म यात्री हुँ यात्रा गरिरहन्छु
सपनाका, रहरका सँगसँगै बाध्यताका
ननिदाउँदै देखेका, निदाए पछिका
पूरा गर्न बाँकीका, बिलाएर गएका
सँगै बाध्यताले थिचिएका सपनाहरूका
सपनाको यात्रा गर्दै गर्दा बाटोमा भेटिएका सपनाहरू
गाउँले हुँदाका सपना, सहरिया हुँदाका सपना
मायामा पर्दाका सपना, बिछोड पछिका सपना
पढ्दै गर्दाका सपना, पढिसके पछिका सपना
जन्मभूमिमै हुँदाका सपना, सात समुद्र पारिका सपना
सपनाकै कुरा गर्दा मेरो मनमा थियो
चुहिने घरको छानो फेर्न सकूँ
बिरामीले पिरोलिएका बाआमाको मुहारमा खुसी ल्याउन सकूँ
समाज, क्षेत्र र देशमै बाआमाको नाम उच्च राख्न सकूँ
डक्टर, इन्जिनियर, अफिसर, नेता, अभिनेता बन्न सकूँ
बन्न सकूँ त देशले कहिल्यै भुल्न नसक्ने मान्छे बन्न सकूँ
तर
समयले न माथिका कुनै बनायो, बनायो त केवल
भावीले लेखेको स्क्रिप्टको अभिनेता बनायो
दिउसै देखेका सपनाहरू चकनाचुर बनायो
समालेका सपनासँगै यादहरूको चाङ बनायो
सपनामै बुनिएका बाटाहरूको चौबाटा बनायो
समयले यसरी भनिदियो कि
तेरो मेहनतको फल तैँले हैन मैले तय गर्छु
तेरा रहरहरूमा कमान्डसँगै फुलस्टप मैले लगाउँछु
हो यही दिनदेखि हो मैले
बिर्सिएका सपनाका बाटाहरू
लम्काएका लामा हातहरू
रिझाएका भ्रष्ट नेताहरू
बोकिएको पासपोर्ट अनि जलाएका डिग्रीशिटहरू
छोडिएका ती प्रेमिल हातहरू
म उड्दै गर्दा छोडिदिए आँसुका ढिक्काहरू
समयले अरू के दियो भन्नु होला, थुप्रै दियो
मेहनत गरेको नदेख्ने समाजलाई,
फेल भएको मात्रै रिजल्ट देखायो
तिम्रो लागि म छु भन्नेहरूको औकात देखायो
अगाडि केही भन्न नसक्नेले
पिठ्यूँमा छुरा रोप्दै गरेको देखायो
साँचिएका सपनाले ऐनै अगाडि
गिज्याइरहेको देखायो
रातदिन नभनी पढेर ल्याएका
ती डिग्रीशिट थन्काइएको देखायो
तेरै लागि साँचिएको भनी टिआइएमा
इन्टरनेशनल फ्लाइटको टिकट देखायो
जय जननी, जय माँ, जय नेपाल।