जीवनको उत्तरार्द्धमा आएर पो
हेर्नुस् न!
उता कता-कता
जान मन लाग्ने
रुकुम टकसेराका सँगी नानहरूसँग
चुङ्ग्री बुकीमा गएर
बुकी फूल टिप्न जान मन लाग्ने
गाउँलेहरूसँग धित मरुन्जेल
भूमे नाच्न मन लाग्ने
उता फेरि पूर्वतिर
भोजपुर खोटाङको साल्पा पोखरीमा
ढोल, झ्याम्टा बजाउँदै साङछाङहरूसँग
साकेला नाच नाच्न मन लाग्ने
अलिक उता
ताप्लेजुङको सिङजेमा तालमा
लुङ्गा, तेङ्बा, तेङ्माहरूसँग पालम गाउन मन लाग्ने
जीवनको उत्तरार्द्धमा आएर हेर्नुस् न!
जनकपुर गएर संगियाहरूसँग
झिझिया नाच नाच्न मन लाग्ने
बर्दिया गएर संघरियाहरूसँग
सखिया नाच नाच्न मन लाग्ने
जीवनको उत्तरार्द्धमा आएर
बडिमलिकामा गएर
बड्डाहरूसँग फाग गाउन मन लाग्ने
बागलुङ गएर लाफाहरूसँग झाम्रे
अनि
कास्की, तनहुँ आएर
लाफा, ङोलो, ङोलोस्योहरूसँग
कौराह
खुट्टा दुखुन्जेल नाच्न मन लाग्ने
जीवनको उत्तरार्द्धमा आएर
हेर्नुस् न!
किङ्ग्सवेको एउटा क्याफेमा
डोपियो पिउँदै
मन लाग्ने कुराहरू यति मात्र
सम्झिदा सम्झिँदै
आँखाहरू अनायासै रसाउन पो पुगेछन्
थाहै नपाइ
अमिलो पो भएछ मन
झ्याल बाहिर हेरेँ
झमझम
पानी परिरहेको रहेछ
परिरहेको झरी
हेरे झैँ गरी
झ्याल बाहिर अनुहार फर्काएर
धुरुधुरु रुन पो पुगेछु
हेर्नुस् न
जीवनको उत्तरार्द्धमा आएर..! बब