ त आफूभित्रको त्यो चिच्याइरहेको हिस्सालाई कसैले एकपटक अँगालो हालिदियोस् भन्ने चाहिरहेको रहेछ।
उसको आँखाबाट एउटा आँसु खस्यो। यसपटक उसले त्यसलाई रोक्न खोजेन। आँसु भुइँमा खस्यो र कुनै रक्तबीज जन्मिएन। कुनै अर्को समस्या आएन। कुनै अर्को युद्ध सुरु भएन। केवल एउटा छोरा आफ्नी आमाको काखमा।
लाचार।
निरिह।
अस्त्रविहीन।
र आफ्नै सपनाहरूको भारले थिचिएको।
बाहिर सहर अझै उस्तै थियो। हर्न बजिरहेका थिए। मानिसहरू दौडिरहेका थिए। कसैलाई कसैको समय थिएन।
तर त्यो रात—पहिलोपटक उसको भित्रको भुमरी रोकिएको थियो। संसार बदलेर होइन। आफूभित्रको युद्ध केही क्षणका लागि शान्त भएर।
धेरै वर्षपछि—ऊ कुनै लक्ष्य थिएन। कुनै जिम्मेवारी थिएन। कुनै असफलता थिएन। कुनै सफलता थिएन। ऊ केवल—आमाको छोरा थियो।