आजकाल
देश हेर्ने आँखा होइन
कालो चस्मा भाइरल छ
सुनिँदै छ
कालो चस्माले मात्र
नयाँ नेपाल देखिन्छ रे।
थाहा छैन त्यो कालो चस्माले
बेरोजगार युवाको लाम
बिदेसिनेहरूको भीड
बाझो गाउँहरू
गरिबको चुल्हो बलेको नबलेको
देख्यो कि देखेन कुन्नि!
कालो रंग
दोषी होइन
दोष त
त्यो दृष्टिकोण हो
जसले
भोकलाई तथ्याङ्क बनाउँछ
गरिबीलाई भाषण बनाउँछ
र निराशालाई
निर्वाचनको घोषणापत्र।
देशभर
आकाश कालो छ
बादल कालो छ
तर
सबैभन्दा कालो
त्यो मौनता हो
जहाँ प्रश्न सोध्नेहरूको
ढोका ढोकामा त्रासको भूतहरू उभिन्छन्
र ताली बजाउनेहरू
कालो चस्माको निर्दयी साक्षी बन्छन्।
सपनाको खेती गर्नेहरू
आजकल
माटोमा होइन
मानिसको विश्वासमा हलो जोत्न थालेका छन्
बीउ– आश्वासनको
मल– प्रचारको
सिँचाइ– भ्रमको।
आँसुको आवाज
माइकसम्म पुग्दैन
किनकि
माइकमा
सत्ताको स्वर मात्र पुग्छ
सडकमा
जनताको पाइला थाकेको छ
तर
मञ्चमा
उपलब्धिका तालीहरू
अझै गुन्जिरहेका छन्।
मलाई
कालो चस्मासँग
समस्या छैन
समस्या
त्यो विवेकसँग छ
जसले
आफ्नै नागरिकलाई
पोस्टरभन्दा सानो देख्न थाल्यो।
याद राख
इतिहासले
कालो चस्माको ब्रान्ड सम्झँदैन
उसले त
त्यो दिन मात्र सम्झन्छ
जुन दिन
जनताले
आफ्नो देश आफ्नै आँखाले
हेर्न थालेको दिन।
किनकि
राष्ट्र
तस्बिरले बन्दैन
रुवाइ सुन्न सक्ने
आँखाले बन्छ
र
कालो चस्माले
आँखा छोप्न सक्छ
तर
सत्यलाई
कहिल्यै छोप्न सक्दैन।