हिजो दस हजारले टारिने
मेरा गाउँका सिँचाइ कुलाहरू
आज करोडौँको स्रोत सुनिश्चितताले
बाँझा खेतमा हरियाली उम्राइरहेका छन्।
हिजो टाउकोमा किताबको झोला बोकी
उर्लँदो खोला तर्दै विद्यालय पुग्ने
ती ससाना बालकका पाइलाका निम्ति
आज यही प्रदेशले
पक्की मोटरेबल पुल उभ्याएको छ।
म त यही अनुभव गरेर हुर्किँदै छु
भनिदेऊ न साथी
म कसरी विरोध गरूँ सङ्घीयताको?
हिजो अनुगमन थिएन
बजेट आउँथ्यो, बजेट जान्थ्यो
कसको हातमा पुग्यो, कसरी सकियो
जनताले कहिल्यै थाहा पाउँदैनथे।
विकासको नाम धेरै सुनिन्थ्यो
तर अनुभूति कतै भेटिँदैनथ्यो।
आज न्यूनतम नै सही
आँखामा आशा त पलाएको छ
मनमा अनुभूति त जन्मिएको छ।
भनिदेऊ न प्रिय साथी
म कसरी विरोध गरूँ सङ्घीयताको?
हिजो एकाबिहानै निद नखुल्दै
गाग्रो र नाम्लो बोकी कुवातिर दगुर्ने
एक गाग्री पानीकै लागि घण्टौँ कुर्दै
पँधेरामा पालो मिचिएको रोदन सुनिन्थ्यो।
तर आज गाउँकै पाखा-पखेराबाट
हरेक आँगनमा स्वच्छ पानी झरेको छ
सङ्घीयताको यो धारोले
आमा-बहिनीको त्यो आँसु पुछेको छ।
भनिदेऊ न साथी,
म कसरी विरोध गरूँ सङ्घीयताको?
साउनको झरीमा चप्पल पड्काउँदै
हिलोका छिर्का टाउकोसम्म पुर्याउँदै
प्रकृतिको कठोर ओतभित्र सङ्घर्ष गर्दै
विद्यालय कुद्ने ती कलिला विद्यार्थी
आज टल्कने कालो जुत्ता लगाएर
ग्राभेल सडक हुँदै
मुस्कानसहित आफ्नो भविष्यतर्फ हिँड्न पाएका छन्।
म कसरी विरोध गरूँ सङ्घीयताको?
हिजो समाजको कुनामा धकेलिएका
दलित, जनजाति, महिला र
सीमान्तकृत समुदायका दबिएका आवाज
आज चट्ट सारी लर्काएर
हिजोका मुखियाकै नमस्ते खाँदै
विकासको खुला बहसमा
आफ्नै मत राख्न पुगेका छन्।
हिजो जहाँ केवल निर्णय सुनाइन्थ्यो
आज त्यहाँ निर्णयमा सहभागिता जुट्न थालेको छ।
भनिदेऊ न साथी,
म कसरी विरोध गरूँ सङ्घीयताको?
सङ्घीयता नै अन्तिम गन्तव्य हो त म भन्दिनँ
यो त अझै सुधारिँदै जाने एउटा यात्रा न हो।
मिलेर यसको स्वरूपलाई
अझ सुन्दर र सबल बनाउन सकिँदैन र?
विचार गरौँ न साथी, विमर्श गरौँ न
दोषारोपण मात्र होइन, अब समाधान खोजौँ न।
भनिदेऊ न, म कसरी विरोध गरूँ सङ्घीयताको?
सङ्घीयतालाई यसरी पनि त
मजबुत र अर्थपूर्ण बनाउन सकिन्छ
यसरी पनि त रूपान्तरणको प्रस्ताव ल्याउन सकिन्छ
यसरी पनि त समृद्धिको विमर्श गर्न सकिन्छ।
सङ्घीय सरकारले
राष्ट्रिय नीति र बलिया कानुनहरू निर्माण गरोस्
अन्तर्राष्ट्रिय कूटनीतिलाई थप मजबुत बनाओस्
अनि सिंगो राष्ट्रलाई जोड्ने गौरवका आयोजना
दूरदृष्टिका साथ दृढ भई अघि बढाओस्।
प्रदेश सरकारले
विकास, पूर्वाधार र प्रादेशिक सन्तुलन मिलाओस्
उत्पादन बढाओस्, लगानीका ढोकाहरू उघारोस्
गुणस्तरको कडा निगरानी र नियमन गरोस्
अनुगमनलाई केवल कागज र फाइलमा होइन
जनताको बदलिएको जीवनमा प्रत्यक्ष देखाओस्।
स्थानीय सरकारले
प्रत्यक्ष सेवा प्रवाहलाई नै आफ्नो मूल मन्त्र बनाओस्
जहाँ प्रत्येक नागरिक निष्पक्ष सेवा र सामीप्यतासँग जोडिएका हुन्छन्
त्यो सेवालाई अझ छरितो, पारदर्शी र जनमैत्री बनाओस्
अधिकारको प्रयोगसँगै आफ्नो उत्तरदायित्व पनि बढाओस्।
यति भएपछि भनिदेऊ त प्रिय साथी,
म कसरी विरोध गरूँ सङ्घीयताको?
व्यवस्थाले त केवल बाटो देखाउँछ
त्यो बाटोमा इमानका साथ हिँड्ने त आखिर हामी नै हौँ
कानुनले न्यायको ढोका मात्र खोल्छ
भित्र पसेर देश बदल्ने त हाम्रो नियत र इमान न हो।
गल्ती चलाउने मान्छेको हुन सक्छ
तर पात्रकै कमजोरीको नाममा
पूरै व्यवस्थालाई दोष दिएर भत्काउन खोज्नु
न त न्याय हो, न त विवेकशीलता।
भनिदेऊ त, प्रिय साथी—
यसरी बुझेपछि, यसरी सोचेपछि
म कसरी विरोध गरूँ सङ्घीयताको?