पाखा पखेरा, मेरा लुकामारी खेल्ने ठाउँ
चिनाउन मन लाग्छ मलाई, मेरै सानो गाउँ
म निथ्रुक्क भिज्दा छाता बन्ने ओडारहरू
मैले सुसेल्दा प्रतिध्वनि हुने डाँडाहरू
तुने चपलमा च्वास्स बिझ्ने काँडाहरू।
कसले कसको गर्दैछन् भलाइ?
कहाँ छन् आज, थाहा छैन मलाई
तर बिच बगरमा पुगेको म
सोच्छु— बगरको ढुंगा जस्तै जिन्दगी।
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
सहरको भीडमा छिरेको म, भीडमै रुमलिँदै छु
न खुसी, न बेखुसी— खिस्स हाँस्न सिकाउने ओठहरू
कयौँ मनमा लागेका ठेस अनि चोटहरू
दबाउँछु भन्दै अघि बढ्न खोज्छु
नजिकै ठुलो असफलताको ठुलो बगर देख्छु
सोच्छु— बगरको ढुंगा जस्तै जिन्दगी।
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
जात, रात र साथको कहानी धेरै छन् मसँग
जातले नै रगत बगेको खत धेरै छन् मसँग
खान, नाना र छानाले थोरै सन्तुष्टि दिए पनि
जीवन जिउनकै लागि गरेका संघर्ष अनेक छन् मसँग।
पसिनाको भेलले उही बगरमा पुर्याउँछ
सोच्छु— बगरको ढुंगा जस्तै जिन्दगी
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
एउटा सानो पसिनाको पसल थापेको छु मैले
पसिना दिँदादिँदै रगत निचोर्ने भन्छन् अहिले
न ग्राहकसँग खुसी छु म, न आफ्नै जिन्दगीसँग
सोच्छु— बगरको ढुंगा जस्तै जिन्दगी।
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
हिले भीरमा टाउकासम्म जुकाले चुस्दा नझस्किने मन
आजकल बेलाबेला झस्किन्छ
के भविष्य, के वर्तमान— जहाँ पनि आफ्नैको हालीमुहाली
चसक्क मन चस्किन्छ
दलाउने, पेल्ने र पेलाउनेहरूको सहर सोच्छु,
फेरि मन झस्किन्छ।
सोच्छु — बगरको ढुंगा जस्तै जिन्दगी
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
पसिना बेच्नकै लागि कैयौँ पटक पिसिएँ म
आफ्नाहरूबाट नै पिसिएँ म
ठुला, साना सबैबाट पिसिएँ म
सयौँ पटक पसिनाको गुण बर्साए पनि
एक/दुई दिनको आरामले पिसिएँ म।
सोच्छु— ढुंगा जस्तै जिन्दगी
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।
बाँच्ने शैली फरक होला
अरूको हाँस्ने शैली फरक होला
चिताको सजावट फरक होला
ए! कतिन्जेल पेल्छौ? पेल
होला, म पेलिएको तेलले तिम्रो मालिस राम्रो।
खरानी त पक्कै एउटै हुन्छ— तिम्रो हाम्रो
सोच्छु — ढुंगा जस्तै जिन्दगी।
पीडामै पनि हाँस्ने मेरो बानी
ठक्करहरूबाट परिणत भएँ म
यहीँ त रहेछ जिन्दगी।